Close This

‘शिक्षा र स्वास्थ्यमा सुधार आवश्यक’ – मन्त्री सुवेदी

मंगलबार मङ्सिर ११, २०७५/ Tuesday 11-27-18
Paschim Today

धनगढी, ११ मसिर । 
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार नभएसम्म प्रदेशको कायापलट हुन नसक्ने बताएका छन् ।  
    प्रदेशमा अशिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या बढी रहेको चर्चा गर्दै मन्त्री सुवेदीले अगाडि भने–‘यदि, यो दुई क्षेत्रमा सुधार गर्न सक्दैनौ भने सुदूरपश्चिम प्रदेशले कायापलट गर्न सक्दैन । त्यसैले शिक्षा र स्वास्थ्यमा सुधार आवश्यक छ ।’
    उनले यी दुवै क्षेत्रमा अधिकतम् सुधारका लागि आफू सधैं प्रयत्नशील रहने उल्लेख गरे । मन्त्री सुवेदीले स्वास्थ्य क्षेत्रको समस्या पहिचान र समाधान गर्नका लागि चाँडै नै विज्ञ टोली गठन गरेर अगाडि बढ्ने बताए । 
    ‘स्वास्थ्य क्षेत्रमा समग्र सुधारका लागि हप्तादिनभित्रै एउटा विज्ञ टोली गठन गरेर स्वास्थ्यमा रहेका राम्रा, नराम्रा पक्ष केलाएर अगाडि बढ्छौं’, सोमवार पश्चिम टुडेसंग कुराकानी गर्दै उनले भने–‘समस्या समाधान गर्नका लागि म प्रतिवद्ध छु ।’ 
    प्रदेशकै सबैभन्दा ठूलो सेती अञ्चल अस्पताल समस्याबाट अछुतो छैन । गुणस्तरीय सेवा प्रवाह हुन नसक्ने, दरबन्दी अनुसार कर्मचारी नभएको लगायत यावत समस्या रहेका छन् । यसैगरी, प्रदेशका अन्य अस्पताल र स्वास्थ्य संस्थामा पनि यस्तै समस्या रहेकाले यसका सवालमा बृहत छलफल गरेर समाधानका लागि अगाडि बढ्ने मन्त्री सुवेदीको भनाइ थियो । 
    उनले प्रदेशको प्रायः सबै स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको कर्मचारी नरहेको उल्लेख गर्दै कर्मचारी पदपूर्तिका लागि पनि पहल गर्ने बताए । ‘यद्यपि, कर्मचारी के कति दरबन्दी बाँकी छ, त्यसको बारेमा मैले विस्तृत बुझ्न बाँकी छ’, सुवेदीले भने–‘तर, दरबन्दी अनुसारको कर्मचारी राख्नका लागि म लाग्छु ।’ 
    उनले कर्मचारी पूर्तिका लागि करारमा भर्ना लगायतका विषयमा आफूले छलफल चलाउने बताए । ‘वास्तवमा यो प्रदेशमा कर्मचारी आउनै नचाहने, आएकाहरु दुर्गममा जान नमान्ने जस्ता समस्या रहेको मैले पनि थाहा पाएको छु’, मन्त्री सुवेदीले भने–‘धेरै कर्मचारी आएर पनि काजमा बसेको सुनेको छु, त्यसलाई अब व्यवस्थापन गर्छु ।’
    जनताले दिएको करबाट तलब खाइसकेपछि हरेक राष्ट्र सेवक कर्मचारीले आफ्नो दायित्व पूरा गर्न आवश्यक रहेको मन्त्री सुवेदीको भनाइ थियो । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु ड्युटी समय बाहेक आफ्नो निजी क्लिनिकमा काम गर्न पाउने तर, ड्युटी छोडेर आफ्नो फाइदाको लागि निजी क्लिनिक धाउन नहुने उनले उल्लेख गरे ।  
    ‘ड्युटी छोडेर चिकित्सकले निजी क्लिनिकमा विरामी हेर्ने गरेको हल्ला सुनिन्छ, तर मलाई लाग्छ जहाँसम्म चिकित्सकले त्यस्तो गर्नु भएको छैन होला’, मन्त्री सुवेदीले भने–‘यदि, त्यस्तो गरेर सर्वसाधारण जनतालाई मर्कामा पारेको पाइएमा पहिले छलफल गर्छौ, त्यति गर्दा पनि समाधान नभए हामी सोंचेर अगाडि बढ्छौं ।’ 
    प्रदेशको पहाडि जिल्लाको दुर्गम क्षेत्रमा अत्यावश्यक औषधि समयमै पु¥याउन र अभाव हुन नदिनका लागि पनि आफू प्रतिवद्ध रहेको मन्त्री सुवेदीको भनाइ थियो । ‘म आफै पनि दुर्गममा हुर्केकाले दुर्गमको स्वास्थ्य क्षेत्रमा के–के समस्या छ, भन्नेबारे जानकार छु’, उनले भने–‘औषधिको अभाव हुन नदिनका लागि मैले गर्नु पर्ने कुनै पनि काम गर्न बाँकी राख्दैन ।’
    यसैबीच, एक अर्को प्रसङ्गमा मन्त्री सुवेदीले शिक्षा क्षेत्रमा देखिएको समस्या र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधारका लागि आफूले पहल थाल्ने बताए । उनले व्यापक छलफल गरेर एउटा नीति बनाइ शैक्षिक गुणस्तर सुधारतर्फ लाग्ने उल्लेख गरे । 
    ‘शिक्षा क्षेत्र बडो जटिल छ’, मन्त्री सुवेदीले भने–‘गुणस्तरीय शिक्षा छैन, सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै छन् । यसलाई सुधार गर्नको लागि एउटा नीति बनाएर अगाडि बढ्छौं ।’