Close This

अध्ययन गृहका लागि सहयोगी हातहरु बढ्दै

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

धनगढी, २९ कार्तिक । 
कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित एकतानगर मुक्त कमैया बस्तीमा नमूना अध्ययन गृह निर्माण गर्नका लागि देशविदेशबाट सहयोग प्राप्त भएको छ । 
    सामाजिक कार्यमा सक्रिय युवाहरुले थालेको अभियानमार्फत विपन्न परिवारका बालबालिकाहरुको लागि नमूना अध्ययन गृह निर्माण गर्न सहयोग प्राप्त भएको हो । दिनप्रतिदिन सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा लम्कीका केहि युवाले भने यसलाई सदुपयोग गर्दै सहयोग अभियान चलाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थालेको अभियानबाट हालसम्म पाँच लाख ५० हजार ८२० रुपिया सहयोग जुटेको छ । उनीहरुले अभियानलाई जारी राखेका छन् । 
    अभियानको क्रममा नेपालको विभिन्न जिल्लामा रहेका मनकारीहरु र विदेशमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको अभियानमा सक्रिय सृजनशील नेपालका अध्यक्ष जनक सुनारले जानकारी दिए । ‘अहिलेसम्म ४० जिल्ला र विदेशमा नेपालीहरु जुन जुन देशमा हुनुहुन्छ, त्यहाँबाट सहयोग प्राप्त भइरहेको छ’, उनले भने । 
    मुक्त कमैया बस्तीमा नमूना अध्ययन गृह बनाउनका लागि रुकुमको आठबिसकोट नगरपालिका–१० घारी खोलामा घर भइ हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका प्रेम केसीले ३९ हजार ६७५ रुपिया सहयोग गरेका छन् । मुक्त कमैया बस्तीमा नमूना अध्ययन गृह बनाउने कार्यको प्रशंसा गर्दै उनले विदेशमै अभियान चलाएर थप सहयोग जुटाउने प्रतिबद्धता समेत जनाएका छन् । 


    बेलायतमा बस्दै आएकी चितवनकी तिलकुमारी गुरुङले एक लाख रुपिया सहयोग गरेकी छिन् । नेपाल आएको बेला उनले नमूना अध्ययन गृह निर्माण हुने बस्तीमै पुगेर एक लाख रुपियाको चेक हस्तान्तरण गरेकी थिइन् । अमेरिका बस्दै आएकी दाङकी लीला डाँगीले पनि एक लाख रुपिया सहयोग गरेकी छिन् । यस्तै, अमेरिकामै रहेका रुकुमका गोर्ख कुसारीले ५० हजार रुपिया सहयोग गरेका छन् । दसैं तिहारको अवधिमा झन्डै तीन लाख रुपिया सहयोग जुटेको अभियानकर्मी सुनारले जानकारी दिए । 
    बालबालिकाहरुको अध्ययनका लागि नमूना अध्ययन गृह निर्माणमा पुनर्वास नगरपालिकाले यसअघि नै ३६ हजार पाँच सय रुपिया सहयोग गरेको थियो । कैलालीका केहि स्थानीय सरकारले सहयोगको प्रतिबद्धता जनाएको अध्यक्ष सुनारले जनाए ।  
    मुक्त कमैया बस्तीमा रहेका झन्डै ५० बालबालिकाहरुको शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यले १३ जना युवाहरु यो अभियानमा जुटेका हुन । करिब १० लाख रुपियाको लागतमा निर्माण हुने तीन कोठे नमूना अध्ययन गृहका लागि केहि रकम उठेपछि निर्माण कार्यको सुरुवात समेत गरिएको छ । अहिलेसम्म जग हाल्ने कार्य सम्पन्न भइसकेको अध्यक्ष सुनारले जानकारी दिए । उनले मङ्सिर पाँच गतेदेखि थप काम अगाडि बढ्ने उल्लेख गरे । 
    विद्यालयको पढाइ र सिकाइ बालबालिकालाई पर्याप्त नभएकाले उनीहरुको भविष्यप्रति चिन्तित् भएर नूमना अध्ययन गृहको अवधारणा अगाडि ल्याएको जनाएका छन् । नमूना अध्ययन गृह निर्माण गरेर विद्यालय समयबाहेक ति बालबालिकालाई गृहमा राखेर पठनपाठन गराउने लक्ष्य रहेको सुनारले जानकारी दिए । 
    ‘विद्यालयको पढाइ राम्रो छैन भनेर हामी भन्दैनौ । तर, त्यतिले पक्कै पनि पुगेको छैन’, उनले अगाडि थपे–‘उनीहरु पढेर पनि शून्य अवस्थामै देखिएकाले नमूना अध्ययनमा राखेर अतिरिक्त कक्षाको व्यवस्था गर्ने हाम्रो लक्ष्य छ ।’
नमूना अध्ययन गृहलाई सकेसम्म एक वर्षभित्र पूर्णता दिइ कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको युवाहरु बताउँछन् । मुक्त कमैया बस्तीका बालबालिकाको अवस्था अत्यन्त नाजुक देखिएपछि उनीहरुको शैक्षिक अवस्था सुधारका लागि केहि गर्ने सोंच पलाएको लम्कीचुहा नगरस्तरीय बाल सञ्जालका अध्यक्ष यशोदा देवकोटाले बताइन् ।  
युवाहरुले सुरुमा २०÷३० हजार रुपिया सहयोग उठाएर बालबालिकाले अतिरिक्त अध्ययन गरिरहेका झुपडी मर्मतको योजना बनाएका थिए । तर, सहयोगी हातहरु बढेपछि तीन कोठे पक्की नमूना अध्ययन गृह नै बनाउने आँट आएको सुनाएका छन् । मनकारी हातहरुको सहयोग थपिदैँ गएपछि थप हौसला मिलेको देवकोटाले बताइन् ।