Close This

गुमनाम समाजसेवी : केएफ नाहाटा

शनिबार कार्तिक १७, २०७५/ Saturday 11-03-18
Paschim Today

दीर्घराज उपाध्याय 

५० को दशकमा सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरको आर्थिक अवस्था यति नाजुक थियो कि शिक्षकहरुले तलव खान पाउने अवस्था हुदैनथ्यो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष भने शिक्षकलाई निराश हुन दिदैनथे । उनी व्यक्तिगत खाताबाट चेक काटेर शिक्षकलाई तलव खुवाउथे । उनी थिए, केएफ नाहाटा । कञ्चनपुरको शैक्षिक र सामाजिक क्षेत्रमा ठूलो योगदान पु¥याएका केएफ नाहाटाको पुरा नाम हो, किसन लाल फत्तेचन्द नाहाटा ।
२००६ सालमा झापाको भद्रपुरमा जन्मिएका केएफ नाहाटा परिवारका माहिला सन्तान हुन् । उनीभन्दा जेठा एक दाई थिए । र उनीपछि दुई भाई र पाँच बहिनीहरु । बुवा फत्ते चन्द नाहाटा व्यापारी थिए । उनको खाद्य उद्योग थियो । आमा प्रतापीदेवी नाहाटा गृहणी थिईन । घर सम्हाल्थिन । ठूलो परिवार भएपनि व्यवसाय राम्रै चलेकोले आर्थिक कठिनाई थिएन ।


उनी पाँच वर्षका थिए । पिताजीले उनलाई घर नजिकैको बुद्ध प्राविमा भर्ना गरि दिए । तीन कक्षासम्म त्यही पढे । थप पढाईका लागि उनी पुगे पुख्र्यौली थलो राजस्थान । आमासंगै बसेर उनले माध्यामिक तहको पढाई पुरा गरे । त्यसपछि उनी मुम्बई पुगे । त्यहाँ उनले ईन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्सीबाट पढाई पुरा गरे । चार वर्षे सिएको पढाई सकेर सन १९७४ मा झापा फर्किए । 
भद्रपुर व्यापारिक क्षेत्र थियो । व्यापार राम्रो चलेको थियो । तर पूर्वपश्चिम राजमार्ग बिर्तामोड भएर काकडाभिट्टा पुग्यो । त्यसपछि भने भद्रपुरको व्यापार ओरालो लाग्यो । र चम्कियो, बिर्तामोड । भद्रपुरका राईस मिलहरु धमाधाम बन्द हुन थाले । केही समयमै १५ भन्दा बढि राईस मिल बन्द भए । बन्द भएका तीनै मध्येको एक राईस मिल थियो, फत्तेचन्द नाहाटाको ।
महेन्द्रनगरमा व्यापार राम्रो फष्टाउदै गरेको खवरले फत्तेचन्द नाहाटा २०३६ सालमा सपरिवार हानिए, सुदूर पूर्वबाट सुदूर पश्चिम । महेन्द्रनगरमा उनले व्यापार शुरु गरे । राईस मिलमा उनका पिताजीको अनुभव थियो । त्यही अनुभव महेन्द्रनगरमा काम लाग्यो । सुडामा राईस बैजनाथ राईस मिल शुरु गरे । दुई वर्षमा व्यापार राम्रो भयो । महेन्द्रनगर बजारमा हार्डवेयर व्यवसाय पनि थाले ।
सेठ फत्तेचन्द नाहाटा कैलाली र कञ्चनपुरमा चलेको नाम थियो । उनका पिताजी व्यापार गर्थे । केएफ नाहाटा भने व्यापारसंगै समाजसेवामा पनि सक्रिय भए । सरल र सहज स्वभावका कारण उनी सबैका प्रिय थिए । सबैले उनलाई विश्वास गर्थे । त्यही विश्वास र भरोसाका कारण उनको नेतृत्वमा महेन्द्रनगरमा थुप्रै शैक्षिक र धार्मिक संस्थाले फड्को मारे ।


