Close This

नेपाल–भारत नाकासम्म सडक विस्तार 

मंगलबार कार्तिक २७, २०७५/ Tuesday 11-13-18
Paschim Today

धनगढी, २७ कार्तिक ।
कैलालीमा पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि नेपाल–भारत सीमासम्म जोडिने सडकहरु धमाधम निर्माण हुन थालेका छन् ।
महेन्द्र राजमार्गदेखि नेपाल–भारत सीमासम्म जोड्ने उत्तर–दक्षिण ५ वटा सडक निर्माण भैरहेका छन् । डिभिजन सडक कार्यालय कञ्चनपुरका अनुसार यस आर्थिक वर्षभित्रै पाँच वटै सडकको निर्माण कार्य पूरा गरि सक्नु पर्नेछ । 
धनगढी उपमहानगरपालिका क्षेत्रबाट मात्रै महेन्द्र राजमार्गदेखि नेपाल–भारत सीमासम्म जोड्ने दुईवटा ठूला सडकहरु निर्माण भइरहेको नगरप्रमुख नृपबहादुर वडले बताए । उनले भने–‘सडक निर्माणको मागलाई गति दिनका लागि निरन्तर अनुगमन तथा निगरानी बढाएका छौं ।’
तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाकोले महेन्द्र राजमार्ग र सीमा नाकासम्म सडक संजालले जोड्ने योजना ल्याएका थिए । नगरप्रमुख वडले अगाडि थपे–‘सुरुका दिनमा काममा केहि ढिला सुस्ती देखिए पनि अहिले भने कामले गति लिएको छ ।’ पाँच वटै सडक निर्माण भए कैलालीका सबै क्षेत्रका बासिन्दालाई राहत पुग्ने पनि नगरप्रमुख वडले बताए ।
डिभिजन सडक कार्यालय कञ्चनपुरका इञ्जिनीयर महेन्द्र पन्तले काम समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीहरुलाई ताकेता गरिरहेको बताए । इञ्जिनीयर पन्तका अनुसार चन्दनचौकी–सुर्मीनाला सडक कैलारी गाउँपालिकामा, आई गाउँ–कनरी हँुदै महेन्द्रराजमार्ग १३ किलो मिटर र बहुलिया–फूलबारी–भोजपुर हुदैँ महेन्द्रराजमार्ग जोड्ने २२ किलो मिटर सडक धनगढी उपमहानगर क्षेत्रमा निर्माण हुदैँ छ । 
त्यसैगरी जुलियाघाट भजनी हुदँै महेन्द्रराजमार्ग ८ किलोमिटर, मोरियाघाट–झबही–बौनियाँ हुदै महेन्द्रराजमार्गसम्मको ३५ किलोमिटर र खक्रोला टीकापुर हुदैँ डुडेझाडीसम्मको ११ किलो मिटर पक्की सडक निर्माण धमाधम भइरहेको छ । 
आर्थिक वर्ष २०७३÷०७४ बाट सुरु भएको योजना २०७५÷०७६ मा पूरा हुने गरी काम भइरहेको इञ्जिनीयर पन्तले जानकारी दिए । सडक निर्माणका क्रममा केहि ठाउँमा घर पर्ने, जग्गा पर्ने जस्ता समस्या आईरहेको भएपनि स्थानीय तहका जनप्रतिनिधिहरुले सहजीकरण गरिरहेको कार्यालयले जनाएको छ । 
सडकको चौडाई १० मिटर रहने छ । जसमध्ये ७ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । पूर्वपश्चिम राजमार्गदेखि नेपाल–भारत सीमासम्मै कालोपत्रे पक्की सडक बनेपछि कैलालीका भित्री क्षेत्रका बासिन्दाहरुलाई सबैभन्दा बढी राहत हुने ईन्जीनियर पन्तले बताए । उनले भने–‘कैलालीका सबै क्षेत्रकाबासिन्दाको पहुँचमुख्य तथा छोटी भन्सार कार्यालय सम्म पुग्ने भएको छ ।’
नेपाल–भारत सीमा नाकासम्म सडक सञ्ञालको विस्तारले छोटी भन्सार फष्टाउनमा सहयोग पुग्ने समेत बताइएको छ ।