Close This

मन्त्रमुग्ध बनाउने जाखोर सिमसार 

आइतबार मङ्सिर ९, २०७५/ Sunday 11-25-18
Paschim Today

धनगढी, ९ मंसिर ।
एक सय १६ प्रजातिको वनस्पति । सुन्दर, शान्त वातावरण । अनि, रमणीय ठाउँ । देवहरिया वनस्पति उद्यानको प्राकृतिक सुन्दरताले कसको मन आनन्दित नहोला र ? त्यहि उद्यानभित्रको सिमसार, जाखोर तालले यहाँको जैविक विविधतालाई कायम राखेको छ । 
    सहरीकरणसंगै ‘कङ्क्रिट’ बन्न लागेको धनगढीमा सुन्दरताको आभास दिलाउने काम पनि यहि जाखोर सिमसारले गरेको हो । अझ, यसको सिरानमै रहेको देवहरिया वनस्पति उद्यानले सुनमा सुगन्ध छरेको छ । जाखोर सिमसारले धनगढीमा सुन्दरताको रङ्ग भर्ने काम गरे पनि सिमसारमा रहेको जैविक विविधता मासिने खतरा बढ्दै गएको छ । 
    सिमसारको संरक्षण हुन नसक्नुले जैविक विविधतामा पनि धक्का पुग्ने खतरा बढेको हो । प्राकृतिक रुपमा बनेको जाखोर तालको गहिराइ पहिलेको भन्दा अहिले धेरै घटेको देवहरियाका यादुराम चौधरीले बताए । उनका अनुसार पहिले किनारमै तालको गहिराइ धेरै थियो । 
    ‘अचेल सुख्खा नलाग्दै यो ताल सुक्ने गरेको छ’, चौधरीले भने–‘चार वर्षयता, सुख्खामा ताल पूर्ण रुपमा सुकिरहेकाले यहाँको जैविक विविधता मासिन्छ कि भन्ने चिन्ता छ ।’ 
    सिमसारमा रहेको जैविक विविधतामा खलल पुग्न नदिनका लागि तत्कालिन जिल्ला वनस्पति कार्यालयले तालमा माछा पालन र माछा मार्ने कार्य बन्द गराएको थियो । माछा मार्ने कार्य अझै पनि बन्द रहे पनि मिचाहा प्रजातिले ताल पुरिने अवस्था सृजना भएको चौधरीले बताए ।  
    ‘तालमा रहेको जलकुम्भीको कामै छैन’, उनले अगाडि थपे–‘तालको गहिराइ घट्नुको एउटा कारक जलकुम्भी पनि हो । पानी सुकेपछि यो यतिक्कै थुप्रिने गरेको छ ।’ 
    धनगढीमा प्राकृतिक ठाउँमा रमाउन चाहनेहरुको लागि सबैभन्दा नजिकको गन्तव्य जोखर सिमसार नै हो । कामकाजको चापले दिग्दार बनेकाहरुले घुमफिर गर्नका लागि यो ठाउँ उपयुक्त छ । यसको सुन्दर दृश्यले मन्त्रमुग्ध बनाउने गर्दछ । नजिकै सामुदायिक वन समेत रहेकाले कहिलेकाँही वन्यजन्तु पनि देखिने गरेको स्थानीयको भनाइ छ । 
    जाखोर सिमसारको किनारमा चित्तल, बदेंल र निलगाई जस्ता जनावर आउने गरेको चौधरीले बताए । ‘तालमा विभिन्न किसिमका चरा त पानी रहेको बेला जहिल्यै देख्न सकिन्छ’, उनले भने–‘कहिलेकाँही वन्यजन्तु पनि आउने गर्दछन् ।’
    जैविक विविधतायुक्त भएकाले जाखोर सिमसारमा आन्तरिक पर्यटकहरुको पनि भीडभाड हुने गर्दछ । विदाको दिनमा पिकनिक खानेदेखि घुम्ने युवायुवती, कर्मचारी पनि जाखोर तालमा पुग्ने गरेका छन् । दिनमै सयको हाराहारीमा मान्छेहरु जाखोर तालमा घुम्न आउने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाले बताए । 
    ‘कहिलेकाँही पिकनिक खानेहरुको अलि बढी नै भीडभाड हुने गर्दछ’, उनले भने । अध्यक्ष रानाका अनुसार जोखर सिमसारको जैविक विविधतामा असर पुग्न नदिनका लागि प्लाष्टिकजन्य वस्तु तालमा फाल्न बन्देज गरिएको छ । यसैगरी, फालिएका बोतल उठाउनका लागि स्थानीयवासीहरु परिचालित हुने गर्दछन् । 
‘यताउती भएको फोहोर उठाउनका लागि पनि वनस्पति कार्यालयले एक जना कर्मचारीको व्यवस्था गरेको छ’, अध्यक्ष रानाले भने–‘यहाँको जुन विविधता छ, त्यो ह«ास नहोस भनेर हामी सचेत छौं ।’
१२ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ, जाखोर ताल । यसको उत्पत्ति कहिले र कसरी भएको भन्ने यकिन छैन । एक किंबदन्ती अनुसार, परापूर्व कालमा ताल रहेको ठाउँमा गाउँ थियो । गाउँ जलमग्न भएर ताल बनेको विश्वास गर्ने गरिएको अध्यक्ष रानाले जनाए ।  
एनका अनुसार गाउँमा जाख र जखनी नामका श्रीमान श्रीमती बस्ने गर्दथे । उनीहरुले सुनको कुखुरा पाल्नका लागि खोर बनाएका थिए । त्यस बेला कसैले ‘जा’ ‘खोर’ मा भनेकाले पछि त्यहि शब्दले तालको नाम जाखोर रहन गएको हो । राना थारु भाषामा ‘जा’ भनेकोे ‘जाऊ’ र ‘खोर’ भनेको ‘घर’ अर्थ लाग्ने गरेको अध्यक्ष रानाले सुनाए । 