जसमध्यको एक थियो, सिद्धनाथ बहुमुखी क्याम्पस । ५० को दशकमा सिद्धनाथ बहुमुखी क्याम्पस आर्थिक कठिनाई झेलिरहेको थियो । विद्यार्थी त थिए । तर शुल्क नउठ्दा शिक्षकलाई खुवाउन तलव पुग्थेन । क्याम्पसको अवस्था अत्यन्त नाजुक थिए । उनले कठिनाईलाई अवसरमा बदले । क्याम्पसको अनावश्यक खर्च कटौती गरे । शुल्क उठाउन कम्मर कसेर लागे । विद्यार्थीहरुसंग आग्रह गरे । शुल्क धमाधाम उठ्न थाल्यो ।
उनको नेतृत्वमा क्याम्पस सञ्चालक समिति र शिक्षकहरुबीच सौहार्द सम्बन्ध बन्यो । क्याम्पसको पढाईमा पनि सुधार भयो । विद्यार्थीको संख्या पनि थपियो । 
क्याम्पसको आम्दानीले समयमा तलव खुवाउन नसक्ने अवस्थामा आफ्नै चेक काटेर शिक्षकहरुलाई तलव खुवाउन उनी पछि परेनन । उनी सोच्थे, शिक्षकले समयमा तलव नपाए, क्याम्पसको पढाई कसरी राम्रो हुन सक्छ  ?
विस्तारै शिक्षकलाई तलव खुवाउन सक्ने अवस्था भयो । क्याम्पस हाताभित्र छात्रवास निर्माण गरे । आफ्नै निजी लगानीमा भान्छा घर निर्माण गरे । स्ववियु भवन बनाए । 
उनले दुई कार्यकाल क्याम्पसको नेतृत्व गरे । र ६ वर्षको त्यो अबधिमा उनले सिद्धनाथ बहुमुखी क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक अवस्थामा कायापलट गरे ।
उनले सोही अबधिमा दुई कार्यकाल सिद्धनाथ विज्ञान क्याम्पसको सञ्चालक समितिमा रहेर काम गरे । 

५० को दशकमा उनी कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष भए । सोही अबधिमा पनि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि चयन भए । उनी जिल्लाका हरेक संस्थामा सर्वसम्मत रुपमा चयन हुन्थे । 

उनकै नेतृत्वमा २०५० सालमा राष्ट्रिय बाल विद्यालयको स्थापना संभव भयो । १० जना विद्यार्थीबाट शुरु गरेको विद्यालयमा अहिले तीन सय बढि विद्यार्थी अध्ययनरत छन् । 
उनले कञ्चन विद्या मन्दिरको अध्यक्ष भएर पनि काम गरे । जतिबेला उनले कञ्चन विद्या मन्दिरको नेतृत्व सम्हाले,त्यतिबेला विद्यालयको आर्थिक अवस्था नाजुक थियो । शिक्षकले मासिक रुपमा तलव खान पाईरहेका थिएनन । उनले जिम्मेवारी सम्हालेपछि विद्यालयको अवस्था क्रमशः सुधार हुदै गयो । उनी जुन संस्थाको नेतृत्व गर्थे । अनावश्यक खर्च कटौती उनको पहिलो काम हुन्थ्यो । 
विद्यालयमा आफ्नै लगानीमा भान्छा घर निर्माण गरे । शुल्क उठाए । सहयोग जुटाए । विद्यालयको अवस्थामा सुधार ल्याए । उनको ध्यान भौतिक पूर्बाधार विकाससंगै विद्यालयको गुणस्तर बृद्धिमा बढि केन्द्रित हुन्थ्यो ।
उनी विद्यालय भित्र राजनीति हुन दिदैनथे । यद्दपि उनी सबै दलका प्रिय थिए । उनको झुकाव कुनै दलतिर थिएन । तटस्थ थिए । उनी आर्थिक बिबादमा कहि मुछिएनन । पारदर्शी थिए । लोभ लालच थिएन । त्यही कारण पनि उनी सबैका विश्वास पात्र थिए । 
र उनी लामो समय कुनै एउटै संस्थामा बसेनन । बढिमा दुई कार्यकाल काम गरे । विद्यालयको अवस्थामा सुधार गरे । जिम्मेवारी हस्तान्तरण गरे । यस कारण पनि उनी आलोचनाबाट टाढा रहे ।  कञ्चन विद्या मन्दिरको अवस्था सुधार गरेपछि उनले त्यहाँको जिम्मेवारी पनि हस्तान्तरण गरे ।
उनले बैद्यनाथ माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा रहेर काम गरे । उनी रेडक्रस सोसाईटीका आजिवन सदस्य थिए । 


