Close This

समयमै कार्य सम्पन्न गर्ने ठेकेदारलाई पुरस्कार दिन्छौं – अध्यक्ष प्रचण्ड

शनिबार कार्तिक १७, २०७५/ Saturday 11-03-18
Paschim Today

बुटवल १७ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उनले  गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको समेत बताए ।

उनले भने “बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको छ ।” विमानस्थल निर्माणको कार्य सन्तोषजनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने रहेको उनको भनाइ थियो ।

सो अवसरमा आयोजनाका अधिकृत प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पार्दै ५५ प्रतिशत काम सम्पन्न भएको बताएका थिए ।

अध्यक्ष दाहालसँगै नेकपा महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री छविलाल विश्वकर्मा, पूर्वसभामुख ओनसरी घर्तीसहित, प्रदेश सरकारका मन्त्री भैरहवा पुगेका हुन् ।

नेपालीको मुख्य पर्व विजयदशमी, दीपावली, छठ, नेपाल संवत्का अवसरमा नेकपाद्वारा आज बुटवलमा आयोजना गरिने शुभकामना कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस