Close This

बसन्ता जैविक मार्गमा थारु होमस्टे

शुक्रबार असोज २६, २०७५/ Friday 10-12-18
Paschim Today

धनगढी, २६ असोज । गाउँको सिरानमा मनै लोभ्याउने सुन्दर हरियाली । अनि, मुनीतिर धानको बाला झुलिरहेको उर्बर कृषियोग्य ठूलो फाँट । नामैले पनि अन्तर्राष्ट्रिय महत्वको बसन्ता जैविक मार्गसंग सरोकार राख्ने ग्रामीण बस्ती हो, छटकपुर बसन्ता गाउँ ।     स्थानीय भाषामा ‘बड्का बनुवाँ’ भनेर चिनिने कैलालीको सबैभन्दा ठूलो वन बसन्ता गाउँकै नामबाट बसन्ता जैविकमार्ग भनेर अन्तर्राष्ट्रियस्तरसम्म चिनिएको हो । अन्तर्राष्ट्रिय महत्वको बसन्ता जैविक मार्गमा पर्ने त्यहीँ गाउँमा ‘बसन्ता कोरीडोर थारु होमस्टे’ सञ्चालनमा आएको छ । 


ग्रामीण क्षेत्रमा पर्यटन विकास र जैविक विविधताले महत्वपूर्ण बसन्ता कोरीडोरको संरक्षण गर्ने उद्देश्यले थारु होमस्टे सञ्चालनमा ल्याएको जनाइएको छ । ‘बसन्ता जैविक मार्गले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाए पनि आदिवासी जनजाती थारु समुदायको बसोबास रहेको बसन्ता गाउँ भने जहिल्यै ओझेलमा रह्यो’, गाउँका अगुवा लिखराम चौधरीले भने–‘जैविक मार्गसंगै आफ्नो गाउँ र थारु संस्कृतिलाई पनि चिनाउनका लागि होमस्टे सञ्चालनमा ल्याएका हौं ।’
कैलारी गाउँपालिका वडा नम्बर ७ मा रहेको बसन्ता कोरीडोर थारु होमस्टे गाउँ धनगढीबाट करिब ४० किलोमिटरको दूरीमा रहेको छ । झन्दै अढाई सय घरधुरी रहेको उक्त गाउँमा अहिले भने २५ घरमा ‘घरवास’ (होमस्टे) सञ्चालन भएको छ । यद्यपि, निकट भविष्यमा सबै घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्य रहेको गाउँवासीले बताएका छन् । 
विश्वमै परिचित बसन्ता जैविकमार्गको भ्रमण, अवलोकन गर्ने व्यवस्था । र, थारु समुदायको परम्परागत संस्कृति तथा खानपानलाई समिश्रण गरेर घरवासमा आउने पाहुनालाई भरपूर आनन्द दिने लक्ष्य रहेको चौधरीले सुनाए । 


‘यसका साथै, बसन्ता जैविक मार्गको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौं’, उनले अगाडि थपे–‘होमस्टेले गाउँको आर्थिक विकासमा पनि सहयोग पुग्नेछ ।’
बसन्ता कोरीडोरमा ठूलठूला सिमसार क्षेत्र रहेको छ । होमस्टे नजिक पर्ने ति प्राकृतिक ताल र त्यहाँ बसोबास गर्ने चराहरुले पर्यटकलाई आकर्षित गर्ने गाउँवासीले जनाएका छन् । यसका साथै, पाहुनाहरुलाई उनीहरुको रुचि अनुसार अन्दीको भात, ढिक्री, लोकल कुखुरा, घोङ्घी, माछा, गंगटो, मुसाको तरकारी लगायत खुवाउने व्यवस्था रहेको होमस्टे सञ्चालक समितिका जालुराम चौधरी बताउँछन् । 


बाढी विपद्का कारण धेरै पहिले दक्षिणबाट उत्तरतिर बसन्ता जैविक मार्गतिर सरेको बसन्ता गाउँको अझै पनि विकास हुन सकेको छैन । पहिले चरम गरिबी रहेको गाउँवासीको आर्थिक अवस्थामा केहि सुधार भएपछि आफ्नै बलबुटोमा होमस्टे सञ्चालन गरेको चौधरीले सुनाए ।  
उक्त होमस्टेको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै प्रदेश सांसद् वीरमान चौधरीले बृहत योजना अनुरुप अगाडि बढेमा बसन्ता कोरीडोर थारु होमस्टे गाउँ आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गरे । ‘बसन्ता कोरीडोर अन्तर्राष्ट्रिय स्तरमा परिचित छ’, उनले भने–‘त्यसैले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ ।’ प्रदेश सरकारले पर्यटन केन्द्रको गुरुयोजना बनाउने क्रममा रहेको जनाउँदै सांसद् चौधरीले अगाडि थपे–‘होमस्टेको विकासका लागि प्रदेश सरकारबाट सहयोग उपलब्ध गराउनका लागि म पनि पहल गर्नेछु ।’
सहरिया जीवनमा बाँच्नेहरु प्राकृतिक सौन्दर्य खोज्ने, रमाउन चाहनेक्रम बढिरहेको छ । त्यस्ताका लागि बसन्ता कोरीडोर थारु होमस्टे उपयुक्त स्थान सावित हुने कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ बताउँछन् । 


‘यहाँ प्राकृतिक र साँस्कृतिक सम्पदा छ । जुन कुरा महँगो पैसा तिरेर हेर्न जाने डान्सबारमा कदापि पाउन सकिदैंन’, प्रजिअ श्रेष्ठले अगाडि थपे–‘यी सम्पदाहरु तथा यहाँको संरक्षण नमूना हेर्न र अनुसन्धानकर्ताहरु अनुसन्धान गर्नका लागि यहाँ आउनेछन् ।’
कैलारी गाउँपालिकाले ग्रामीण क्षेत्रमा पर्यटन विकासको लागि नीतिगत व्यवस्था गरेको छ । चालू आर्थिक वर्षमा समेत गाउँपालिकाले पर्यटन विकासको कार्यक्रम तयार पारेको छ । गाउँपालिकाले नीतिगत व्यवस्था गरेकाले बसन्ता कोरीडोर थारु होमस्टे गाउँमा सार्वजनिक पूर्वाधार निर्माण र विकासका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष लाजुराम चौधरीले बताए । 


‘हामी होमस्टे कार्यविधि, निर्देशिका बनाएर पूर्ण रुपमा सहयोग गर्नेछौं’, उनले अगाडि थपे–‘यो होमस्टेलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउने जिम्मेवारी अब हाम्रो काँधमा थपिएको छ ।’
अधिवक्ता डा. जानकी तुलाधारले पर्यटन विकासलेमात्रै ग्रामीण क्षेत्रको विकास हुने भएकाले होमस्टेको विकासमा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेकी थिइन् ।