लायन्स क्लव अफ महाकाली उनकै पहलमा स्थापना भयो । यद्दपि उनले उनी अध्यक्ष भएनन । हिक्मत बहादुर सिंह अध्यक्ष भए । उनी सदस्य । पछि उनले अध्यक्ष भएर समेत काम गरे ।
महाकाली अञ्चल अस्पताल विकास समितिको सदस्यका रुपमा पनि उनले एक कार्यकाल काम गरे ।
ऋषिराज लुम्साली र मदनराज पाठकसंग मिलेर उनकै अग्रसरतामा भाँसीमा शिव मन्दिरको स्थापना भयो । 
विष्णु मन्दिरमा उनकै नेतृत्वमा ठूलो यज्ञको आयोजन संभव भयो । जसमा योगी नरहरी नाथ पनि सहभागी भएका थिए ।
व्यापार र आम्दानीमा नाम चलेका अरु पनि थिए । समाजसेवा र शिक्षा क्षेत्रमा केएफएम नाहाटा महेन्द्रनगरमा चलेको नाम थियो । कही कुनै धार्मिक  र शैक्षिक कार्य गर्नुपर्दा सबैभन्दा पहिले उनलाई सम्झिन्थे । उनी सरल थिए । नाई भन्न सक्दैनथे । उनीसंग आस गरेर आउनेलाई कहिले निराश बनाएनन ।
मुलुकमा माओवादी द्धन्द चरमोत्कर्षमा थियो । माओवादी कार्यकर्ताहरुले उनलाई चन्दाका लागि दवाव दिन थाले । दिनहु आतंकित गर्न थाले । मागेजति चन्दा नदिए ज्यानै लिने धम्की आउन थाल्यो । उनीसंग माग गरिएको रकम दिनसक्ने ल्याकत थिएन । दिनहु धम्की र आतंकले मानसिक तनाव झेल्नु भन्दा उनले चुपचाप महेन्द्रनगर छोड्ने निधो गरे । २०६१ सालमा महेन्द्रनगर बजारको घर, राईस मिल सबै बेचबाच गरेर धनगढी आए । 
धनगढी आएपछि उनले व्यापार गरेनन । राइस मिल चलाएनन । र समाजसेवामा त उनी कहि देखिएनन । उनको अनुभवले भन्यो, चुपचाप आफ्नो काम गर । र उनले त्यही गरे ।
अनुभव भन्दा अर्को ठूलो शिक्षक छैन । अनुभव ठूलो कि शिक्षक ? प्रश्न उठ्न सक्छ । विद्यालय टेक्नेले शिक्षक भन्ला ? विद्यालय नै नदेखेको व्यक्तिका लागि उसको अनुभव नै उसको शिक्षक हो । जसले उसलाई मार्ग देखाउछ । अघि बढ्न सिकाउछ ।
र कहिलेकाही विद्यालय टेकेको व्यक्तिका लागि पनि उसको अनुभव उसको शिक्षक हुदो रहेछ । केएफ नाहाटाको जिन्दगीमा त्यही भयो । कञ्चनपुरका सक्रिय समाजसेवामा लागेर पाएको सजायको अनुभवले उनलाई मौन बस्न अह्रायो । सबै श्रीसम्पत्ती बेचेर धनगढी आएपछि उनी व्याक बेञ्चर भए । व्यापार छोडे । शिक्षा यस्तो चिज हो, जो विपत्तिमा कोही साथ नहुदा पनि साथ दिन्छ । व्यापार गर्न पनि पढ्न पर्छ सायदै त्यसैले भन्छन होला । 
भारतको मुम्बईमा पढेको चार्टड एकाउटेन्सी शिक्षा उनको अप्ठ्यारो अवस्थामा काम लाग्यो । धनगढीका मारवाडी र अन्य ठूला व्यापारीसंग उनको पुरानो चिनजान थियो । त्यही चिनजान यहाँ काम लाग्यो । उनले के एफए नाहाटा एण्ड कम्पनी स्थापना गरे । र अडिटको काम शुरु गरे । पैसाकै लागि उनी सबैको काम लिदैनन । र उनले सयभन्दा फर्मको अडिट गर्छन । त्यो भन्दा एक फर्म पनि उनले थपेनन । यद्दपि उनलाई आफ्नो फर्मको अडिट गरिदिन आग्रह गर्नेहरुको कमि छैन । कर कार्यालयले पनि उनले गरेको अडिटमा कमजोरी पाउदैन । किनकी उनी आफ्नो काममा निपूर्ण मात्र छैनन । ईमान्दार पनि छन । त्यही ईमान्दारिता उनलाई कठिन अवस्थामा जोगाउन साधन बन्यो । 
उनी कामलाई पूजा गर्छन । र त क्यान्सरले थला परेको समयमा पनि उनले काम गर्न छाडेनन । अहिले आराम गर्नु पर्ने बेला पनि उनी घरबाटै सबै फर्मको काम हेरिरहेका छन् ।
५० को दशकमा सिद्धनाथ बहुमुखी क्याम्पसमा अर्थशास्त्र पढाएका धनगढीस्थित नाष्ट कलेजका  प्राचार्य शिवभरी मुडभरी भन्छन्, केएफ नाहाटा त्यो व्यक्ति हुन्, जो शिक्षकले तलव खान नपाउदा आफ्नो चेक काटेर तलव खुवाउथे । सिद्धनाथ बहुमुखी क्याम्पसको प्रगतिमा उनको ठूलो योगदान छ ।

