Close This

घरको छतमा लटरम्म तरकारी

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

अविनाश चौधरी ।
धनगढी, २९ कार्तिक ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीस्थित डिपो बजारका एक युवाले घरको छतमा तरकारी खेती गरेर चर्चा बटुलेका छन् । 
    स्थानीय रामचन्द्र चौधरीले छतमा व्यावसायिक तरकारी खेती गरेर प्रशंसाको पात्र बनेका हुन । उनले आफ्नो पाँच कोठे घरको छतमा काउली, बन्दा र टमाटरको खेती गरेका छन् । प्रायः समय खाली रहने छतमा लोभलाग्दो तरकारी उत्पादन भएपछि उनी त दङ्ग छन् नै । छतमा तयार भएको तरकारीको अवलोकन र प्रशंसा गर्नेहरु पनि बढेका छन् । 
    ‘मैले गरेको तरकारी खेती हेर्न टाढा–टाढाबाट पनि मान्छेहरु आउने गरेका छन्’, चौधरीले अगाडि भने–‘उनीहरुले मेरो मिहिनेत र तरकारी खेती गर्ने यो तरिकाको कदर समेत गर्ने गरेका छन् ।’
    फूलबारीमा रहेको कल्गी बचत तथा ऋण सहकारी संस्थामार्फत भारतको विभिन्न ठाउँमा तरकारी खेतीको अवलोकन र तरकारी खेतीबारे अन्तर्राष्ट्रिय तालिम लिए पश्चात चौधरीले यो वर्षदेखि छतमा तरकारी खेती थालेका हुन् । यसका लागि उनले सिमेन्ट राखेको पुरानो प्रयोगबिहीन बोरालाई प्रयोग गरेका छन् । सिमेन्टको बोरामा जङ्गलबाट ल्याएको माटो भरेर तरकारी खेती गरेको चौधरीले सुनाए । 


     ‘करिब १२÷१३ हजार लगानी गरेर मैले छतमा तरकारी खेतीको सुरुवात गरेको हुँ’, उनले अगाडि थपे–‘उत्पादन राम्रो भएपछि निकै खुशी छु ।’
    खेतबारीमा तरकारी खेती गर्नुभन्दा घरको छतमा सजिलो लागेको चौधरीले अनुभव सुनाए । ‘छतमा सिचाइँ, स्याहार गर्न पनि सजिलो छ र, बस्तुभाउले खाई दिने चिन्ता पनि छैन’, उनले भने–‘जमिनभन्दा छतमै तरकारी खेती गर्न सजिलो लाग्यो ।’ 
    घरको छतमा तयार भएको तरकारी उनी बिक्री गर्ने तयारीमा पनि छन् । पहिलो पटकको सबै तरकारी बिक्रीपछि दोस्रो पटक अझ व्यवस्थित गरेर तरकारी खेती गर्ने चौधरीले सुनाए । ‘अर्को पटक गमलामा तरकारी रोप्ने योजना बनाएको छुँ ।’ उनले भने ।  
    छतमा एकचोटी उत्पादित तरकारीबाट करिब २० हजार रुपियाको कारोबार हुने अनुमान गरेको जनाएका छन् । ‘दोस्रो पटकको उत्पादनले मलाई नाफामात्रै हुनेछ’, उनले भने । 
    राजनीतिमा समेत सक्रिय चौधरी छरछिमेक र युवा पुस्तालाई कुनै व्यवसायमा प्रेरित गर्नका लागि आफू तरकारी खेतीमा अग्रसर भएको बताउँछन् । मुखले बोलेरभन्दा पनि काम गरेर देखाउँदा अरुले पत्याउन पनि सजिलो हुने उनले उल्लेख गरे । ‘बेरोजगार युवालाई केहि व्यवसाय गरेर आत्मनिर्भर हुनुसभन्दा पत्याउँदैनन्’, चौधरी भन्छन्–‘त्यसैले आफूले गरेर उनीहरुलाई प्रेरित गर्नका लागि राजनीतिसंगै तरकारी खेती पनि सुरु गरेको हुँ ।’ 
    तत्कालिन नेकपा एमालेको क्षेत्रीय सदस्य चौधरी युवा संघ नेपालका केन्द्रीय सदस्य पनि हुन ।