Close This

सबैका गुरु शिवहरी मुडभरी

शनिबार असोज २७, २०७५/ Saturday 10-13-18
Paschim Today

 

दीर्घराज उपाध्याय । हरेक व्यक्तिसंग केही न केही सपना हुन्छन । ठूलो भएपछि यो बन्ने । त्यो बन्ने । र ती सपनासंगै जोडिएर योजनाहरु पनि उसको दिमागमा हुर्किरहेका हुन्छन् ।

तर १२ वर्षसम्म बाख्रा चराएर हुर्केका उनीभित्र त सपनाले हुर्किने अवसर पनि पाएन । तर जीवन न हो । कति बेला कुन मोडमा कहाँ पुग्छ ? कुन मोडले जिन्दगी र जिन्दगीका सपनाहरु बदलिदिन्छ ?

 

सपना बिहिन तीनै व्यक्ति धेरैका जीवनका सपना पुरा गर्न जीवनको उत्तराद्र्धमा पनि सक्रिय छन् । ती व्यक्ति हुन्, शिवहरी शर्मा मुडभरी ।

२००८ सालमा नुवाकोटको झ्याङ्लीमा जन्मिएका उनी बुवा ऋषिभक्त शर्मा मुडभरी र आमा लिला कुमारीका शर्मा  एक्ला सन्तान थिए ।उनी सानै थिए । घरमै अक्षराम्भ भयो । स्कुल भने टेक्न पाएनन । १२ वर्षसम्म गोठालो भएरै बिताए । गोठालो जान्थे । बाख्रा चराउथे ।  घर नजिक विद्यालय थिएन । अलि ठूलो भएपछि पिताजीले चिनिया खर्कमा रहेको पाठशालामा भर्ना गरिदिए । घरभन्दा निकै टाढा डाडामा पाठशाला थियो । दुई डाडाको खोचबाट हिड्नुपर्ने । डाडामा विद्यालय । विद्यालय जानेबेला आमाले चामल र भुटेको मकै दिएर पठाउथिन । भोक लाग्दा खाएस भनेर । एक कक्षादेखि तीन कक्षासम्म त्यही पढे । विद्यालय आउन जान दुई घण्टा भन्दा बढि लाग्थ्यो । आमाको माया । छोराले दुःख पायो भनेर आमाले भनिन्, भो यति दुःख गरेर पढ्न पर्दैन । उनको विद्यालय छुट्यो ।

 

उनी १५ वर्षका भए । आमाले उनलाई पढाउन काठमाण्डौं लगिन । भोटाहिटीमा रहेको बालकुमारी विद्यालयमा कक्षा तीनमा भर्ना गरिए । केही समय आमा त्यही बसिन । तर पछि एक्लै छोडेर आमा फर्किइन । उनी डेरामा बस्थे । आफै खाना बनाउथे । राशन सकिएपछि नुवाकोट फर्किन्थे । निधारमा नाम्लो । पिठ्युमा डोको । डोकोमा राशन । यसरी थुपै्र पटक राशन बोके । एक दिनमा घरबाट काठमाण्डौं पुग्थे । पाँच कक्षासम्म यसरी पढे ।

 

उनी काठमाण्डौंमै थिए । उनका बुवाका काका पर्ने नेपालगञ्जमा कन्जरभेटर थिए । कन्जरभेटरसंगै कैलाली घुम्न आएका उनका बुवा त्यसपछि नुवाकोट फर्किएनन । कैलालीको पवेरामा जग्गा किने । र यतै बस्न थाले । केही समयपछि उनकी आमा पनि कैलाली आईन । पछि उनी पनि कैलाली पुगे ।

 

