Close This

आउँदो माघबाट स्वरोजगार कार्यक्रम

सोमबार कार्तिक १९, २०७५/ Monday 11-05-18
Paschim Today

धनगढी, १९ कात्तिक ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आउँदो माघबाट प्रदेश सरकारले स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । 
    धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी प्रालिको आयोजनामा भएको १० दिने प्रशिक्षक प्रशिक्षण तालिमको समापन अवसरमा उनले सम्भवतः माघ अन्तिमबाट प्रदेश सरकारले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले लागू गर्न लागेको यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा आफूले एक अर्ब रुपैयाको स्वरोजगार कोष खडा गरेको मन्त्री बोहराले जनाए । 
    ‘सरकारले तालिम प्राप्त युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराएर व्यवसायमा अग्रसर गराउनेछ’, उनले भने । युवालाई स्वरोजगार बनाउनका लागि कार्यक्रममार्फत ढाईदेखि ३ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने मन्त्री बोहराको भनाइ थियो । 
    उनले कुनै पनि व्यवसायमा सफलता प्राप्तीका लागि मिसन र भिजनका साथ लाग्न समेत युवाहरुलाई आग्रह गरे । आफ्नै उदाहरण दिदैं मन्त्री बोहराले अगाडि थपे–‘म पनि मुम्बईमा चौकीदारी गर्ने निम्न परिवारबाट यहाँसम्म आएको व्यक्ति हुँ ।’ उनले कुनै पनि काम गर्दा त्यसलाई सानो ठान्न नहुने बताए । मन्त्री बोहराले उद्यम गर्नका लागि अटुट प्रतिबद्धता हुनु पर्ने र आफ्नो क्षमतानुसार नै उद्यम गर्नु पर्नेमा जोड दिए । 
    सोही कार्यक्रममा बोल्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्तले विकासको खुड्किलो उद्यमशिलता रहेको बताए । उनले उद्यमशिलता नरहेकै कारण नेपालमा प्राकृतिक स्रोत भए पनि विकास हुन नसकेको उल्लेख गरे । 
    ‘आफ्नो व्यवसाय सुरु तथा सुधार गर्नुहोस’ भन्ने मान्यताका साथ प्रशिक्षक प्रशिक्षण तालिम दिइएको थियो । तालिममा ४० जना युवाहरुको सहभागिता रहेको धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजीका कार्यकारी निर्देशक महेश चौधरीले जानकारी दिए ।