Close This

राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म स्थापना

शुक्रबार असोज २६, २०७५/ Friday 10-12-18
Paschim Today

धनगढी, २६ असोज । कैलालीको त्रिनगर भन्सार नाकामा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर राजश्व तथा भन्सार गस्ती सुरक्षा कैलाली नम्बर ५३ गुल्म स्थापना गरिएको छ । 

धनगढी उपमहानगरपासलका प्रमुख नृपबहादुर वड र शसस्त्र प्रहरी मुख्यालय बाहिनी अत्तरियाका प्रहरी नायब महानिरिक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा गुल्मको स्थापना गरे । सो अवसरमा नगर प्रमुख वडले सीमामा हुने चोरीनिकासीमा शसस्त्र प्रहरीले कडाइ गरेपछि राजश्व संकलनमा उल्लेख्य सुधार आएको बताए ।


‘चोरी, तस्करी तथा निकासी नियन्त्रणमा स्थानीय सरकारको साथ र सहयोग रहन्छ ।’ नगर प्रमुख वडले भने, ‘गुल्म स्थापनासंगै सीमामा हुने अपराधसमेत न्यूनिकरण हुने आशा गरेका छौं ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले गुल्म स्थापनाले राजश्व तथा भन्सार गस्तीमा क्रियाशिल शसस्त्र प्रहरीहरुको मनोवल बढाएको बताए । 
उनले भने, ‘खुला सीमाका कारण हुने अपराध रोक्न शसस्त्र प्रहरी सक्रिय हुनुपर्छ ।’ शसस्त्र प्रहरी मुख्यालय बाहिनी अत्तरियाका प्रहरी नायब महानिरिक्षक नगेन्द्रबहादुर थापाले गएको भदौ महिनामा मात्रै शसस्त्रले १ करोड ३ लाख राजश्व संकलन गरेको बताए । 


यसअघि एक वर्षभरि औषत १ करोडको हाराहारीमा राजश्व संकलन हुने गरेको शसस्त्रको सक्रियता बढेसँगै राजस्व संकलनमा वृद्धि भएको बताए । उनले भन्सार छलिलाई शून्यमा झार्न शसस्त्र प्रहरी क्रियाशील रहेको बताए ।