Close This

नियमित एआरटी खाँदै एचआइभी संक्रमित

मंगलबार कार्तिक २७, २०७५/ Tuesday 11-13-18
Paschim Today

डोटी, २७ कार्तिक ।

डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । 
नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ । औषधि सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफूहरु लगातार रुपमा एआरटी नामक औषधि खान थालेको एआरटी औषधि खाइरहेका संक्रमित एक युवाले बताए । उनले भने, “जानअन्जानले गल्ती भयो, सहज जीवनयापन का लागि औषधि खान थालेको छु ।”
आर्थिक वर्ष २०७४÷७५ सम्ममा एचआइभी÷एड्सले डोटीमा १११ को ज्यान गएको जिल्ला अस्पताल डोटीले जनाएको छ । आर्थिक वर्ष २०७१÷७२ मा एचआइभीले मृत्यु हुनेको सङ्ख्या ८७  रहेकोमा आर्थिक वर्ष २०७३÷७४ मा ९४ पुगेको थियो । जिल्लाका ९३१ संक्रमितमध्ये ७१५ ले एआरटी सेवन गरिरहेको जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीले जानकारी दिए । 
आर्थिक वर्ष २०७१÷७२ मा एआरटी सेवन गर्ने ४३१ थिए । आव २०७२÷७३ मा सो संख्या ५१२ पुग्यो । डोटीमा खासगरी कामको सिलसिलामा भारत जाने पुरुषले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कका कारण उनीहरुबाटै एचआइभी संक्रमण हुने गरेको सो क्षेत्रमा काम गर्ने संस्था बताउँछन् । 
संक्रमितबाट तिनका श्रीमतीसमेत संक्रमित हुने हुँदा तिनका सन्तानम समेत त्यसको असर परेको बताइन्छ । सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली तथा डोटीमा एचआइभी संक्रमितको सङ्ख्या अरु जिल्लाभन्दा बढी भएको सरोकारवालाको भनाइ छ । रासस