Close This

सुदूरपश्चिममा १९ पर्यटकीय गन्तव्य छनोट, खप्तडका लागि ५ करोड बिनियोजन

शुक्रबार कार्तिक १६, २०७५/ Friday 11-02-18
Paschim Today

धनगढी, १६ कार्तिक ।
सरकारले देशभरमा ओझेलमा परेका १ सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १ सय वटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । 
यी गन्तव्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । सरकारले छनोट गरेका गन्तव्यमा सुदूरपश्चिम प्रदेशबाट १९ वटा छनोट भएका छन् । जसमा स्थापित तथा प्रवर्दन गर्नुपर्ने गन्तव्यमा राखिएको छ ।
सुदूरपश्चिमबाट बाजुराको बडिमालीका, डोटीको खप्तड र शैलेश्वरी, अछामको रामारोशन, दार्चुलाको अपी–नाप्पा संरक्षण केन्द्र, बैतडीको त्रिपुरा सुन्दरी, कञ्चनपुरको दोधारा–चाँदनी तथा कैलालीको घोडाघाडी ताल, टीकापुर पार्क तथा भादा गाउँ होमस्टे पर्यटकीय गन्तव्य सुचीमा रहेका छन् । 
यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा बाजुराको कोल्टी–बुढीनन्दा–बढीमालिका पदमार्ग, बझाङको गोरखनाथ मन्दिर पैद मार्ग, डोटीमा बढीकेदार धार्मिक पर्यटकिय क्षेत्र, अछाममा सुर्यकोट धार्मिक पर्यटकीय क्षेत्र, दाचुर्लाको मालिकार्जुन, बैतडीको सिद्धनाथ उदयदेब धार्मिक स्थल पर्यटन रहेका छन् ।
यस्तै डडेल्धुरामा अमरगढी र उग्रतारा, कञ्चनपुरमा रौटेला झम्केली ब्रह्मदेव धाम धार्मिक विकास क्षेत्र र बन्दा ताल, कोटीहोम पर्यटकीय क्षेत्र, कैलालीको बर्दगोरिया मन्दिर धामलाई पर्यटकीय गन्तव्यको रुपमा छनोट गरिएको छ । 
नयाँ छनोट भएका भएका पर्यटकीय गन्तव्यहरु निजि क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्न योग्य बनाइने नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले बताए । उनले सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तव्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने बताए । नेपाल पर्यटन बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैया बिनियोजन गरेको छ ।
बुधबार बसेको पर्यटन बोर्डको बैठकले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैया छुट्याएको पर्यटन बोर्डका सदस्य महराको भनाई छ । पर्यटन बोर्डका सदस्य महराले पर्यटकहरुको सुबिधाका लागि बीचपानीमा २० जनाका लागि र खप्तड मुख्यालयमा १ सय जना अट्ने भवन तथा खाना खानका लागि भान्छा घर निर्माण गरिने बताए । उनले बीचपानी र मुख्यालयमा बास बस्ने तथा खाना खाने व्यवस्था नभएका कारण पर्यटकहरुले सास्तीखेप्नु परिरहेकोले बास बस्ने घर र भान्छा घर निर्माण गर्न लागिएको बताए । पर्यटन बोर्डका सदस्य महराका अनुसार प्रिफ्याव र स्थानीय काठबाट भवन निर्माण गरिनेछ । भवनको छाना भने टिनको रहनेछ ।
गत वर्ष २० हजार आन्तरिक पर्यटकले भ्रमण गरेको खप्तडमा गासबासको उचित व्यवस्था भए आगामि वर्ष ५० हजार भन्दा बढिले भ्रमण गर्ने पर्यटन बोर्डका सदस्य महराले विश्वास गरे ।