Close This

बैतडीका शक्तिपीठहरुमा भक्तजनको घुइँचो 

बुधबार असोज ३१, २०७५/ Wednesday 10-17-18
Paschim Today

बैतडी ३१ असोज । 
बडादशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ। देहिमाण्डौंको निङ्गलाशैंनी भगवती मन्दिर, मेलौलीको मेलौली भगवती मन्दिर, पाटनको उदयदेव मन्दिर, त्रिपुराको त्रिपुरासुन्दरी मन्दिर, पुर्चौडीको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदारको दोगडाधाम, देउलेक केदार लगायतका मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको घुइँचो लागेको हो। यी मन्दिरहरुमा भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आएका छन्।

           दशैंको बेलामा लाग्ने मेलामा भक्तजनहरुको घुइँचो लागेकोे दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताए। ‘बैतडीसहित सुदूरपश्चिमलगायत भारतबाट समेत दर्शानार्थी आएका छन्,’ उनले भने, ‘अष्टमीको दिन राँगा र बोकासहित पूजाआजा गर्दछन्।’ पुर्चौडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिरमा पनि अष्टमीको दिन राँगाको बलि दिने प्रचलन छ। पाटनमा रहेको उदयदेव मन्दिरमा नवमीको दिन राँगाको बलि दिइन्छ। त्रिपुरासुन्दरी मन्दिरमा घटस्थापनादेखि दशमीसम्म बलि दिने गरिएको छ। 

                      नवरात्रमा शक्तिपीठहरुमा पूजाआजा गर्ने चलन रहेको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए। जिल्लाका अन्य शक्तिपीठहरुका साथै अन्य मन्दिरहरुमा पञ्चमीदेखि बिशेष पूजा भइरहेको स्थानीयबासिन्दाहरुले बताए।  भक्तजनहरुको घुइँचो लाग्ने भएकाले सबै शक्तिपीठहरुमा मदिरा तथा धूमपान निषेधत, खुला दिशापिसाबमुक्त क्षेत्र घोषणा गरिएको जनाइएको छ। कुनै आपराधिक क्रियाकलाप हुन नदिन जिल्ला प्रहरी कार्यालय बैतडीले सुरक्षा प्रबन्ध कडा गरेको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले बताए।