Close This

एचआइभी सङ्क्रमित फेला पर्ने दरमा कमी

बिहीबार मङ्सिर १३, २०७५/ Thursday 11-29-18
Paschim Today

धनगढी, १३ मसिर ।
कैलालीमा प्राणघातक एचआइभी एड्सको सङक्रमित फेला पर्ने दरमा कमी आएको छ । 
    सुदूरपश्चिम प्रदेशमा एचआइभी सङ्क्रमितको सङ्ख्या धेरै रहे पनि यो जिल्लामा नयाँ सङ्क्रमित फेला पर्ने दर घट्दै गएको स्वास्थ्य संस्थाले जनाएका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा छ हजार चार सय ८१ जनाको रगत परीक्षण गर्दा एक सय १५ जना सङ्क्रमित फेला परेका थिए । फेला परेका सङ्क्रमितमा सबैभन्दा बढी ६३ जना बाहिरबाट काम गरी आएका र ४१ जना उनीहरुको जीवन साथी रहेका जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ । यसैगरी, यौन व्यवसायीसंग यौन सम्पर्क गरेका तीन जनामा एचआइभी फेला परेको थियो । 
    चालु आर्थिक वर्षको प्रथम चौमासिकमा छ सय ९३ जनाको रगत परीक्षण गर्दा पाँच जनामात्रै सङ्क्रमित फेला परेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार गतविगतको तुलनामा कैलालीमा एचआइभी सङ्क्रमित फेला पर्ने दर घटेको सो कार्यालयका महेश चन्दले बताए । 
    सन २००६ देखि कैलालीमा एआरटी सेवा सुरु भएपछि हालसम्म दुई हजार पाँच सय ६० केस दर्ता भएको जनाइएको छ । जसमध्ये, पुरुष एक हजार एक सय ५०, महिला एक हजार एक सय ८३, समलिङगी÷तेस्रो लिङ्गी १५, बालक एक सय १५ र बालिका ९७ जना रहेका छन् । हाल एक हजार दुई सय ६१ जनाले एआरटी सेवा लिइरहेको चन्दले जनाए । 
    कैलालीको एआरटी सेन्टरमा कैलालीकै एक हजार ७१, कञ्चनपुरका एक सय ३२, डोटीका १४, बर्दियाका ११, बैतडी, अछाम र बझाङका तीन÷तीन, बाँके, सुर्खेत र डडेल्धुराका दुई÷दुई, बझाङ र दैलेखका एक÷एक जनाले सेवा लिइरहेका छन् । यस्तै, १६ जना भारतीयले पनि कैलालीको एआरटीबाट औषधि खाइरहेको पत्रकार सम्मेलनमा जनाइएको छ । एक सय ७७ जना सङ्क्रमित विरामी एआरटी सेन्टरमा आउन छोडेको चन्दले जानकारी दिए । 
    गत आर्थिक वर्षमा एआरटी औषधि खाइरहेका २९ जना सङ्क्रमितमा टीबी पनि देखा परेको थियो । टीबी समेत देखा पर्नेमा १६ पुरुष, ११ महिला, एक बालक र एक बालिका रहेका छन् ।    
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार एआरटी सेवा लिइरहेकामध्ये गत आर्थिक वर्ष ३३ जना सङ्क्रमितको मृत्यु भएको थियो । यसैगरी, एआरटी सेन्टर स्थापना भएदेखि कैलालीमा हालसम्म तीन सय जना सङ्क्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष छन् । दुई सय सात पुरुष, ७६ महिला र १७ जना बालबालिकाले हालसम्म ज्यान गुमाएको उल्लेख गरिएको छ । 
    सन २०१८ जुलाई महिनासम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशभरी दुई हजार नौ सय ७५ जना सङ्क्रमितले एआरटी सेवा लिइरहेको जनाइएको छ । यो सङ्ख्या नेपालको सातवटा प्रदेशमध्ये दोस्रो उच्च रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । 
    एचआइभी सङ्क्रमित विरामीले नियमित औषधि नखाइदिने समस्या नै मुख्य चुनौतीको रुपमा रहेको उनीहरुको भनाइ छ । औषधिको ‘साइड’ असर बढी हुने कारणले धेरै जसो विरामीहरु औषधि खाँदाखाँदै छोड्ने वा सम्पर्कबिहीन हुने गरेको सेती अञ्चल अस्पतालमा कार्यरत फिजिशियन डा. शेरबहादुर कमरले बताए । 
    ‘तर, विरामीमा क्रोनिक भइसकेकाले धेरै रोगले आक्रमण गर्ने सम्भावना हुन्छ’, उनले भने–‘त्यसैले सङ्क्रमितले नियमित औषधि सेवन गर्न आवश्यक छ ।’
    यसैबीच, डिसेम्बर १ मा एचआइभी÷एड्सको क्षेत्रमा काम गर्ने संस्था एएफएचको सहकार्यमा एचआइभी÷एड्स विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइने जनाइएको छ । शनिवार धनगढीमा बृहत ¥यालीका साथै एआरटी खाइरहेका सन्तुष्ट र असन्तुष्टबीच अन्तरक्रिया, किशोर किशोरीमा जनचेतना, बल्चौर, खानीडाँडा र धनगढी बसपार्कमा रगत परीक्षण गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सोही दिन त्रिनगर भन्सारमा कण्डम प्रबद्र्धन कार्यक्रम पनि राखिने चन्दले जानकारी दिए ।