र उनी हसुलियामा रहेको छिमानन्द प्राविमा ६ कक्षामा भर्ना भए । उनका बुवा गाँउमा जमिसकेका थिए । सबैले उनका बुवालाई सुबेदार बाजे भनेर सम्बोधन गर्ने । त्यतिबेला प्रत्येक गाँउमा एक जना महाजन हुन्थे । सबै मुस्लिम । ती मध्येका एक थिए,जहुर अहमद । जोसंग उनका बुवाको राम्रो सम्बन्ध थियो । उनका बुवाले जहुरसंगै छोरालाई पढाउन बरेली पठाए । जहुर बरेलीका बासिन्दा थिए । बरेलीको भोजीपुराभित्र एउटा कस्वा थियो, धौरा । धौराहा रहेको जहुरको घरमा बसेर उनले ६ देखि ८ कक्षासम्म पढे । त्यसपछि उनी बरेली आए ।  कुवँर दयाशंकर एडवर्ड मेमोरियल कलेज भर्ना भए । त्यहीबाट १० कक्षा पास गरे । त्यसपछि उनी काठमाण्डौं पुगे । ११ कक्षामा नेपाल नेशनल कलेजमा भर्ना भए । त्यहीबाट स्नातक गरे । त्यही कलेज पछि शंकरदेव क्याम्पस भयो । र कानपुर विश्व विद्यालयबाट अर्थशास्त्रमा डिग्री गरे ।

 

उनी २१ वर्षका थिए । लोकसेवाको परीक्षा खुल्यो । जनकपुर चुरोट कारखाना(जचुकाली),तत्कालिन शाही नेपाल वायु सेवा निगम, नेपाल औद्योगिक विकास निगम(एनआईडिसी) को संयुक्त आवदेन थियो । आवदेन भरे । परीक्षा दिए । पास भए । उनले जचुकालीमा चौथो तहको जागीर रोजे । मासिक तलव थियो, १८० रुपैया ।

 

जचुकालीको जागीर खाएपनि उनको रुची शिक्षण पेशामा थियो । शुरुमा पढाउनु सौख थियो । पछि त्यही सोख आदत बनिसकेका थियो । पढाउनै पर्ने एक किसिमको अम्मल जस्तो । गाँउमा केही समय आराम गर्छु भनेर गएका थिए । त्यहाँ पनि खाली बस्न सकेनन । मनमनै सोचे– पढाउन नपाएपछि म त बहुलाउछु । गाँउकै विद्यालयमा केही समय पढाए । 

 

जचुकालीका जागीरे । सरुवा भईरहन्थ्यो । तर सरुवा भएर जहाँ पुग्थे । त्यही पढाउन थाल्थे । उनी जहाँ गए पढाए । काठमाण्डौंबाट जागीर शुरु गरेका उनी त्यहाँबाट सरुवा भएर धनगढी आए । धनगढीबाट सरुवा भएर पुगे, महेन्द्रनगर । महेन्द्रनगरमा जचुकालीको जागीरसंगै सिद्धनाथ बहुमुखी क्याम्पसमा पढाउन शुरु गरे । त्यहाँबाट उनको सरुवा भयो, धनकुटा । धनकुटा छदा त्यही पढाए । र फेरि कञ्चनपुरमा आए । उनले अध्यापनलाई फेरि जोडे । केही वर्षपछि चितवन सरुवा भयो, त्यहाँ बालकुमारीमा पढाए । चितवनबाट सरुवा भएर पुगे, पुरानै ठाउ, महेन्द्रनगर । सिद्धनाथसंग त उनको पुरानो मोह । पढाउन किन छोड्थे । पढाउन थाले । जचुकालीको सातौ तहको अधिकृतबाट उनले २०५१ सालमा राजिनामा दिए । र फर्के हसुलिया । गाँउ फर्के । मन त उही थियो ।

 

रामदास सरसंग आग्रह गरेर आफैले पढेको छिमानन्द प्राविमा पढाउन थाले । उनी गाँउमा पढाईरहेको थाह पाएपछि धनगढी उपमहानगरपालिकाका तत्कालिन मेयर स्व.किशोर कुमार बम  उनलाई भेट्न गाँउमै पुगे । बमले उनलाई ऐश्वर्य विद्या निकेतनको प्रधानअध्यापकको जिम्मेवारी निर्बाह गरिदिन आग्रह गरे । मेयर बमको आग्रह उनले टार्न सकेनन । र २०५३ सालमा उनले ऐश्वर्यको प्रधानअध्यापकको जिम्मेवारी सम्हाले । त्यतिबेला ऐश्वर्यको पढाईको अवस्था नाजुक थियो । प्लस टुमा जम्मा ६ जना विद्यार्थी थिए । ति पनि अन्यत्र जाने मनस्थितिमा थिए । विद्यालय लथालिंग थियो । शिक्षकहरुलाई तलव खुवाउन विद्यालयसंग पैसा थिएन । ऐश्वर्यमा कुल विद्यार्थी संख्या थियो, करीव चार सय ।