 

क्यान्सरसंग जुध्दै 
उनी बिगत डेढ वर्षदेखि क्यान्ससंग जुधिरहेका छन् । त्यो पनि एउटा होईन, दुई वटा क्यान्सरसंग । प्यांक्रियाज र प्रोस्टेटको । मान्छे एउटा क्यान्सरले गल्छ । तर उनको आत्मविश्वासका अगाडि क्यान्सर गलेको छ ।
उनी डाक्टरले भनेको कुरा सम्झिन्छन्,तपाईको आयु बढिमा ६ महिना छ । तर डाक्टरले यसो भनेको १४ महिना बितिसक्यो । 
जन्मपछि मृत्यु निश्चित छ । कतिपय मान्छे जिन्दगी बाँच्दैनन । मृत्यु पर्खिदै मर्छन, पलपल । र कतिपय मान्छे मृत्यु अघि नै मर्छन । नजिकबाट मृत्यु देखेका उनी अरु झै मृत्युबाट डराएनन । उनी जिन्दगी बाँचे । बरु सन्निकट मृत्यु पछाडि धकेले । 
मनिषा कोईराला ठिक हुन सक्छिन भने म किन हुन सक्दैन । उनले मनमनै ठाने । किमो चढाउदा चढाउदै क्यान्सरबाट ग्रसित व्यक्ति थाक्छन । गल्छन । २८ किमो चढाउदा पनि उनी गलेनन । थाकेनन । र खाएनन हरेश । त्यो अग्लो कद । बलिष्ठ ज्यान । ८४ किलोको त्यो खाईलाग्दो जिउ । उपचारकै क्रममा उनको तौल ४० किलोमा झरेको छ । चिन्नै नसकिने गरी अनुहार र जिउ सुकेको छ । शरीरमा छाला होईन, हड्डी मात्र छ । तर सबै भन्दा ठूलो कुरा उनीसंगै अझै बाँकी छ । त्यो हो, हिम्मत ।
उनी त्यही हिम्मतका कारण बाँचेका छन् । १४ महिनादेखि दिल्लीको एम्समा उपचार गराईरहेका केएफ नाहाटा विस्तारै तंग्रिदैछन् । उनको हिम्मत डगमगाएको छैन । सुनाउछन्, पछिल्लो रिपोर्टले क्यान्सर  निको भएको देखाएको छ । अव पोषिलो खाना खाएपछि पुरानै अवस्थामा फर्किनेछु ।
४६ वर्षअघि राजस्थानकी मञ्जु नाहाटासंग बिबाह गरेका केएफका एक छोरा र एक छोरी छन् । दुबैको सन्तानको बिहा भईसकेको छ । भरतपुर चितवनबाट एमवीवीएस गरेका छोरा पंकज दिल्लीको एम्समा एमडी गरिरहेका छन् । क्यान्सर रोगबाट ग्रस्त भएपछि छोरा पंकज आफ्नो एमडीको पढाई थाँती राखेर एक वर्षदेखि बुवाको सेवामा खटिएका छन् । उनकी पत्नी मञ्जु त उनको छाया जस्तै छन् । जो दिनरात नभनी उनको साथमा छिन् । उनको उपचारमा डाक्टरको उपचार जत्तिकै उनकी पत्नी मञ्जुको साथ औषधीको भन्दा कम छैन ।