Close This

मुम्फली खेतीतर्फ बढ्दो आकर्षण

बुधबार कार्तिक २८, २०७५/ Wednesday 11-14-18
Paschim Today

धनगढी, २८ कार्तिक । 
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित भुईयाँफाँटा गाउँका किसान मुम्फली खेतीतर्फ आकर्षिक भएका छन् ।
    ंमोहना नदी किनारको बलौटे जमिनमा अन्य बाली हुन नसकेपछि उक्त जमिनमा मुम्फली खेती गर्न थालेका हुन । व्यावसायिक रुपमै नभएपनि पछिल्लो समय गाउँका प्रायः सबै किसानले मुम्फली खेतीको सुरुवात गरेको स्थानीय कृषक प्रकाश चौधरीले बताए । 
    खेतमा मुम्फली खन्दै गरेको अवस्थामा भेटिएका चौधरीले भने–‘बलौटे जमिनमा धान उत्पादन नहुने भएकाले यस्तो जमिनमा मुम्फली खेती गर्न थालेका हौं ।’ 


    कृषकहरुका अनुसार धान उत्पादन नहुने बलौटे जमिनमा नै मुम्फली खेती राम्रो हुने गर्दछ । अघिल्लो वर्ष गाउँका केहि किसानलेमात्रै मुम्फली खेती गरे पनि यो वर्षबाट देखासिकीकै रुपमा अधिकांशले मुम्फली उब्जनी गरेको उनीहरु बताउँछन् । 
    ‘गाउँका सबैले लगाउन थालेपछि मैले पनि यो वर्ष मुम्फलीको खेती गरेँ’, कृषक चिपुराम चौधरीले भने–‘उत्पादन राम्रै भएको छ ।’ केही उत्पादन नहुने बलौटे जमिनमा मुम्फली खेती गर्न सजिलो रहे पनि बाली भित्र्याउनका लागि भने धेरै मिहिनेत गर्नु परेको किसानको भनाइ छ । 
    ‘मुम्फली बालुवामा झुप्पा झुप्पा फल्ने बाली त हो’, चौधरीले अगाडि थपे–‘तर, भित्र्याउनका लागि धेरै झन्झटिलो छ ।’ धान काट्ने काम सकिएपछि किसानले मुम्फली खन्ने, भित्र्याउने काम गर्ने गरेका छन् । अहिले उनीहरुलाई मुम्फली खन्ने र भित्र्याउने चटारो चलेको छ । 
    छिमेकी राष्ट्र भारतमा मुम्फली खेती बढी हुने गरेको छ । उता, मुम्फली खेती व्यावसायिक रुपमै हुने भएकाले नेपालको सीमावर्ती बजार र ग्रामीण क्षेत्रमा भारतबाटै बढीमात्रामा मुम्फली आउने गरेको छ । तर, यसपालि भने घर–घरमा नै मुम्फली खेती गरिएकाले भारतीय व्यापारीहरु अहिलेसम्म यता मुम्फली बेँच्न नआएको किसानहरुको भनाइ छ । 
    ‘गत विगतमा यति बेला मुम्फली बिक्रीका लागि यता भारतीय व्यापारीहरुको लर्को लाग्ने गरेको थियो’, स्थानीय जालुराम चौधरीले भने–‘तर, यो वर्ष अहिलेसम्म भारतीय मुम्फली व्यापारी यता देखा परेका छैनन् । उनीहरुले उताबाट मुम्फली ल्याए पनि बिक्दैन होला । यता हरेक घर–घरमा मुम्फली छ ।’
    भारतबाट आउने व्यापारीले धान, रुपिया लिएर यता मुम्फली बिक्री गर्ने गरेका थिए । यो वर्ष यतै प्रशस्त मुम्फली भएकाले गाउँबाट भारतीय व्यापारीले लग्ने धनसम्पत्ती गाउँमै सुरक्षित रहेको स्थानीयले बताएका छन् । 
    भुईयाँफाँटामा व्यावसायिक रुपमै मुम्फली खेती नभए पनि सिकाईको रुपमा मुम्फली खेतीको सुरुवात भने भएको गाउँका सचिव फूलराज चौधरीले बताए । उनले यो वर्षदेखि गाउँका कतिपय किसानले आधा बिघा जमिनमा समेत मुम्फली खेती गरेको जनाए । 
    २०६४ र ०६५ सालमा आएको भीषण बाढी र त्यसपछि समेत लगातार आएको साना–ठूला बाढीले यो क्षेत्रका किसानको जमिन बगरमा परिणत भएको छ । मोहना नदीले प्रभावित जमिनमा कुनै बाली नभएपछि अहिले मुम्फली खेतीतर्फ किसानको आकर्षण बढेको सचिव चौधरीले जनाए । 
    ‘मुम्फली खेती बगरकै बलौटे जमिनमा हुने गर्दछ’, उनले भने–‘यहाँ त्यस्तो जमिन प्रशस्तमात्रामा रहेकाले किसानको ध्यान मुम्फली खेतीतर्फ गएको हो ।’ सुकाएको मुम्फली दुई सय रुपिया किलो बिक्री हुने गरेको किसानले जनाएका छन् । तर, बिक्री गर्नुभन्दा पनि प्रायः किसानले आफै खानका लागि मुम्फली खेती गरेका जनाएका छन् । उत्पादन र बजार राम्रो भएमा व्यावसायिक रुपमै मुम्फली खेती गर्न सकिने उनीहरुको भनाइ छ ।