Close This

सुदूरपश्चिम प्रदेशमा बढेनन् पर्यटक

शनिबार मङ्सिर १, २०७५/ Saturday 11-17-18
Paschim Today

धनगढी, १ मंसिर । 
सुदूरपश्चिम प्रदेशमा विदेशी पर्यटक आगमन सङ्ख्यामा बढोत्तरी हुन सकेको छैन । सरकारी निकाय र निजी क्षेत्रबाट विविध प्रयास भए पनि विभिन्न मुलुकबाट घुम्न आउने पर्यटहरुको सङ्ख्या गतविगत जस्तै न्यून नै रहेको छ । 
पर्यटक भित्र्याउनका लागि यो क्षेत्रको पर्यटकीय गन्तव्य प्राथमिकतामा पर्न नसक्नुले पर्यटक संख्यामा बृद्धि हुन नसकेको पर्यटन व्यवसायीले गुनासो गर्दै आएका छन् । यद्यपि, पछिल्लो समय नेपाल सरकारले यो प्रदेशको केहि पर्यटकीय स्थललाई पर्यटन गन्तव्यको रुपमा पहिचान गरेको छ । 
काठमाण्डौंबाट आउने पर्यटक प्रायः बर्दियासम्म पुगेर फर्कने गरेका छन् । उनीहरु विश्वरामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पहाडी जिल्लामा रहेको खप्तड, बडिमालिका, अपी–सैपालसम्म पुग्न सकेका छैनन् । 
    भारतको स्थलमार्ग हुँदै कैलाली भन्सार नाका भएर भित्रिने विदेशी पर्यटकको सङ्ख्या पनि थोरै रहेको छ । यो नाका भएर आर्थिक वर्ष २०७४÷०७५ मा जम्मा ४५ जना पर्यटकको आगमन भएको छ । भने ५३ जना विदेशी पर्यटक यो नाका भएर भारतर्फ गएका छन् । 
    आर्थिक वर्ष २०७३÷०७४ मा पनि ४५ जना विदेशी पर्यटक यो नाका भएर आएका थिए । ५१ जना बहिर्गमन भएका थिए । कैलाली भन्सार नाका भएर खास गरेर अमेरिका, श्रीलङ्का, जर्मनी, फ्रान्स, कोरिया, मलेसिया, इटली, रसिया, स्पेन लगायतका देशका पर्यटकहरुको आउजाउ भएको छ । 
    कैलालीबाट भारतको राजधानी दिल्ली नजिक परे पनि दिल्ली र आगराबाट नेपाल आउन चाहेका पर्यटकहरु यो नाका भएर थोरै आउने गरेका अध्यागमन कार्यालयले जानकारी दिएको छ । दिल्ली पुगेका प्रायः पर्यटकहरु हवाई मार्ग भएर सिधैं काठमाण्डौं जाने गरेको बताइन्छ । पर्यटक आगमन बढ्न नसक्दा धनगढीमा रहेको अध्यागमन कार्यालय प्रायः समय सुनसान देखिन्छ । 
    कैलाली भन्सार नाका भएर नेपालमा पर्यटक भित्र्याउनका लागि प्रचार प्रसार र भारतबाट प्रोत्साहन नभएकाले सङ्ख्यामा बढोत्तरी हुन नसकेको अध्यागमन कार्यालय प्रमुख ओमकार शाहले बताए ।   
    गौरीफन्टा नाकासम्म आउनका लागि बाटो सहज नभएकाले पनि पर्यटक सङ्ख्या बढ्न नसकेको उहाँको बुझाइ छ । ‘दुधुवा नेशनलपार्कमा बाटोको समस्या छ’, शाहले भने–‘भारतका पर्यटन व्यवसायीले पनि नेपाल आउन चाहेका पर्यटकको रुट परिवर्तन गराउने गरेका छन् । धेरैलाई त यो नाका छ भन्ने समेत थाहा छैन ।’
    सुदूरपश्चिम प्रदेशमा पर्यटनको थुप्रै सम्भावना रहे पनि मुख्यतयाः प्रचार प्रसार हुन नसक्नु नै पर्यटन फष्टाउन नसकेको अध्यागमन कार्यालयले जनाएको छ । तर, भारतीय पर्यटक भने महिनामा करिब चार÷पाँच सयको संख्यामा आउने गरेको जनाइएको छ । ‘छोटो समयका लागि घुम्न धेरै भारतीय पर्यटक आउने गरेका छन्’, शाहले भने–‘उनीहरुको हामीले तथ्याङ्क राख्ने गरेका छैनौं ।’
    पर्यटनलाई लक्षित गरेर कैलालीको धनगढीमामात्रै विभिन्न पूर्वाधार विकास भइसकेको छ । पर्यटकलाई लक्षित गरी ठूल–ठूला होटल र फन पार्क पनि सञ्चालनमा आएका छन् । ठूलो लगानीमा सञ्चालनमा आएका होटलहरुले पर्यटकको स्वागत गर्न नपाउँदा सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रमको भरमा खर्च धान्नु पर्ने अवस्था रहेको छ । 
    पर्यटकको स्वागत गर्न नसक्नु् र सरकारी झमेलाको कारणले यो नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या न्यून रहेको द रुबस होटलका सञ्चालक समेत रहेका पर्यटन व्यवसायी प्रकाशचन्द्र भट्टले बताए । 
    ‘पर्यटक आगवमन सहज बनाउनका लागि पर्यटक प्रहरी नै गठन गरेर सरकारी झमेला हटाउनु पर्दछ’, उनले भने–‘हामीले अझैसम्म पर्यटकको स्वागत गर्न जानेका छैनौं । पर्यटकले नाकामा विभिन्न झमेला खेप्दै आएका छन् ।’
    सुदूरपश्चिम प्रदेशको मुख्य व्यापारिक ‘हब’ धनगढी हो । काठमाण्डौं–धनगढी हवाई सेवा सञ्चालन हुँदै आए पनि धनगढीमै आउने पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । प्रदेशको विभिन्न जिल्लामा रहेका ‘भर्जिन’ पर्यटन स्थलहरु पर्यटकको पर्खाइमा रहेको उनीहरुको ठहर छ । 
    कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले पर्यटनका लागि पूर्वाधार थुप्रै तयार भए पनि चाहे जस्तो पर्यटक पाउन नसकेको जनाए । ‘भारतीय धार्मिक पर्यटक आउन त आउँछन् । तर, उनीहरुले मलमूत्र बाहेक केहि दिएका छै्रनन्’, उनले अगाडि थपे–‘पर्यटक आएरमात्रै हुँदैन । उनीहरु आइसकेपछि आर्थिक क्रियाकलाप पनि चलायमान हुन जरुरी छ ।’