 

जव उनले ऐश्वर्यको जिम्मेवारी हातमा लिए । रातदिन नभनेर खटे । विस्तारै विद्यालयको अवस्था सुधार हुदै गयो । नतिजा पनि राम्रो आउन थाल्यो । विद्यार्थीको संख्या पनि बढ्यो । अभिभावक र विद्यार्थीहरु आकर्षित हुदै गए । प्लस टुमा मानविकी र व्यवस्थापन संकाय थपे ।

 

माध्यामिक शिक्षा विकास परियोजना मार्फत ल्याव भवन बनाए । जसका लागि तत्कालीन सांसद महेश्वर पाठकले सहयोग गरे । शिक्षाप्रेमी ठेकराज पन्तसंग आग्रह गरी ठेकराज सदन बनाए ।

 

ऐश्वर्यमा उनकै पालामा बिभागको व्यवस्था भयो । तलव खुवाउन सक्ने अवस्था नरहेको ऐश्वर्यमा उनले शिक्षकको संख्या थपे । र तलव पनि समयमै खाने व्यवस्था गरे । ऐश्वर्यले उनका पालामा भौतिक पूर्बाधार, गुणस्तरमा फड्को मा¥यो । उनले २०५९ सालमा प्रधानअध्यापकको पदबाट राजिनामा दिए । उनले विद्यालय छाड्दा विद्यार्थीको संख्या १२०० पुगिसकेको थियो ।

 

त्यसपछि उनी शान ईन्टरनेशनलको प्रिन्सिपलको जिम्मेवारी निर्बाह गर्दै काठमाण्डौं पुगे । त्यसको अवस्था पनि नाजुक थियो । सय जना जति विद्यार्थी । बीबीएको मात्र पढाई । लथालिंग अवस्था । उनले त्यहाँ चार वर्ष प्रिन्सिपलका रुपमा काम गरे । त्यो अबधिमा उनले नेपालमै पढाई नहुने माईक्रो बायोलोजीको पढाई शुरु गरे । गुणस्तरमा अब्बल बनाए । विद्यार्थी संख्या सयबाट चार सय पुग्यो । र उनी त्यहाँबाट पनि बिदा भए । उनी जहाँ जान्थे । त्यहाँ राम्रो छाप छोड्थे ।

 

शान ईन्टरनेशनलपछि उनी पुनः धनगढी फर्किए । धनगढीमा उनले धनगढी ईञ्जिनियरिङ कलेज(नाष्ट) को प्रमुखको रुपमा जिम्मेवारी सम्हाले । विज्ञान संकाय मात्र सञ्चालन थियो । प्लस र स्नातकमा कुल विद्यार्थीको संख्या थियो, ५९ । एउटा कक्षामा ५÷६ जना विद्यार्थी हुन्थे । बढि विद्यार्थी भएको कक्षामा १५÷१६ जना । विद्यार्थी संख्याले कलेजको आर्थिक अवस्था धान्न सक्ने अवस्था थिएन । शिक्षकहरुले ७÷८ महिनादेखि तलव पाएका थिएनन । उनले दिन भनेनन । रात भनेनन । निरन्तर खटिरहे । सिभिल ईञ्जिनियरिङ शुरु गरे । बीबीए थपे । उनले विद्यार्थी नपाएर झण्डै बन्द हुने अवस्थामा रहेको नाष्टलाई उचाईमा पु¥याए । गुणस्तरमा अब्बल बनाए । उनले जिम्मेवारी लिदा भाडाको एउटा घरमा सञ्चालनमा रहेको नाष्टको यतिबेला आफ्नै ६ वटा पक्की भवन छन् । विद्यार्थी संख्या १६०० नाघेको छ । पहिले ८ जना शिक्षक थिए । अहिले ६७ जना छन् ।

 

पोखरा विश्वविद्यालयको मातहतमा रहेका ५८ कलेजमध्ये नाष्ट १० उत्कृष्ट कलेज भित्र दरिएको छ । र हरेक वर्ष हुने परीक्षामा नाष्टबाट युनिभर्सिटिमा उत्कृष्ट नतिजा दिने विद्यार्थी परिरहेका छन् । नाष्टको यो सफलता शिवहरी शर्मा मुडभरीको अथक मिहिनेतको प्रतिफल हो । उनी कुशल प्रशासक हुन । उनले जुन शैक्षिक संस्थाको नेतृत्व गरे, त्यसको कायापलट नै भएको छ ।

