Close This

धनगढीमा एलपीएल क्रिकेट प्रतियोगिता सुरु

बुधबार कार्तिक २८, २०७५/ Wednesday 11-14-18
Paschim Today

धनगढी, २८ कार्तिक । 
विद्यालय स्तरीय निष्ट लिटिल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता मंगलवारदेखि धनगढीमा सुरु भएको छ । 
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा लिगको तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगिताको पहिलो दिनको खेलमा साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी भएका छन् । उद्घाटन खेलमा सिद्धार्थले निष्ट भक्तपुरलाई हराएको हो भने दोस्रो खेलमा क्यास्पीयन एकेडेमीले शारदा माविलाई हराएको हो । 
डिफेन्डिङ च्याम्पीयन सिद्धार्थ शिशु सदनले निष्ट भक्तपुरमाथि ४ रनको रोमाञ्चक जित दर्ता ग¥यो ।  समूह ए को उद्घाटन खेलमा टस जितेर पहिले व्याटिङ गर्दै सिद्धार्थ शिशु सदनले समय अभावले १० ओभरमा घटाइएको खेलमा निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ६३ रन बनायो । शिद्धार्थका लागि गजेन्द्र बोहराले १८, सुरेन्द्र साउँदले अविजित १५ र खडक बोहराले १४ रन बनाए । निष्ट भक्तपुरका लागि कप्तान सोहन यादवले २ विकेट लिए । 
६४ रनको विजयी लक्ष्य पछ्याएको निष्ट भक्तपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रन मात्रै जोड्न सक्यो । निष्टका लागि शिशिर केसीले १९ र कप्तान सोहन यादवले १४ रन जोडेपनि आफ्नो टीमलाई जिताउन सकेनन् । सिद्धार्थलाई जिताउन प्रकाश थापाले २ ओभरमा ६ रन खर्चंदै २ विकेट लिए । खेलको म्यान अफ द म्याच हुँदै उनले नगद एक हजार सहित ट्रफी पाए । 
दोस्रो खेलमा अर्को धनगढीको टीम क्यास्पीयन एकेडेमीले शारदा माविलाई १४ रनले पाखा लगायो । टस जितेर पहिले व्याटिङ गरेको क्यास्पीयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय एक रन बनायो । उसका लागि दिनेश अधिकारीले ३०, प्रकाश पाठक २० र निशान बोगटीले १८ रन बनाए । शारदाले क्यास्पीयनका चार जना खेलाडीलाई रनआउट गरेको थियो । 
एक सय २ रनको विजयी लक्ष्य सहित मैदान उत्रेका शारदा १६ दशमलव ३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । शारदाका लागि दिपक टमट्टाले ३४ र जीवन मगरले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । क्यास्पीयनलाई जिताउन रोशन अधिकारीले ६ विकेट लिए । निराजन रावलले २ विकेट लिए । ६ विकेट लिएका रोशन म्यान अफ द म्याच भए । उनले नगद एक हजार सहित ट्रफी पाए । 
प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा कैलाली मोडेल र विज्डम एकेडेमी तथा दोस्रो खेलमा मोदाक्षा काठमाण्डौ र एबीसी स्कुल नेपालगंजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको यसअघि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छ ।