 

जलकुम्भी हटाउने अभियान
यसैबीच, जाखोर तालमा रहेको जलकुम्भी हटाउने अभियान शनिवारबाट सुरु गरिएको छ । पर्यटन विकास गर्ने उद्देश्यका साथ तालमा डुङ्गा सञ्चालनका लागि जलकुम्भी हटाउन थालिएको हो । 
    धनगढी उपमहानगरपालिकाको पहलमा मेयर, उपमेयर सहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले शनिवार जलकुम्भी हटाउने काम गरे । तालमा डुङ्गा सञ्चालन गर्न सजिलो होस भनेर जलकुम्भी हटाउने अभियानको सुरुवात गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । 
    ‘पूर्ण रुपमा सफाइ नभएसम्म प्रत्येक शनिवार जलकुम्भी हटाउने कार्य हुनेछ’, नगर प्रमुख वडले भने–‘यद्यपि, यसमा प्राकृतिक कमलको फूल सुरक्षित रहन्छ ।’
    शिवपु्री धाम, जाखोर ताल, बेहडा बाबा मन्दिर र भादा थारु होमस्टेलाई समेटेर पर्यटन विकास गर्ने लक्ष्य रहेको वडले बताए । उनले छेउछाउमा साइकल ‘ट्रयाक’ बनाउने योजना नीति तथा कार्यक्रममै समेटेको जनाए । 
    धनगढी उपमहानगरपालिकाले तालमा आफूसंग रहेको दुई वटा डुङ्गा सञ्चालन गर्ने जनाइएको छ । तालबाट जलकुम्भी निकाल्नका लागि वडले सरसफाइको क्षेत्रमा काम गर्ने संघसंस्थालाई पनि आग्रह गरे । 
    कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले तालको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग गर्ने बताए । उनले ताल संरक्षणले पर्यटन विकासमा टेवा पुग्ने उल्लेख गर्दै अगाडि थपे–‘यो सुरुवात हो । जिल्लामा रहेको अन्य तालको पनि यसरी नै सरसफाई गरिनेछ ।’