 

उनी हरेक वर्ष विद्यार्थीहरुसंगै रुन्छन । जव विद्यार्थीहरुको विदाईको क्षण आउछ । उनी भावुक हुन्छन । आफूलाई सम्हाल्न सक्दैनन । विद्यार्थीहरु पनि रुन्छन । उनी पनि रुन्छन । विद्यार्थीसंगै विदाई समारोहमा रुन थालेको वर्षौ भयो । क्रम अझै जारी छ । यस पटक विद्यार्थी र उनीबीच विदाई कार्यक्रममा नरुने सहमती भयो । तर जव कार्यक्रम समापन हुने क्रममा थियो, विद्यार्थीहरु रुन थाले । र उनीहरुसंग रोयो, उनीपनि । भन्छन्, मैले आफूलाई सम्हाल्नै सकेन । विदाईको क्षण किन आउछ होला ? उनी आफैलाई प्रश्न गर्छन । जव हरेक नयाँ शैक्षिक सत्रमा नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम आयोजना हुन्छ । त्यतिबेला उनी जति खुशी हुन्छन । उनीभित्र त्यहीबेला एउटा चिन्ता पनि शुरु भईसक्छ,अव विदाईका लागि तयार हुनु पर्छ ।

 

विद्यार्थीसंग उनको लगाव गजवकै छ । गुरु र शिष्यको सम्बन्ध अटुट र पवित्र हुन्छ ।  सबै गुरु आदर्श व्यक्ति हुदैनन । उनी विद्यार्थीका लागि आदर्श गुरु हुन् । संसारका जुन सुकै कुनामा पुगेपनि उनलाई विद्यार्थीहरुले अझै सम्झिन्छन । आदर गर्छन । चिन्ता गर्छन ।

सुदूरपश्चिममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने थोरै व्यक्तिहरुमा उनी पनि चिनिन्छन । उनका उमेरका साथीहरु कतिपयको निधन भईसक्यो । कतिपय घरमा आराम गरेर बसिरहेका छन् । उनी गुरु हुन् । ज्ञानको ज्योती हुन् ।

 

परिवार मात्र पाल्ने सोच हुन्थ्यो भने । जचुकालीको जागीरमै जिन्दगी बिताउन सक्थे । जिन्दगी त बिताउनलाई होईन । न त काट्ने चिज नै हो ? यो त उपयोग गर्ने चिज हो । आफ्ना लागि अरुका लागि सदुपयोग गर्ने चिज हो ।जचुकालीमा उनी अधिकृत थिए । त्यही रही रहेको भए उनी त्यो भन्दा माथिल्लो पदमा पुगेर अवकाश पाउथे होलान । तर त्यहा रही रहे उनले पढेको शिक्षा,ज्ञान र अनुभवले एउटा अधिकृत मात्र जन्मिन्थ्यो । तर उनले शिक्षण पेशा रोजे । र हजारौ अधिकृत उत्पादन गरे ।

एउटा बलेको दियोले हजारौ दियो बाल्न सकिन्छ । उनी पनि दियो हुन् । दियोको बाती हुन् । उनीभित्रको ज्ञान, शिक्षा र अनुभवको तेलले हजारौ दियो बलेका छन् । जिन्दगीमा उनले जोडेको यही हो । कमाएको यही हो । उनी भन्छन्, म यसैमा सन्तुष्ट  छु ।

कक्षा कोठामा जति शान्ति उनलाई कहि मिल्दैन । उमेरले भन्छ, बृद्ध भईसक्यो । तर उनको मन अझै तन्नेरी छ । र त ७० वर्ष पुग्न एक वर्ष बाँकी रहदा न उनको उर्जा कमि छ । जव मान्छे बृद्ध हुदै जान्छ । शरीरमा उर्जा कम । आलस्य बढि । उत्साह कम । निराशा बढि हुन्छ । जीवनको उत्तरार्धमा मान्छे बिगतलाई सम्झिदै घोत्लिन्छ । ओहो, समय बितेको त पत्तै भएन । यो गर्न सकिएन । त्यो गर्न सकिएन । जिन्दगी त बेकारमा बित्यो । मान्छेहरु आफैले बाँचेको जिन्दगीलाई लिएर पछुतो गर्छन  । तर उनलाई न पछुतो छ । न त उनीसंग पछुताउन समय छ । उनी यो उमेरमा पनि उत्तिकै सक्रिय छन् । उनको दैनिकी फेरिएको छैन । घरबाट कलेज । कलेजबाट घर । उनी समयको पक्का छन् ।

