Close This

चिकित्सकसहित सेनाको टोली बस्तीमा पुगेपछि....

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

शेरबहादुर सिंह, कञ्चनपुर, २९ कार्तिक । 
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधि लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा थिए । 
    लामो समयदेखि बिरामी रहनुभएका उनले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुशीको सीमा नै नरहेको जानकारी दिए । “सेनाले विकट बस्तीमा आएर जनताको सेवा यसरी पनि गर्दोरहेछ ।” साउदले भने–“यो त सेनाको पुण्य काम हो ।”
नेपाली सेनाको सिंहशार्दुल गुल्मले पहरियामा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा साउद जस्तै सयौँ स्थानीय वृद्ध÷वृद्धा, महिला र बालबालिकाले गाउँमै उपचार पाएपछि खुशी व्यक्त गरेका छन् ।
कञ्चनपुरको विकट बस्ती हो पहरिया । जहाँ द्वन्द्वकालमा समेत स्थानीयवासीले निकै समस्या भोग्नुपरेको स्थानीयसित भुलको भनाइ छ । भौगोलिकरूपमा विकट नगरपालिका–१ मा दोमिल्ला, पहरिया, बण्ड, निगाली गाउँ छन् । यहाँ पछिल्लो समय सडक सञ्जाल विस्तार भइरहे पनि विद्यालयबाहेक अन्य सरकारी सुविधा केही छैन ।
“अरुले उपचारका लागि अत्तरिया, धनगढी, महेन्द्रनगर हँुदै भारतसम्म जानुपर्ने बाध्यता छ ।” बण्डका स्थानीय प्रभाकर भण्डारीले भने, “दुर्गमका जनता सेनाको शिविरबाट लाभान्वित भएका छन् ।” बस्तीमा स्वास्थ्य संस्था नहुँदा सामान्य बिरामी हुँदा पनि टाढा जानुपर्ने अवस्था छ । 
“यसअघि यहाँ यसरी शिविर लगाएको मलाई सम्झना छैन ।” स्थानीय भीमदत्त भट्टले भने–“गाउँमै पुगेर दिनदुःखीलाई मलम लगाउने सेनाको जयजयकार ।” २०२६ सालदेखि पहरियामा बसोबास गर्दै आएका स्थानीयले पनि गाउँमा पहिलोपटक निःशुल्क स्वास्थ्य सेवा पाएको बताएका छन् । 
यहाँस्थित सेनाको सिंहशार्दुल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा भएको स्वास्थ्य शिविरबाट ३३० जना लाभान्वित भएको सो गुल्मले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि महिला र वद्धवद्धा बढी सङ्ख्यामा थिए । 
जिल्लाकै ग्रामीण भेग र स्वास्थ्य सेवाबाट टाढा रहेको देखेपछि यहाँ शिविर सञ्चालन गरिएको सेनाले जनाएको छ । सेनाले आगामी दिनमा पनि सैनिक÷नागरिक सम्बन्ध प्रभावकारी बनाउन विभिन्न सामाजिक काम गर्दै जाने जनाएको छ ।
स्वास्थ्य परीक्षण गरिएका अधिकांश बिरामीमा छाला, हाडजोर्नी, आँखा र महिलाको पाठेघरसम्बन्धी समस्या बढी देखिएको श्री नंं २५ फिएका उपसेनानी डा साजन महर्जनले जानकारी दिए । 
बिरामीको परीक्षणका लागि सेनाको चिकित्सकसँगै धनगढीस्थित नवजीवन अस्पतालका चिकित्सक डा जयराम केसीसमेत सहभागी थिए । नेपाली सेनाले यस अघि कञ्चनपुरको भीमदत्तनगरपालिका, बेदकोट, बेल्डाँडी गाउँपालिकाका विभिन्न बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।