Close This

सामाजिक विकासमन्त्री दीर्घ सोडारी पदबाट बर्खास्त

मंगलबार कार्तिक २७, २०७५/ Tuesday 11-13-18
Paschim Today

धनगढी, २७ कार्तिक । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मन्त्री पदबाट बर्खास्त गरिएको छ । 
    तिहारका बेला झण्डावाल गाडी दुर्घटनामा मुछिएका मन्त्री सोडारीलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पद्मुक्त गरेको हो । नेकपाको प्रदेश इञ्चार्ज भीम रावलको निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पद्मुक्त गरेको जनाइएको छ । सोडारीले पद् अनुकूलको आचरण नगरेको र पार्टीको सुझावलाई अटेर गरेकाले पद्बाट हटाउन निर्देशन दिएको नेकपाका प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताए । सोडारीको ठाउँमा तत्कालिन एमालेबाट प्रदेश सभामा निर्वाचित सदस्य कृष्ण सुवेदीलाई ल्याइएको छ । 
सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नम्बरको जीप पूर्व पश्चिम राजमार्गस्थित बढैपुरमा शुक्रवारराति दुर्घटना भएको थियो । दुर्घटनामा परी जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, उनकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से ३ प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए । मन्त्री चढ्ने गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो । गाडी दुर्घटना हुँदा सोडारी भने गाडीमा थिएनन् ।