 

भो अव पनि कति काम गर्नु ? जिन्दगी पुरै काम गरेर बित्यो । अवकाशको जिन्दगी । अव त आराम गरेर बस्छु । शिवहरी मुडभरी भने अपवाद हुन् । थकाई । पछुतो । निराशा । उनको जीवनमा छैनन । उनको जोश र जागर अझै तन्नेरी झै छ । थकाई र पछुतो त छदैछैन । कसले भन्छ ? काम गर्नलाई उमेरले छेक्छ ? ईच्छाशक्ति भन्दा ठूलो केही छैन । त्यसको उदाहरण हुन्, शिवहरी शर्मा मुडभरी । भन्छन्, स्वास्थ्यले साथ दिएसम्म पढाउन छोड्दैन ।

प्रिय भटभटे से ८४५

हिरोहोण्डा कम्पनीको से १ प ८४५ नम्बरको मोटरसाईकल उनको जीवनको एउटा हिस्सा हो । उनको दुःख सुख र संघर्षको साथी हो । २० वर्ष भयो । जतनले चलाउछन । जतनले सम्हालेर राखेका छन् ।

 

उनले पढाएका विद्यार्थीहरु भन्छन्, सर मोटरसाईकल धेरै पुरानो भयो । सर यो भएन, भन्छन । तर उनी नसुने झै गर्छन । विद्यार्थीले नयाँ मोटरसाईकल किनेर दिन खोजे । उनले माननेन । अरुले पुरानो भने पनि उनलाई त्यो प्रिय भटभटे अझै पुरानो लाग्दैन । सायद यही हो माया । जो पुरानो हुदैन । अरुले के भन्छन, फरक पर्दैन । जव उनी त्यसमा चढ्छन । २० वर्ष पुरानो त्यो याद मात्र ताजा हुदैन । त्यो पुरानो उर्जा र जागर पनि स्टार्ट हुन्छ । उनी भित्र ।

केही समयअघि कलेजले उनलाई कार दियो । कलेज आउदा जादा मात्र कार चढ्छन । अरु बेला भने त्यही प्रिय भटभटेमा सरर । 

स्मृतिमा चिनिया खर्कदेखि पवेरासम्म

त्यो पवेरा । अनि सडकपुर गाँउ । टेडी बाँध । त्यो उजेली सिमराको देशराज महतोको हवेली । किम्वदन्ती जस्ता लाग्ने पात्र देशराज महतो । उनको त्यो रवाफपूर्ण जिन्दगी । जे चिज मन पराए । त्यो मागे । मानेन कब्जा गरे । त्यतिले पनि धित मरेन । कतिको ईहलिला नै समाप्त गरे । त्यो बैभवपूर्ण जिन्दगी । र पीडादायी अवसान । छिमानन्द महतो मन्त्री भएर गाँउमा भएको अविर जात्रा । अहिलेजस्तै लाग्छन, उनलाई । कति चाँडो समय बदलिएछ ।

 

चन्दन चौकीको त्यो रेल स्टेशन । बरेलीको धौरा । भोजीपुरा । बीर बालक नाटकको त्यो दुस्साहसी पात्र । महाराणा प्रतापलाई मार्न आएको व्यक्तिलाई बीर बालकले ठहरै पारेको त्यो नाटक । अझै सम्झनामा ताजै छ । नुवाकोटबाट कैलाली झरेको पहाडी ठिटोलाई धौरामा हिन्दी भाषा पढ्दा कम्ता सकस भएको थिएन । नेशनल कलेज काठमाण्डौं । जचुकालीको जागीर । रिल झै फनफनी दिमागमा घुम्छ ।

 

