Close This

मिसन साईपाल र दुस्साहसी भोजराज

शनिबार कार्तिक १७, २०७५/ Saturday 11-03-18
Paschim Today

दीर्घराज उपाध्याय
७ हजार ३१ मिटर अग्लो साईपाल । त्यही साईपालमा चढेर ईतिहास रच्ने उत्कण्ट चाहना । त्यही चाहनालाई एउटा नाम दिईएको छ, मिसन साईपाल । जसका अगुवा हुन्, सञ्चारकर्मी भोजराज भाट ।
द्धन्दको समयमा कहिले माओवादीका शिविरभित्र नसोधेर घुस्ने र कहिले लडाईका बीच रिपोर्टिङ गर्न खटिने छविले उनले निडर पत्रकारको पहिचान बनाए । त्यो पहिचान विस्तारै डकुमेन्ट्री मेकरमा परिणत भयो । उनले अब्बल मानिएका अनुभवी र खारिएका डकुमेन्ट्री मेकरलाई मात गर्दै सुनकली बनाए । तीन दर्जन भन्दा बढि अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि उनको धीत मरेन । 


उनी दुस्साहसी छन् । अरुले बिरलै गर्ने कार्य गर्न उनी रुचाउछन । अलिकति अराजक जस्तो । अलि बढि आटिला । 
मिसन साईपाल उनको त्यही दुस्साहसी सपना हो । विश्वविख्यात आरोहीहरुसंगै बझाङी चार चेलीलाई साईपाल आरोहण गराउने सपना । यो उनको निजी सपना लाग्ला कतिपयलाई । तर भाटको यो निजी जस्तो लाग्ने सपना पुरा भएमा त्यसले सुदूर पश्चिम प्रदेशलाई विश्वभरी चिनाउने छ ।


बिरलै सुनिने साईपाल र मुस्किलले यदाकदा त्यसमा टेक्न औंलागाड पुगेर निराश भएर फर्किनेहरुलाई एउटा सन्देश दिनेछ, साईपाल आरोहण कठिन छ । असंभव होईन ।
मिसन साईपाल असफल हुनुको अर्थ अर्को मिसन थाल्न अझै धेरै वर्ष लाग्नेछ । किनकी अन्तर्राष्ट्रिय पर्वतारोहीलाई मुस्किलले जुटाएका हुन्, भाटले ।
र यो मिसन पुरा गर्न उनले जिन्दगीकै सबैभन्दा ठूलो जोखिम मोलेका छन् । काठमाण्डौंबाट धनगढी आउदै गर्दा उनी सुनाउदै थिए,पैसा छैन । कसरी मिसन पुरा गर्ने । 
पैसाकै अभावले उनको टोली दुई दिन ढिलो काठमाण्डौंबाट हिड्यो । यद्दपि उनको मिसन रोकिएन । 


सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलाई उनले पटक पटक भेटे । मिसन साईपालमा सहयोग गर्न आग्रह गरे । तर उनको यो अभियानमा कहीबाट सहयोग भएन । करोड रुपैया भन्दा बढि लाग्ने मिसनका लागि उनलाई केही गाउपालिका र नगरपालिकाले केही लाख सहयोग गरेका छन् । जुन रकम हात्तीको मुखमा जिरा हो । उनी टीकापुरमा रहेको आफ्नो जग्गा बेचेर भएपनि मिसन साईपाल पुरा गर्ने अठोट सुनाउदै थिए ।


आफूलाई पर्यटनकर्मी भन्न रुचाउने । सुदूरपश्चिमको पर्यटनका लागि काम गर्छौ भनेर फुर्ती गर्नेहरु कहाँ पनि उनी पुगे । उनले आफ्नो मिसन सुनाए । तर सबैले सुने मात्र । सुन्ने बाहेक केही गरेनन । फेरि पनि उनले हरेश खाएनन ।  
२१ आरोही, झण्डै सयको हाराहारीमा भरिया । आठ दिनदेखि औंलागाड बेस क्याम्पमा छन् । 


र उनको टीमले हरपल साईपालको चुचुरोमा टेक्ने कोशिस गरिरहेको छ, बेसक्याम्पबाट फर्किएका पत्रकार बसन्तप्रताप सिंहले भने, प्रतिकुल मौसम,ठाडो र कठिन साईपाल चढ्न भने निकै कठिन छ । 
मिसन साईपाल पुरा भएमा साईपाल हिमालसंगै सुदूरपश्चिम अन्तर्राष्ट्रिय स्तरमा चिनिनेछ,भाट भन्छन्, सुदूरपश्चिमको पर्यटन प्रबद्र्धनमा यो कोशेढुंगा सावित हुनेछ ।

 

कतिदिन लाग्छ बेस क्याम्प पुग्न ?
बझाङको सदरमुकामबाट एक दिनमा तलकोट गाँउपालिकाको कुवा दोस्रो दिन त्यहाँबाट साईपाल गाँउपालिकाको काकरकोट ।  काकरकोटबाट तेस्रो दिनमा दोतले । र दोतलेबाट चौथो दिन साईपालको बेसक्याम्प औंलागाड । चौथो दिन चाँडै औंलागाड पुगिन्छ ।