Close This

चाडपर्व मनाउन फर्किदैँ ‘परदेशी’

बिहीबार असोज २५, २०७५/ Thursday 10-11-18
Paschim Today

धनगढी, २५ असोज । रोजगारीका लागि भारत पसेका नेपालीहरु चाडपर्व मनाउनका लागि फर्किन थालेका छन् । 
    घर आँगनमा आइपुगेको महान चाड दसैं, दिपावली मनाउनका लागि नेपालीहरु स्वदेश फिर्न लागेका हुन । कैलालीसंग जोडिएको गौरीफन्टा नाकामा दिनहुँ फर्किने लाहुरेहरुको भीड हुने गरेको छ । 


    मुलुकमा रहेको बेरोजगारी समस्याका कारण अत्यधिक नेपालीहरु भारतमा गएर काम गर्ने गरेका छन् । गरिबीको चपेटामा रहेको सुदूरपश्चिम प्रदेशबाट झनै बढी नेपाली कामका लागि भारत पस्ने गरेका छन् । उनीहरु एक÷दुई महिना वा वर्षदिन काम गर्नका लागि पनि भारत जाने गरेको बताइन्छ । यसैगरी, रोपाइँ गरेर सिजन अनुसारको मजदुरीका लागि पनि काम गर्न भारत गएका नेपालीहरु यतिखेर स्वदेश फर्किरहेका छन् । 


    ‘दसैं र दिपावली मनाउनका लागि छुट्टी मिलाएर स्वदेश फर्केको छु’, यात्राको कारणले थकित देखिए पनि हँसिलो मुहार बनाउँदै अछामका मनोज साउँदले भने–‘चाडपर्वको रमाइलो गर्न वर्षदिनमा आफ्नो गाउँघर नआई मन कहाँ मान्छ र ?’ विगत १२ वर्षदेखि मुम्बईमा काम गर्दै आएका उनले चारवर्षदेखि आफ्नो श्रीमतीलाई पनि उतै लिएर काम गरिरहेको सुनाए ।  
    गौरीफन्टा नाकामा भेटिएका साउँदले भने–‘अहिले उता कमाई पनि राम्रो भएको छ ।’ मासिक भारु २१ हजार तलब पाउँदै आएका साउँदले श्रीमतीले पनि काम गर्न थालेपछि बचत भइरहेको जनाए । 


    नेपालमा सजिलै रोजगारी नपाउँदा शिक्षित, सामान्य साक्षर र निरक्षर युवा समेत कामका लागि भारत जाने यो प्रदेशको एउटा परम्परा जस्तै बनेको छ । उनीहरु भारतको विभिन्न राज्य सहित अधिकांश स्याउ टिप्नका लागि सिमला, हिमाञ्चल प्रदेश, पुने लगायतका ठाउँमा जाने गरेका छन् । उनीहरु कोही लामो समयसम्म उतै बस्ने र कोही एक÷दुई महिना पनि काम गरेर फर्किने गरेका छन् । 


    यता, काम नपाएपछि रोजगारीका लागि आफू परिवार सहित सुरतमा काम गर्दै आएको कैलालीका कालुराम विकले बताए । चाडपर्व मनाउनका लागि घर फर्किदैं गर्दा नाकामा भेटिएका उनले भने–‘श्रीमतीले कोठा भाडामा लिएर क्यान्टिन चलाउँछिन् । म प्लाष्टिक कम्पनीमा काम गर्ने गरेको छु । दुवैको कमाई मिलाएर गुजारा चलेको छ ।’
    दसैं, तिहारपछि घरमा रहेको भाइलाई समेत काम गर्नका लागि सुरतमै लैजाने सोंच बनाएको विकले सुनाए । 
    प्रदेश सरकारले युवाहरुलाई प्रदेशमै रोजगारी दिने पटक–पटक दोहो¥याउँदै आए पनि भारत जानेहरुको कमी हुनुभन्दा सङ्ख्या झनै बढ्दै गएको छ । यो प्रदेशका मुख्यमनत्री त्रिलोचन भट्ट आफैले पनि धेरै वर्षसम्म मुम्बईमा काम गरेकाले स्थानीय स्तरमै युवाहरुलाई रोजगारी दिनका लागि आफू सम्वेदनशील रहेको बताउँदै आएका छन् । 
    यो प्रदेशबाट भारतमा कामका लागि जानेहरुको तथ्याङ्क अहिलेसम्म कसैले राखेको छैन । यद्यपि, यकिन तथ्याङ्क नभए पनि २५ लाख जनसङ्ख्या रहेको यो प्रदेशबाट करिब ६ लाख व्यक्ति कामका लागि भारत गएको विभिन्न सङ्घसंस्थाले दावी गर्ने गरेका छन् । 


    यसैबीच, चाडपर्व मनाउनका लागि फर्किने नेपालीहरु सीमा क्षेत्रमा भारतीय र नेपाली सुरक्षा अधिकारीबाटै लुटिने गरेको घटना पनि पटक–पटक बाहिर आउने गरेको छ । तर, यसवर्ष गौरीफन्टा नाका र त्रिनगर भन्सारमा आउनेक्रममा सहज भएको फर्किनेहरुले सुनाएका छन् । 
    ‘काम गरेर फर्किने क्रममा यसपाली सीमा क्षेत्रमा समस्या भएन’, विकले अगाडि भने–‘अरु, बेला यता र उताका पुलिस, कष्टम अधिकारीले पनि पैसा असुल्ने गरेका थिए । यस पटक लिएनन् । सहज रुपमा आउन पाएका छौं ।’
    गुजराजको भुजबाट काम गरेर फर्किदैँ गर्दा भेटिएका चौधरीले भारतमा राम्रो कमाई हुने गरे पनि राम्रो आम्दानी र काम गरिरहेका व्यक्ति पनि नेपालीकै कारण दुःख पाउने गरेको सुनाए ।  


    ‘काम गर्न गएकाहरु पैसा चोरेर भाग्ने गरेका थुप्रै घटना छन्’, उनले भने–‘त्यस्ता घटनाले राम्ररी काम गर्दै आइरहेकाहरुलाई पनि कहिलेकाँही समस्या हुने गर्दछ ।’
कामका लागि भारत गएकाहरु फर्किने क्रममा प्रायः भारतीय कष्टम अधिकारी वा प्रहरीको दुव्र्यवहार खेप्ने गरेका छन् । यसैगरी, लुटपाट समेत हुने गरेको छ । त्यस्ता घटना हुन नदिनका लागि दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भइ सुरक्षासतर्कता अपनाउने सहमति भएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए । 
    ‘काम गरेर फर्किरहेकाहरुको सुरक्षाका लागि हामी कटिबद्ध छौं’, उनले भने–‘कसैलाई कुन समस्या भएमा समाधानका लागि सीमामै हेल्प डेस्क पनि स्थापना गरेका छौं ।’
    चाडपर्व मनाउनका लागि फर्किरहेको कोही पनि नेपालीले सीमामा दुःख पाउन नहुने उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले सुरक्षा सतर्कता बढाइएको बताए । 


    फर्किनेहरुलाई सहज होस भनेर नेपालतर्फबाट सशस्त्र प्रहरी र भारतकोतर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त ‘हेल्प डेस्क’ राखिएको छ । यसैगरी, त्रिनगर भन्सार नेपाल प्रहरीले तालिम प्राप्त कुकुर सहित चेकजाँच समेत सुरु गरेको छ ।