Close This

एक वडा एक नमुना विद्यालय अभियान

आइतबार असोज २८, २०७५/ Sunday 10-14-18
Paschim Today

धनगढी, २८ असोज । सरकारी विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार छ । शिक्षक दरबन्दी पनि । तर, विद्यार्थी संख्या भने घट्दो क्रममा । कुनै बेला खचाखच विद्यार्थी भएपछि ‘सेक्शन’ छुट्टयाएर पठनपाठन गराउने विद्यालयमै विद्यार्थी संख्या पातलो बन्दै गएको छ ।

 

      पहिले सहरतिर देखिएको यस्तो समस्या अब ग्रामीण क्षेत्रमा पनि बढदो छ । सबै थोक भएर पनि सरकारी विद्यालयको पढाइको गुणस्तर खस्किदैं जानुले सरकारी विद्यालयमा विद्यार्थी घट्दै जाने अवस्था आएको हो । यसको ठीक विपरित कम भौतिक पूर्वाधार र शिक्षक पनि कम रहेको निजी विद्यालयमा भने विद्यार्थीको आकर्षण बढेको छ ।

 

      सरकारी विद्यालयको खस्किदैं गएको शैक्षिक गुणस्तर र घट्दै गएको विद्यार्थी संख्यामा सुधार ल्याउन तथा युग सुहाउँदो शिक्षाका लागि ग्रामीण क्षेत्रमा ‘एक वडा, एक नमुना विद्यालय’ अभियानको थालनी गरिएको छ । कैलालीको कैलारी गाउँपालिकाले यो अभियान थालेको हो ।

      निजी विद्यालयलाई निरुत्साहित र सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक वडा, एक नमुना विद्यालय’ अभियानको सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।

 

      नौ वटा वडा रहेको कैलारी गाउँपालिकामा ५१ वटा सरकारी विद्यालय रहेको थियो । विद्यार्थी पाउन नसक्दा वडा नम्बर ८ मा रहेको जनता आधारभूत विद्यालय बन्द भएको छ । गाउँपालिकाले बनाएको निर्देशिका अनुसार न्यूनतम् सर्त पूरा गरेका हरेक वडामा एक विद्यालयलाई नूमना विद्यालय बनाइने जनाइएको छ । हालसम्म चार वटा वडाका चार विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको छ ।

 

      वडा नम्बर १ मा रहेको जनसेवा आधारभूत विद्यालय, ३ मा रहेको कालिका आधारभूत विद्यालय, वडा नम्बर ४ मा रहेको अपरम्पार धार्मिक विद्यालय र वडा नम्बर ७ स्थित जनता आधारभूत विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको हो । निर्देशिका कार्यान्वयन गरी सर्त पूरा गरेका विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा घोषणा गरिएको अध्यक्ष चौधरीले बताए ।

 

      ‘हाम्रो लक्ष्य गाउँपालिकाभित्र रहेको ५० वटै सरकारी विद्यालयलाई नमुना बनाउने हो’, उनले अगाडि थपे–‘तर, अहिले एक वडामा, एउटामात्रै नमुना विद्यालय बनाउने अभियान थालेका छौं ।’

      एक वडामा एउटा नमुना विद्यालय भएमा त्यसमा व्यवस्था भएको शिक्षण विधिलाई अरु विद्यालयले पनि सिको गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले नयाँ शिक्षण विधि र भौतिक अवस्थाको सुधारका लागि नमुना विद्यालयहरुलाई पाँच÷पाँच लाख रुपिया सहयोग गरेको छ । विद्यालयको भौतिक पूर्वाधारमा सुधार, प्रोजेक्टर, कम्प्युटर, सीसी क्यामरा खरिदका लागि गाउँपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताइएको छ । यसैगरी, विद्यालयमा कार्यरत शिक्षकलाई तालिम, अनुशिक्षणको व्यवस्था पनि गाउँपालिकाको कार्यालयले गर्ने जनाइएको छ ।

 

      विद्यालयको कम्तीमा १० कट्ठा आफ्नै जमिन हुनु पर्ने, नदी र खोलाको जोखिममा विद्यालय रहन नहुने, विद्यार्थीको आवतजावतका लागि बाटो सहज भएको हुनु पर्ने र त्यसमा पिछडिएका दलित, आदिवासी जनजाति समुदायको विद्यार्थी पनि अध्ययनरत हुनु पर्ने लगायत नमुना विद्यालय घोषणाका लागि सर्त निर्धारण गरेको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिए । 

 

      नमुना विद्यालय बालमैत्री, आपाङ्गमैत्री र वातावरणीयमैत्री बन्नु पर्ने मन्टेश्वरी शिक्षण विधिबाट पठनपाठनको व्यवस्था हुनु पर्ने उनको भनाइ थियो । ‘यसैका लागि प्रविधियुक्त इ–स्कुलको अवधारणा पनि ल्याएका छौं’, चौधरीले भने–‘विद्यालयले प्रोजेक्टरमार्फत पनि पठनपाठन गराउनु पर्नेछ ।’

 

      नमुना विद्यालयमा बालबालिकाहरुको लागि ‘मिनी पार्क’ को व्यवस्था गरिनु पर्ने जनाइएको छ । यस्तै, विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि जोड दिनु पर्ने बताइएको छ । नमुना विद्यालय घोषणा र त्यसको पूर्ण कार्यान्वयनले सरकारी विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउने जनता नमुना आधारभूत विद्यालयका प्रधानाध्यापक विनयकान्त पाठक विश्वास व्यक्त गर्छन् । 

      ‘हामी सबै प्रतिवद्ध भएर कार्यविधि अनुसार अगाडि बढ्यो भने अवश्य पनि सुधार हुनेछ’, उनले भने ।

      एउटा निश्चित अवधि नतोकिए पनि निकट भविष्यमा सबै वडामा नमुना विद्यालय घोषणा हुने कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्टले बताए । ‘हामीले सकेसम्म चाँडै यो कार्यलाई अगाडि बढाउन चाहका छौं’, उनले अगाडि थपे–‘तर, शिक्षाको कर्मचारी नभएका कारणले केहि कठिनाइ छ ।’