ओहो, हेर्दा हेर्दै समय त कति घर्किएछ । फर्किन मिल्ने भए, उनी फर्किन्थे, नुवाकोटको चिनिया खर्क ।सुवेदार बाजेको छोराको त्यो बेलाको फुर्ति ।  समय न हो । मान्छेलाई कहाँबाट कहाँ पु¥याउछ । समयको गतिमा लय मिलाएर बग्न सक्ने धेरै पर पुग्छन । सयमसंग पौठाजोरी खेल्नेहरु कि किनारामा हुत्तिन्छन । कि समयको नदीको भंगालोमा हराउछन ।

समय र सपना उस्तै हुन् । आफैसंग छन । आफ्नै जस्ता पनि लाग्छन । तर कहिले आफ्ना हुदैनन । तर उनी त आफ्नै लयमा बगे । र समयलाई पनि आफ्नै लयमा बगाए ।

 

सम्झनामा जमिन्दारहरु

५० वर्षअघि कैलालीका गाँउहरुमा जमिन्दारको बोलवाला थियो । दोस्रोमा महाजन । र तेस्रोमा डाकाको ।

रामदिन महतो, छिमानन्द महतो र देशराज महतो नाम चलेका जमिन्दार थिए । त्यसमध्ये केही जमिन्दारहरु राम्रो कामले कम । नराम्रो कामले बढि चिनिन्थे । तिनै मध्ये एक थिए, देशराज महतो ।देशराज महतो धाकड थिए । जिद्दी थिए । उनले जे ठाने । त्यो गर्थे । उनी कसैसंग हार स्वीकार गर्दैनथे । कसैसंग डराउदैनथे । उनले जे भन्थे । त्यही कानुन हुन्थ्यो ।

देशराज चन्दन चौकी जाने खवर उनी भन्दा पहिले पुग्थ्यो । देशराज आउने खवरले चन्दन चौकी रेल स्टेशनका ईञ्चार्ज डराउथे । रेलमा यात्रा गर्दा देशराजले टिकट काट्नु पर्थेन ।  र उनका मान्छेहरुले टिकट काट्दैनथे । र टिटिले उनको टिकट चेक गर्ने दुस्साहस कहिले गरेनन । उनी आउने खवरले चन्दन चौकी रेल स्टेशनका कर्मचारी अलर्ट भईसकेका हुन्थे । उनको रवाफ आफ्नो गाँउमा मात्र थिएन । भारतीय सीमा क्षेत्रमा उस्तै । मैलानी जक्सनमा देशराजका लागि अतिथि कक्ष थियो । देशराज आउने खवर पाएपछि रेल उनी नआउदासम्म रोकिन्थ्यो । र उनी पुगेपछि रेल चल्थ्यो ।

 

देशराज लखनउ पढेका थिए । उनको अंग्रेजी राम्रो थियो । युवा उमेरमै कोठी र जुवाका सौखिन देशराजले आफ्ना बुवासंग ६० हजार रुपैया मागेका थिए । तर उनका बुवाले दिएनन । मागे बमोजिम पैसा नपाएपछि उनले कलेज पढ्न छोडिदिए । देशराज घोडा चढ्न सौखिन । उनी हार्न जान्दैनथे । र अरुले जितेको स्वीकार गर्न सक्दैनथे ।

देशराजको घरमा कपाल काट्ने हजाम लखनउबाट आउथे । र कपडा धुने र आईरन गर्ने धोवी लखनउकै हुन्थे । लखनउमा कश्मिर होटल थियो । रफि अहमद किदवहीको त्यो होटल देशराज बस्ने अड्डा थियो । किदवहीपछि मन्त्री भए । होटलको म्यानेजर वर्षेनी खाद्यान्न उठाउन बसौटी आउथे ।

बसौटीको उजेली सिमरामा देशराजले भव्य महल बनाए । त्यो महल लखनउकै कारिगर, लखनऊकै ईटा र लखनउकै सामग्री ल्याएर बनाएका थिए । त्यतिबेला गाँउमा डाका लाग्थे । डाकाबाट जोगिन उनले सुरक्षित घर बनाएका थिए । जुन घरको भित्र पस्न नयाँ मान्छेलाई गाह्रो हुन्थ्यो ।

दशैंको दिन थियो । शिवहरी शर्मा मुडभरी टीका लगाउन देशराजको घर जादै थिए । उनी देशराजलाई दाई भन्थे । हसुलियामा भेटिए, देशराज । देशराज पनि घोडामा थिए । उनी पनि घोडामा । देशराजले उनीसंग प्रतिस्पर्धा गर्न खोजे । हसुलियाबाट उजेली सिमरामा रहेको देशराजको घरसम्म पहिले को पुग्ने बाजी लगाईयो । उनले जिते । देशराज हारे । देशराजले हार सहन सकेनन । त्यही झोकमा देशराजले घोडाको मुख चक्कुले च्यातिदिए । उनलाई सह्य भएन । किन यस्तो गरेको दाई भनेर प्रश्न गरे । देशराजको ठाडो जवाफ थियो–हार्ने घोडाको के काम ?

 

कुनै समयमा चर्चित जमिन्दार । जो बिहान उठेदेखि साँझ सुतेसम्म आफ्नो जग्गामा हिड्थे । तर जीवनको अन्तिम समयमा बैंकको ऋण तिर्न नसकेर देशराजले ट्रयाक्टर बेचे । शिवहरीले किने । उनका केही खराव आदत थिए । राम्री महिला देख्न नहुने । उनले दुई महिलाको हत्या गरेको किस्सा त्यतिबेला निकै चर्चामा रह्यो । दुईटै घट्ना मिलाए वाफत दुई जना थानेदारले ३०÷३० बिगाहा जमिन पाए । दुईटै घट्ना बाहिर आउन नपाउदै सेलाए ।

 

उहिलेको दशैं

५० वर्ष अघि कैलालीमा दशैंको रौनक बेग्लै हुन्थ्यो । दशैंमा जमिन्दारहरुको घरमा सबै गाँउले जम्मा हुन्थे । जमिन्दारको आगनमा ठूलो पाल टागिन्थ्यो । र गाँउभरीका लाई पुग्ने गरी खाना बनाईन्थ्यो ।सबैले जमिन्दारको हातबाट टीका लगाउथे । र टीका लगाईदिएपछि सबैले जमिन्दारलाई ढोग्थे । र होली पनि जमिन्दारको घरमा यसैगरी मनाईन्थ्यो । ढिकीमा कुटेको रातो धानको भात अगेनामा पोलेर खान्थे ।

पवेराको सम्झना

पवेरा गाँउ पञ्चायतको वडा नम्बर ८ सडकपुरमा चार घर थिए । एक घर सुवेदार बाजेको । बाँकी तीन घर थारु समुदायका । सबै घर फुसका । फुसकै छाना । फुसकै भित्ता । फुसकै भएपनि सुवेदार बाजेको घर दुई तलाको थियो । बिजुली थिएन । टेलिफोन थिएन । सबै तिर नलका पनि थिएन । टेडी बाँधको पानी पिउने । त्यसैमा नुहाउने ।

 

हसुलिया अहिलेजस्तो बजार भईसकेको थिएन । त्यहाँ गाँउ पञ्चायतको कार्यालय भने थियो ।

उनी पवेराबाट अन्यत्र घोडामा जान्थे । जंगली जनावर र डाको डर थियो । त्यसैले उनक बुवा बाहिर निस्किदा बन्दुकसंगै लिएर निस्कन भन्थे । तर उनी भने कसैको डर नमान्ने । चाईनिज सामान किन्नु परेमात्र धनगढी आउथे । बरेली चन्दनचौकी भएर जान्थे  ।

धनगढीदेखि हसुलियासम्म पुरै जंगल । एक्लो हिड्न डर । हसुलियाको भर्रीमा केही घर थिए । त्यहाँबाट जंगलैजंगल भएर धनगढी पुग्दा बाटोमा एकैपटक मनेहरामा घर थिए । बाटोमा वस्तीको नामोनिसान थिएन ।धनगढीमा बास बस्ने ठाउ थियो । मनेहराको आम बगैचा । बगैचामा पाल टाँगेर बस्थे । धनगढीमा साहनीको पसल थियो । जहाँ चाईनिज सामान मिल्थ्यो ।

उनी धनगढीबाट फर्किदै थिए । घुराहा नदीको किनार के पुगेका थिए । नजिकै बाघ देखेपछि । उनले घोडालाई हावाको गति भन्दा पनि तेज कुदाए । घोडा घुराहा नदी पार गरेर धेरै टाढा पुगेपछि उनलाई लाग्यो । अव भने बाँचियो । बाघबाट जोगिएको यो दिन उनी कहिल्यै बिर्सिदैनन ।

