Close This

‘चाडपर्वले नेपालीहरु एकताको सूत्रमा’

सोमबार कार्तिक १९, २०७५/ Monday 11-05-18
Paschim Today

धनगढी, १९ कात्तिक । 
पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले नेपालमा मनाइने चाडपर्वले हरेक नेपालीलाई एकताको सूत्रमा बाँधेको बताएका छन् । 
    नेकपा निकटको नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीले दसैं, तिहार तथा छठ पर्वको अवसरमा आइतवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले यस्तो बताए । नेता रावलले नेपाल सांस्कृतिक रुपमा सम्पन्न भएको देश रहेकाले सबैले यसमा गौरव गर्न सक्नु पर्ने उल्लेख गरे । 
    ‘हामी जहाँ बसे पनि, जुनसुकै भाषा बोले पनि एकताको सूत्रमा बाँधिएका छौं’, उनले भने–‘चाडपर्वले राष्ट्रिय परिवेशलाई बलियो बनाएको छ ।’ नेता रावलले देशलाई कमजोर बनाउने प्रवृति अहिले पनि रहि रहेको बताए । ‘मुलुक कमजोर भयो भने कसैको पनि समृद्धि हुँदैन’, उनले भने । 
    सम्पूर्ण नेपालीहरुलाई एकताको चाड मनाउन आग्रह गर्दै नेता रावलले एकतामा नै सबैको समृद्धि रहेको विश्वास व्यक्त गरे । अचेल चाडपर्वमा विकृति पनि देखा परिरहेको उल्लेख गर्दै उनले त्यस्ता विकृति हटाउन आवश्यक रहेको बताए । 
    एक छुट्टै प्रसङ्गमा नेता रावलले विदेशीलाई नागरिकता दिनका लागि संविधान संशोधनको कुनै औचित्य नरहेको बताए । उनले भने–‘हाम्रो संस्कृतिलाई बलियो बनाउँछ भने संशोधन गर्न सकिन्छ । तर, विदेशीलाई नागरिकता दिनका लागि संविधान संशोधन हुँदैन ।’ उनले संविधान संशोधन गर्न सकिने तर सवाल के, त्यो स्पष्ट हुन आवश्यक रहेको बताए । 
    ‘संविधान संशोधन गरेर जो–जो आउँछ, त्यसलाई नागरिकता दिने हो भने हाम्रो सांस्कृतिक पहिचान मासिन्छ’, रावलले अगाडि थपे–‘त्यसैले यस्तो संविधान संशोधन हुन सक्दैन । सबैले यसको विरोध गरौं ।’
    संविधान संशोधन के को लागि भन्ने सवालमा आफू नै अनविज्ञ रहेको उनके भनाइ थियो । नेता रावलले अगाडि थपे–‘मुलुक टुक्रयाउने एजेण्डा निर्वाचनबाटै अस्वीकृत भइ सक्यो । अब संविधान संशोधन केको लागि त्यौ मैले नै बुझेको छैन ।’ 
    मुलुकलाई फेरी पनि राजनीतिक अस्थिरतातिर कसैले धकेल्ने प्रयास गर्छ भने त्यो विकासको बाधक हुने उनको भनाइ थियो । मुलुकको केन्द्रदेखि प्रदेशमा नेकपाको बहुमतको सरकार रहेकाले जनताको भावना अनुसार काम गर्ने रावलले बताए । ‘प्रदेश नम्बर २ मा पनि हाम्रो पार्टी नै सबैभन्दा ठूलो छ’, उनले भने । 
    दुई ठूला पार्टी एक भएपछि कतिपय कुरा मिलाउन, कतिपय सच्याउनमा केहि समय लागेकाले सरकारबाट जनता अहिले नै निराश हुनु पर्ने अवस्था नरहेको रावलले बताए । चियापान कार्यक्रममा कविता वाचन गर्दै आफ्नो मन्तव्यको सुरुवात गरेका नेता रावलले निर्मला बलात्कार र हत्या काण्डको छानविनमा सरकार गम्भीर भएर लागेको बताए । 
    ‘नेपालमा यो नै एउटा पहिलो इतिहास हो, जसको अनुसन्धानका लागि सरकारको गृहमन्त्रालयले पटक–पटक छानविन समिति गठन गरेको छ । डीआइजीको नेतृत्वमा छानविन भएको छ’, उनले अगाडि थपे–‘तर, सरकारले केहि गरेन भन्नु र हाम्रो पार्टीमाथि आक्रमण गर्नु पटक्कै राम्रो होईन ।’
    निर्मला हत्या काण्डमा सरकारले गरिरहेको प्रयासलाईलाई ओझेलमा पार्ने प्रयास कसैबाट भइरहेको नेता रावलको दावी थियो । उनले भने–‘यहि घटनामा प्रहरी अधिकृत बरखास्त भएका छन् । धेरै मान्छेको डीएनए टेस्ट गरिएको छ । के यो सरकारले केहि गरेको होईन ?’ 
    अपराधि जस्तोसुकै शक्तिशाली भए पनि त्यसलाई कारबाही गर्ने सरकार र आफ्नो पार्टी नेकपाको दृढ धारणा रहेको रावलले बताए । यसैगरी, उनले नयाँ परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरुले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा बनाउने निर्णयको विरोध गरिरहेको बताए । 
    ‘केहि ठाउँमा बाघ आउने बाटो भएको भनेर समाचार पढेँ । कसै–कसैले पहिरो नै जान्छ भनेर हाँस्यस्पद् प्रचार गरेका रहेछन्’, उनले भने–‘राजधानी बनाउने ठाउँमा न बाघ आउँछ । न त बुट्यान बाहेक ठूला रुख नै छन् ।’ नेता रावलले कैलालीमा हजारौं बिघा जमिन अनाधिकृत रुपमा कब्जा भए पनि त्यसको विरोध कसैले नगरेको उल्लेख गरे । 
    सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले यो प्रदेशमा नेकपा पार्टी छिट्टै नै एकीकृत हुने बताए । यस्तै, उनले प्रदेशमा व्याप्त शिक्षकहरुको समस्या पनि समाधान गर्न आवश्यक रहेको उल्लेख गरे । 
    ‘हामीले अहिले पनि सामुदायिक विद्यालयको समस्याहरुलाई समाधान गर्न सकेका छैनौ’, मन्त्री सोडारीले भने–‘हाम्रो प्रदेशको शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने सवालमा सबै सल्लाह अनुसार हामी अगाडि बढ्नेछौं ।’