Close This

लखिमपुर–गौरीफन्टा सडकले आश जगायो

शुक्रबार कार्तिक १६, २०७५/ Friday 11-02-18
Paschim Today

भारतको लखिमपुर–गौरीफन्टा जोड्ने सडकको सांसद अजय मिश्र टेनीले उद्घाटन गरेसंगै धनगढीमा खुसी थपिएको छ । पलियामा रहेको राष्ट्रपति पार्कमा सांसद टेनीले सडकको शिलान्यास गरेसंगै काम थालनी भैसकेको छ । शिलान्यासपछि दुधुवा—डिगनिया चौराहा गौरीफन्टा हाल कायम रहेको सडकको चौडाइमा एक मिटर थप चौडाई हुनेछ ।  दुधुवादेखि गौरीफन्टासम्मको २० किलोमिटर सडक निर्माणमा करीव १७ करोड ८९ लाख भारतीय रुपैया ९२८ करोड ६२ लाख ४० हजार नेपाली रुपैया लाग्ने अनुमान गरिएको छ । लखिमपुरदेखि गौरीफन्टासम्म जोड्ने ६६ किमी सडकको निर्माणमा भने दुई सय ५१ करोड भारतीय रुपैया चार अर्ब एक करोड ६० लाख नेपाली रुपैया लाग्ने छ । चन्दन चौकी— सुडा र लखिमपुर–पलिया सडक चार लेनको निर्माण हुनेछ भने दुधुवा गौरीफन्टा जोड्ने हालको सडकभन्दा थप एक मिटर चौडा हुनेछ । सडक निर्माण कार्य २०१९ भित्र निर्माण पुरा हुनेछ । भारत सरकारले गरेको यो कार्यले यस क्षेत्रका बासिन्दा खुशी भएका छन् ।  गौरीफन्टा नाका बन्द गरिने हल्लाले धनगढी मृत सहरमा परिणत हुने त्रास थियो ।

गौरीफन्टा नाकासम्म जोड्ने सडकको स्तरोउन्तति हुने कुरोले अहिले सुदूरपश्चिम प्रदेशका बासिन्दाहरु हर्षित छन् । यसले केही नभए पनि प्रदेशको विकास हुने आश जगाएको छ । विभिन्न समयमा आउने फरक फरक अभिव्यक्तिले यस क्षेत्रका बासिन्दा सडक विस्तार नहुने तथा नाका नै बन्द हुने कुराप्रति निकै चिन्तित पनि थिए । गौरीफन्टालाई मुख्य नाका बनाउने कुरामा  दुधुवा नेशनल पार्क भित्र राजमार्ग बनाउनु पर्ने भएकाले भारतले विस्तार गर्दैन की भन्ने पनि चर्चा थियो । दुधुवा नेशनल पार्क वातावरणीय र बाघ लगायतका बन्यजन्तुको जैविक मार्गका दृष्टिकोणले अन्तर्राष्ट्रिय महत्वको पार्क हो । त्यसैले बन्यजन्तुलाई असर पुग्ने किसिमका संरचना र बन्यजन्तुलाई बिथोल्ने खालको ठूलो मार्ग निर्माण संभव हुन नसक्ने एकथरीको तर्क पनि थियो ।

यद्यपि यस सडकको स्तरोन्नतिको लागि भन्दै भारतको भ्रमणमा जाने नेपालका प्रधानमन्त्रीदेखि यस क्षेत्रका व्यापारीहरुले समेत कुरा उठाउँदै आएका थिए । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको हैसियतमा भारतको भ्रमणमा जाँदा नेपाल र भारतको प्रधानमन्त्री तहमा भएका महत्वपूर्ण सम्झौता मध्यको एउटा सम्झौता गौरीफन्टा नाकाको स्तरोउन्नती थियो । यो सम्झौता बुदा नं ३३ मा रहेको थियो ।  दुई देशका प्रधानमन्त्री तहमा भएको सम्झौता अहिले कार्यान्वयन भएको छ । यस सडको निर्माण तथा विस्तारले पूर्णता पाउनुपर्छ । यो नाकाको स्तरोन्नतिले मात्रै यस प्रदेशको समृद्धिमा सहयोग पुग्न सक्छ । यसका साथै अन्य सम्भावनाका नाकाहरु समेत विस्तार गर्नुपर्छ । गौरीफन्टा नाकाको स्तरोन्नतीका साथै धनगढी, दीपायल ताक्लाकोट सडकलाई निर्माण गर्न सकेमा यसले यो प्रदेश चिन र भारतको ट्रान्जिट बन्न सक्छ । यसका लागि प्रदेश सरकारले अगुवाई लेओस् ।