बिबाह

उनको पुर्खा डोटीको मुडभराबाट नुवाकोट सरेको हो । त्यही भएर उनको थर पछाडि मुडभरी जोडियो । डोटीसंग त्यही कारण पनि भावनात्मक सम्बन्ध थियो । कैलाली बसाई सर्न पनि त्यही भावनाले काम गरेको थियो । र उनको बिहा पनि डोटीको जोशीगाँउकी टीकादेवी जोशीसंग भयो । २०२५ सालमा उनी बिहा हुदा १७ वर्षका थिए । र टीकादेवीको उमेर १४ वर्ष थियो । त्यसको दुई वर्षमा जेठी छोरीको जन्म भयो । त्यसपछि थप एक छोरी र दुई छोरा जन्मिए । सबैको बिहा गरिसके । छोरा छोरी आआफ्नो किसिमले जिन्दगी बिताईरहेका छन् । र उनी आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँचिरहेका छन् ।

सम्मान

शिक्षा क्षेत्रमा योगदान पु¥याए वाफत उनी दर्जनौ संघसंस्थाबाट सम्मानित भएका छन् । थुप्रै राष्ट्रिय स्तरका सम्मानबाट सम्मासनत भए । तत्कालिन राजा बिरेन्द्रको हातबाट उनले गोरखा दक्षिण बाहु चौथो पाउदाको क्षण भने कुनै कहिलै बिर्सिईदैनन । उनी दाढी बनाउदै थिए । रेडियोमा गोदवा पाउनेहरुको सूचिमा आफ्नो नाम पनि प्रशारण हुदा उनी अत्यन्त खुशी भए । गोदवा थाप्न काठमाण्डौं पुगे । राजाबाट गोदवा थाप्दै गर्दा उनले बिन्ति बिसाए–सरकार यसले मात्र पुग्दैन । ऐश्वर्य विद्या निकेतनको रजत जयन्तीमा सवारी भईदिन प¥यो ।राजा बिरेन्द्रले धाप मारे । नजिकैबाट यो दृष्य हेरिरहेका दरवारका प्रमुख सचिव पशुभक्त महर्जनले पछि उनलाई भेटेरै भने, सरकारको मुड ठिक थिएन । तपाईको कुराले सरकार खुशी हुनुभएको छ । तर राजालाई बोलाउने उनको ईच्छा भने पुरा हुन सकेन । दरवार हत्याकाण्डमा पुरै राजपरिवारको हत्या भयो ।

तीन पुस्ताका गुरु

मान्छे किन अरु प्राणी भन्दा फरक छ ? किन मान्छेमा विकासको क्रम अदभुत छ ? त्यसको मुख्य कारण हो, ज्ञानको हस्तान्तरण । हो, ज्ञानकै हस्तान्तरणका कारण मान्छे सबै प्राणी भन्दा सर्वश्रेष्ठ भयो । हिजोको पुस्ता भन्दा आजको पुस्ता यही कारण फरक छ ।

ज्ञान हस्तान्तरणको माध्यम घरमा आमाबुवा । विद्यालयमा गुरु । आमाबुवाले बाह्य संसारलाई देखाउछन । गुरुले संसारलाई चिनाउछन । अनुभुत गराउछन् । त्यही कारण मान्छेहरुमा पनि गुरु सर्वश्रेष्ठ मानिन्छ । जो सधैभरी बाडिरहन्छ । जति बाडेपनि उ कहिल्यै रित्तिदैन ।

शिवहरी शर्मा मुडभरी पनि तिनै गुरु हुन् । जसले जीवनको युवावय ज्ञान बाडेर बिताए । यतिबेला उनी जीवनको उत्तराद्र्धमा छन् । उनले आफूमा भएको ज्ञान हस्तान्तरण त्यो क्रम भने रोकिएको छैन । झण्डै पाँच दशकदेखि अध्यापनमा सक्रिय छन् । उनले तीन पुस्तालाई पढाए । बाजेलाई पढाए । छोरालाई पढाए । र अहिले नाति पुस्तालाई पढाउदैन । उनी तीन पुस्ताका गुरु । अर्थात सबैका गुरु ।