Close This

शुक्लाफाँटाका पाँच विद्यालयमा न्यून विद्यार्थी

शनिबार कार्तिक २४, २०७५/ Saturday 11-10-18
Paschim Today

कञ्चनपुर, २४ कात्तिक । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पाँच विद्यालयमा न्यून विद्यार्थी रहेका छन् । आधारभूत तहका कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा १८ देखि ४४ सम्म विद्यार्थी अध्ययनरत छन् । शिक्षकको सङ्ख्या भने पाँचभन्दा बढी रहेको छ । एक शिक्षक बराबर ५० विद्यार्थी एउटा कक्षामा हुनुपर्नेमा पुरै विद्यालयमा बढीमा ४४ मात्रै विद्यार्थी छन् । 

नगरपालिका शिक्षा शाखाको तथ्याङ्कअनुसार मिलन आधारभूत विद्यालयमा २५, त्रिमूर्ति आधारभूत विद्यालयमा ३१, जनचेतना आधारभूत विद्यालयमा ३६, दीपनगर आधारभूत विद्यालयमा ४४ र श्रीराम आधारभूत विद्यालयमा ३० मात्रै विद्यार्थी रहेका छन् । विद्यालय नजिकै निजी विद्यालय खोल्ने क्रम बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका हुन् । 

अभिभावकको निजी विद्यालयप्रतिको बढ्दो आकर्षण घटाउनका लागि गुणस्तरमा ध्यान दिइनुपर्ने, खाजाको व्यवस्था गरिनुपर्ने र नियमित अनुगमन गरिनुपर्ने शिक्षक खड्क साउदले बताउनु्भयो । न्यून विद्यार्थी रहेका विद्यालयलाई समायोजनमा लैजानका लागि प्रक्रिया अगाडि बढाइने शिक्षा शाखाका प्रमुख देवदत्त पन्तले बताउनुभयो । 

शिक्षा ऐनको दफा १२ को (क)मा भएको व्यवस्थाअनुसार पूर्वाधार कायम नभएका, अधिकांश कक्षामा नियम ७७ बमोजिम विद्यार्थी सङ्ख्या नभएको र दुई वा दुईभन्दा बढी विद्यालय व्यवस्थापन समितिले एउटै विद्यालयका रूपमा सञ्चालन गर्न संयुक्त निवेदन दिएमा समायोजन गर्न सकिने व्यवस्था रहेको छ । 

कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै छ उहाँले भन्नुभयो, “शिक्षक दरबन्दी न्यून छ । कुनैमा विद्यार्थी न्यून छन् । शिक्षक धेरै छन् । दरबन्दी र शिक्षकको अनुपात मिलाउनका लागि न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजनमा लैजानु नै उपयुक्त देखिन्छ ।” शिक्षा ऐन आएपछि सबै प्रक्रिया अगाडि बढाइने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक शिवराज पनेरुले बताउनुभयो । (रासस)