Close This

आयोजना निर्माणमा अवरोध नपु¥याउ

बिहीबार कार्तिक १५, २०७५/ Thursday 11-01-18
Paschim Today


धनगढी उपमहानगरपालिकामा झण्डै एक सय करोड रुपैयाको लगानीमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । यो परियोजना देशकै महत्वाकांक्षी फोहोर मैला व्यवस्थापन परियोजना हो । उपमहानगरपालिकाले वडा नं २ स्थित कैलाली खोला र मोहना नदीको दोभान नजिकै जोडिएको जग्गामा परियोजना निर्माण गर्ने तयारी थालेको हो । 
एसियाली विकास बैंकको अनुदान सहित ६५ करोड ऋण सहयोगमा एकिकृत फोहर मैला ब्यबस्थापन केन्द्र निर्माण हुन थालेको हो । त्यसै गरी सोही आयोजना अन्तरगत २० करोडको लगानीमा वायो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ । आयोजनाले २९ हेक्टर क्षेत्रफल ओगट्ने भएको छ भने २२ हेक्टरमा संरचनाहरु निर्माण हुने छन् । आयोजना निर्माण भएपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २ सय जनाले रोजगारी पाउने बताइएको छ ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको आयोजनाको दुई बर्ष  अध्ययन तथा स्टिमेट बनाउन खर्चिएको छ । अव आयोजनाको भौतिक संरचना निर्माणका लागि टेण्डर प्रकृया शुरु हुदैछ ।
यो परियोजना मुलुककै ठूलो र महत्वाकांक्षी परियोजना हो । र यो परियोजनाले धनगढी उपमहानगरपालिकालाई स्वच्छ, सफा र दुर्गन्ध रहित बनाउन मात्र योगदान पुग्ने छैन भने दुई सय भन्दा बढि परिवारलाई रोजगारी दिनेछ । जसले उनीहरुको आर्थिक र जीवनस्तर माथि उकास्न यो परियोजना निकै सहयोगी हुनेछ । अर्थात यो परियोजना फोहोरबाट मोहर फलाउने आयोजना भन्दा अत्युक्ति हुदैन । अझ यो आयोजना निर्माणका क्रममा ६ करोड रुपैयाको तटबन्ध निर्माण समेत गरिने हुदा त्यसले नदी कटानको समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई ठूलो राहत पुग्नेछ ।
यद्दपि यो परियोजनालाई लिएर स्थानीय बासिन्दाहरुका गुनासा र आरोपको भने सुनुवाई हुन जरुरी छ । आयोजनाका सबै पक्षका विषयमा जानकारी नहुदा पनि भ्रमहरु फैलिएका छन् । उनीहरुका जायज माग सम्बोधन हुन जरुरी छ । यो आयोजनाले स्थानीय बस्तीमा दुर्गन्ध फैलिने उनीहरुको आरोप छ । स्थानीय बासिन्दासंग यस विषयमा घनीभूत छलफल,संवाद र सहकार्य हुन जरुरी छ ।
यो आयोजनाको निर्माण कुनै पनि बहाना र नाममा रोकिनु हुदैन । धनगढी उपमहानगरपालिकाका बासिन्दाका लागि यो आयोजनाको निर्माण हुनु ठूलो उपलब्धी मानिनेछ । यति ठूलो आयोजना जति सक्दो चाँडो निर्माण सम्पन्न हुनुमा धनगढीका बासिन्दाको हित छ ।