Close This

तालिम प्राप्त कुकुर प्रयोग गरेर सीमानाकामा चेकजाँच

शुक्रबार असोज २६, २०७५/ Friday 10-12-18
Paschim Today

धनगढी, २६ असोज । चाडपर्व लक्षित सुरक्षालाई मध्यनजर गरेर कैलालीको त्रिनगर भन्सार नाकामा नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच थालेको छ । 
    सीमा क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्ने उद्देश्यले तालिम प्राप्त दुई वटा कुकुरमार्फत चेकजाँच थालिएको हो । नजिकै रहेको गौरीफन्टा नाका भएर प्रतिबन्धित अवैध हातहतियार, विष्फोटक पदार्थ, लागुऔषध भित्रिन सक्ने र चाडपर्वका बेला शान्ति सुरक्षामा चुनौती हुन सक्ने भएकाले पहिलो पटक यहाँ कुकुरको प्रयोग गरेर चेकजाँच गरिदैँछ । ति कुकुरहरु लागुऔषध र विष्फोटक पदार्थ पत्ता लगाउनमा दक्ष रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । कुनै व्यक्ति वा अपराधिक गिरोहले लागुऔषध वा हतियार, विष्फोटक पदार्थ लुकाइ छिपाई ल्याउने कार्य गरेको खण्डमा तालिम प्राप्त कुकुरले सजिलै पत्ता लगाउने प्रहरीले बताएको छ । 


    नेपाल–भारत सीमा नाका खुला रहेका कारण जुनसुकै बेला पनि प्रतिबन्धित वस्तु भित्रिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि कुकुरमार्फत चेकजाँच गरिरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।  
    ‘हामीले चेकजाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरको प्रयोग गरिरहेका छौं’, उनले भने–‘ति कुकुरले प्रतिबन्धित हातहतियार, विष्फोटक पदार्थ, लागुऔषध पत्ता लगाउने छन् ।’


    धनगढीमा लागुऔषधको दुव्र्यशनमा फसेकाहरु बढेका छन् । त्रिनगर भन्सार नाका भएर यसअघि, विभिन्न प्रतिबन्धित लागुऔषधहरु भित्र्याउने क्रममा प्रहरीले केहि व्यक्तिलाई पक्राउ समेत गरेको थियो । त्रिनगर भन्सार नजिकै रहेको भारतको गौरीफन्टास्थित जङ्गल क्षेत्र लागुऔषध प्रयोगकर्ताको ‘क्रिडास्थल’ समेत बनेको बताइन्छ । 
    उता र यताका दुव्र्यशनीहरु त्यहिँ जम्मा भएर ‘ड्रग्स’ लिने र ओसारपसार समेत गर्ने गरेको जनाइएको छ । चाडपर्वको बेला यस्ता घटना हुन सक्ने अवस्थालाई मध्यनजर गरेर तालिम प्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए । ‘हामीले यसवर्ष नयाँ ढङ्गले चेकजाँच गरिरहेका छौं’, उनले भने । 


    कैलालीमा १०२ किलोमिटरमा खुला सीमाना रहेको छ । प्रहरीले अरु नाकामा भने जेकचाँजका लागि कुकुरको व्यवस्था गरेको छैन । कैलालीको खक्रौला नाका पछिल्लो समय लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । खक्रौलामा तालिम प्राप्त कुकुरको प्रयोग नभए पनि सुरक्षा व्यवस्था कडा भएको जनाइएको छ । 
    गत आर्थिक वर्ष २०७४÷०७५ मा टीकापुरस्थित खक्रौला नाकाबाट लागुऔषध ओसारपसारको २८ वटा मुद्दा इलाका प्रहरी कार्यालयमा दर्ता भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न ५३ जनालाई पक्राउ गरेर कारबाही गरेको छ । घटनामा संलग्न सात जना भने अझै पनि फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । 


    यसैगरी, चालू आर्थिक वर्षको हालसम्म सोही नाकाबाट लागुऔषध ओसारपसार गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मुद्दा शाखाका सव–इन्सपेक्टर प्रेम खड्काले जानकारी दिए । खक्रौला नाकाबाट लागुऔषध ओसारपसार हुने गरेकाले चाडपर्वको बेला सुरक्षा व्यवस्था निकै कडा पारिएको उनले जानकारी दिए ।  
    ‘यसअघि, मलद्वार, मोबाइलको खोल, जुत्ताको मोजा लगायतमा लागुऔषध लुकाएर ल्याउने क्रममा व्यक्तिलाई पक्राउ गरेका छौं’, खड्काले भने–‘चाडपर्वको बेला त्यसरी नै लागुऔषधको ओसारपसार हुन सक्ने भएकाले अहिले सुरक्षा व्यवस्था निकै कडा बनाएका छौं ।’


    नेपालमा प्रतिबन्धित लागुऔषध भारतीय बजारमा निर्बाध रुपमा पाइने भएकाले उताबाट त्यस्ता वस्तु ल्याउने परिपाटी बढी रहेको प्रहरीले भनाइ छ । भारतबाट खैरो हिरोइन र सबैभन्दा बढी नाइट्रोभेट लगायतका ट्याबलेटमा रहेको लागुऔषध ल्याउने गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । चाडपर्वको मौका छोपेर लागुऔषध सहित हातहतियार समेत भित्र्याउन सक्ने भएकाले जिल्लाको सबैतिर सुरक्षा व्यवस्था कडा बनाएको जनाइएको छ ।  
    ‘चाडपर्व लक्षित सुरक्षा योजना लागू भएकाले निश्चित रुपमा सबैतिर चेकजाँच कडा पारिएको छ’, जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दीपक पातलीले भने–‘प्रहरीले आउने जाने मानिसहरुको नियमित खानतलाशीदेखि लिएर शंका लागेका व्यक्तिमाथि कडाईका साथ चेकजाँच गरिरहेको छ ।’