Close This

आइपीएलको नयाँ सिजनमा पनि सन्दीप दिल्लीबाटै खेल्ने

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

काठमाडौं, ३० कात्तिक । 
इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले नयाँ सिजनका लागि पनि ‘रिटेन’ गरेको छ ।

गत सिजनमा दिल्लीले सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा आइपीएलका लागि भित्र्याएको थियो । लिग चरणका ११ औं खेलसम्म पनि बेन्चमै रहेका उनलाई दिल्लीले आफ्नो १२ औं म्याचमा मैदानमा उतारेको थियो । सन्दीपले आफ्नो क्षमता प्रदर्शन गर्दै चार ओभरमा २५ रन खर्चिएर एक विकेट लिएका थिए ।

त्यसपछि उनले लगातार तीन खेलमा ‘प्लेइङ्ग–११’ मा स्थान बनाए । तीन खेलमा उनले कुल पाँच विकेट लिएका थिए ।

दिल्लीले नयाँ सिजनका लागि सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ । दिल्लीले रिटेन गरेका १४ मध्ये पाँच विदेशी खेलाडी छन्, जसमध्ये सन्दीप एक हुन् ।

दिल्लीले अक्सनअगावै भारतका प्रारम्भिक ब्याट्सम्यान शिखर धवनलाई टिममा भित्र्याइसकेको छ । उनी यसअघि सनराइजर्स हैदरावादका लागि आइपीएल खेल्दै आएका थिए । दिल्लीले कप्तान गौतम गम्भीर र अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेललाई भने टिमबाट मुक्त गरेको छ ।