Close This

नेकपाभित्र थप व्यक्ति कारबाहीको दायरामा

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

धनगढी, ३० कार्तिक।
आचरण मूल्याङ्कनमा गम्भीर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी आबद्ध थप व्यक्तिमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । 
    सार्वजनिक पदमा रहेर अनुचित आचरण गरेको विषयमा प्रदेशमन्त्री दीर्घ सोडारीलाई मन्त्री पद र पार्टी सदस्यबाट बर्खास्त गरेको सो पार्टीले थुप्रै व्यक्तिलाई कारबाहीको प्रक्रियामा ल्याएर शुद्धिकरण अभियान चलाइ रहेको जनाएको छ । ‘नेकपा जस्तो पार्टीमा देश र जनताको निम्ती काम गर्छु भनेकालाई त्यसरी छोड्ने कुरा हुदैन ।’ नेकपा प्रदेश कमिटी कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले भने–‘पार्टी र जनताको हित विपरित काम भएको छ भने पार्टीको ध्यान, विधान र धारा आकर्षण हुन्छ ।’ बर्खास्तीमा परेका सोडारीलाई पनि पार्टी विधान अनुरुप नै कारबाही गरेको प्रदेश कमिटीले जनाएको छ ।     
सो पार्टीको प्रदेश पदाधिकारीहरुको बैठकले नेकपा आबद्ध मन्त्री, सांसद, स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सबैको कार्य र आचरणको मूल्याङ्कन गर्ने निर्णय गरेको थियो । ‘यति ठूलो पार्टीको कहाँ, कसले, के काम गरेको छ भनेर हामीले अनुगमन गरेनौ, खोजी गरेनौ भने त्यसले छाडा प्रवृत्ति उत्पन्न हुन्छ’, सुवेदीले अगाडि थपे–‘त्यसले पार्टी र जनताको काममा असर पुग्ने भनेर पार्टीको प्रदेश पदाधिकारीको अघिल्लो बैठकले काम र आचरण मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।’
    बैठकले सांसद् कोषको बजेट विनियोजन, मेयर, उपमेयरले गरेको बजेट विनियोजन र खास खास योजनाहरुको अभिलेख समेत राख्ने निर्णय गरेको सुवेदीले जनाए । 
    तत्कालिन प्रदेशमन्त्री सोडारीको गतिविधिपछि आचरण शुद्धिकरणमा गम्भीर देखिएको नेकपा प्रदेश कमिटीले पार्टीको विधान अनुसार स्थानीय तहमा पनि संसदीय दल बनाएर व्यवस्थित गर्ने योजना बनाएको छ । स्थानीय तहमा दलको प्रमुख र पार्टीको एउटा बोर्ड बनाएर जनप्रतिनिधिलाई व्यवस्थित गर्ने जनाइएको छ । 
    ‘पार्टीको निर्देशन, घोषणापत्र, कार्यदिशाबाट काम भएको छ कि छैन, देश र जनताको हितमा काम भएको छ की छैन ? उहाँहरुलाई लगाम लगाउने एउटा निकाय त चाहियो नि !’ कार्यालय सचिव सुवेदीले भने । 
सार्वजनिक महत्वका पद्मा बसेकाबाट कमी कमजोरी भएको खण्डमा प्रदेश कमिटीले प्रशिक्षणको व्यवस्था गरेको छ । पार्टीको नीति, पार्टीको अवधारणा र निर्वाचनमा जारी गरेको घोषणापत्र अनुरुप काम गर्नका लागि पार्टीले उत्प्रेरणा प्रदान गर्ने तर, त्यति गर्दागर्दै पनि स्वेच्छाचारी ढङ्गले कोही अगाडि बढेमा विधान आकर्षण हुने सुवेदीले उल्लेख गरे । 
सार्वजनिक ओहोदामा पुगेको व्यक्तिको जीवन व्यक्तिगत हुँदैन । उसले के खान्छ, के गर्दैछ, कहाँ जान्छ ? यावत कुराको निगरानी कुनै न कुनै रुपमा भइरहन्छ । प्रदेशमन्त्री सोडारीको बर्खास्तीपछि सार्वजनिक जीवनमा पुगेका व्यक्तिको आचरणको सवाल निकै पेचिलो बनेको छ । 
राजनीतिमा अहिले धेरै छाडापन बढेको उल्लेख गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. हेमराज पन्तले सार्वजनिक ओहोदामा पुगेकाहरु निकै सम्वेदनशील बन्न आवश्यक रहेको औंल्याए । 
‘मन्त्री, सांसद्हरु पब्लिक फिगर हुन’, उनले भने–‘उनीहरु के गर्छन, कहाँ जान्छन् भन्ने कुराले सार्वजनिक सन्देश जाने र अर्थ राख्ने गर्दछ । सोडारी जीमाथि जुनसुकै कारणले कारबाही भए पनि त्यसले त पब्लिकमा राम्रो सन्देश गइराखेको छैन नि ?’
पद्मा गएपछि मान्छेको ‘लाइफ स्टाइल’ अलिकित परिवर्तन हुन्छ नै । तर, त्यसलाई कसरी नियन्त्रण गर्ने त्यो नै मुख्य सवाल रहेको डा. पन्तको बुझाइ छ । ‘यहाँ त एउटा पद्मा पुग्ने बित्तिक्कै मान्छेले भुईमै खुट्टा टेक्दैनन्’, उनले भने–‘अझै त्यस्ता धेरै मान्छे हामीले नै सबैतिर देखि राखेका छौं । उहाँहरु आफैले पब्लिक फिगर हुँ भन्ने कुरा बुझ्न आवश्यक छ ।’
दुई वटा प्रदेशमा मन्त्रीहरुमाथि भएको कारबाही घटना अरुको लागि सिकाइको विषय बन्न सक्नु पर्ने बताइएको छ । ‘नैतिकता आखिर राजनीतिबाट नै जनताले सिक्ने हो’ डा. पन्तले अगाडि थपे–‘त्यसैले राजनीतिमा स्टान्डार्ड नैतिकता आवश्यक छ ।’
नाष्ट कलेज धनगढीका प्रमुख शिवहरी मुडभरीले उच्च ओहोदामा पुगेका व्यक्तिहरु समाजको नजिरको रुपमा रहने गरेको बताए । ‘उहाँहरुले गर्ने क्रियाकलापबाट नै कार्यकर्ता प्रभावित हुने हो’, मुडभरीले भने–‘तर, समाजलाई विखण्डित गराउने अथवा समाजमा दुष्ट चरित्र प्रदर्शन हुने किसिमको प्रवृत्ति भएमा त्यसले सिङ्गो सिस्टममाथि नै प्रहार गर्छ ।’