कहाँ हराए औषधी उपचारको घोषणा गर्नेहरु ?

SITENAME


दीर्घराज उपाध्याय।
डडेल्धुराको रुडुवामा बस दुर्घटना भएको आज ८ दिन भयो । १८ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा घाईते भएकाहरु अस्पतालको शैयामा छटपटाईरहेका छन् । कोही प्रियजनको मृत्युको पीडामा त कोही मनसंगै शरीरमा जिन्दगीभरीका लागि लागेको नपुरिने घाउका कारण छटपटाईरहेका छन् । 

दुर्घटनामा पति गुमाएकी २१ वर्षीया हरिना बोहरा त पति बियोगमा रुनसम्म पनि पाईनन । महिलाका लागि पतिको मृत्युभन्दा ठूलो पीडा अरु हुदैन । उनले त पतिको मृत्यु भएको पनि थाह पाईनन । डोटीको आदर्श गाँउपालिका तल्लीसात गाँउकी हरिना पति एकिन्द्र बोहरासंगै उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पताल गएकी थिईन । त्यहाँबाट फर्किदै गर्दा उनीहरु चढेको बस रडुवामा दुर्घटनामा प¥यो । उनका पतिको मृत्यु भयो । उनी घाईते भएर बेहोस भईन । होश खुल्दा उनी अस्पतालको शैयामा थिईन । यता उनी अस्पतालको शैयामा थिईन । उता डोटीमा उनका पतिको चिता जल्दै थियो । 

बिबाह भएको १० महिनामै पति गुमाउनुको पीडा छदैछ । घरको मुली, अभिभावक पति जे भनेपनि एकिन्द्र नै उनका लागि सबथोक थिए । बिबाह अघि एकिन्द्र भारतमा काम गर्थे । बिबाहपछि उनी भारत फर्केनन । एकिन्द्रको मृत्युभएपछि उनको त केही बाँकी रहेन । उनको बाया खुट्टा भाँचिएको छ । छाती र मुखमा चोट लागेको छ । 
उनको परिवारमा एक जना देवर छन् । उनी सानै छन् । अरु कोही छैनन । परिवारका सदस्य कोही नभएका कारण माईतीले उनको उपचार गरिरहेका छन् । काकी चन्द्रा धामी र भदा बसन्त अस्पतालको शैयामा रहेकी उनलाई कुरिरहेका छन् । यद्दपि पैसाको अभावमा उनीहरु सकसमा छन् । उपचार गर्न कठिनाई भईरहेको छ ।

सोही दुर्घटनामा घाईते भएकी डोटीकी संगिता बिकको पनि सेती अञ्चल अस्पतालको सर्जिकल वार्ड उपचार भईरहेको छ । उनको बाँया हात भाँचिएको छ । घरबाट ल्याएको तीन हजार सकिएपछि आर्थिक अभावमा उनकी आमा गणेश बिकले धनगढीमा एक तोला सुन बेचिन । त्यसले पनि पुगेन । उनी अहिले बेखर्ची छन् ।
सेती अञ्चल अस्पतालमा सामाजिक सुरक्षा ईकाई छ । गरीव, अपांग, एकल महिला, जेष्ठ नागरिक लगायतलाई निशुल्क औषधी दिने ईकाईले भने प्रमाण नभएको भन्दै औषधी दिन नमानेको घाईतेहरुको गुनासो छ ।

सरकारी अस्पतालमा उपचार गराईरहेकाहरु त बिचल्लीमा छन् । आर्थिक अभावमा कठिनाई झेलिरहेका छन् भने निजी अस्पतालमा उपचार गराईरहेकाहरुको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । 
प्रधानमन्त्री केपी ओलीले सामाजिक सुरक्षा कार्यक्रमको दुई दिन अघि उद्घाटन गर्ने क्रममा सरकार जताततै भएको उद्घोष गरे । हेर्न नचाहेपनि सरकार देखिने दावी गरे । 
हरिना र संगिताको अवस्था हेर्दा यस्तो लाग्छ, सरकार असहाय, गरीव र पीडामा साथ दिन नभएपनि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरुलाई जोगाउन भने पक्कै पनि देखिने गरी लागेको छ ।
प्रधानमन्त्रीले कि ठट्टा गरेको होईन भनेर भनि दिनुप¥यो । कि देखाई दिनु संगिता,हरीना र निर्मलाहरुका लागि कहाँ निर छ, सरकार ।दुर्घटनामा घाईतेहरुको बिजोगपूर्ण अवस्था, संघिय सरकारपछि अव लागौ, सुदूरपश्चिमका मुख्यमन्त्री,मन्त्री,पूर्वमन्त्री,सांसदहरु तर्फ । दुर्घटना भएको भोलिपल्ट बिहान सामाजिक सञ्जालमा मन्त्री,पूर्वमन्त्री,सांसद र नेताहरुका घोषणाहरु सामाजिक सञ्जालहरुमा भाईरल भए ।

एक जनाले सामाजिक सञ्जालमा लेखे,सामाजिक विकास मन्त्री कृष्ण सुवेदीको पहलमा हेलिकोप्टरबाट घाईतेहरुलाई उपचारका लागि काठमाण्डौं लगिदै ।

अर्कोले दावी ग¥यो, माओवादी नेता लेखराज भट्टको पहलमा हेलिकोप्टरको व्यवस्था । घाईतेहरुलाई उपचारका लागि काठमाण्डौं लगिदै ।

‘डोटीबाट निर्वाचित माननीय प्रेम आलेको पहलमा घाईतेहरुका लागि हेलिकोप्टर आउद’ै नेकपाका एक कार्यकर्ताले आफ्नो फेसबुक वालमा लेख्न भ्याए । 

मुख्यमन्त्री त्रिलोचन भट्टले घाईतेहरुलाई भेटेर प्रदेश सरकारले औषधी उपचार गरिदिने घोषणा गरेको खवर पनि सामाजिक सञ्जालमा भाईरल भयो ।
पूर्वमन्त्री बीर बहादुर बलायरपनि के कम, उनले पनि सबै घाईतेको उपचार आफूले गर्ने घोषणा गरिदिए ।

चुनावताका जनतालाई झुटा आश्वासन दिने नेताहरुले जनताको पीडा र दुखाईमा पनि झुटा आश्वासन दिन अलिकति पनि लाज मानेनन । फटाफट घोषणा गरिहाले । कतिपयलाई आफू घोषणा गर्न पछि परेकी भन्ने लाग्यो होला । चुनावको समयमा एक उम्मेदवारले सेती अञ्चल अस्पतालाई तीन सय शैयाको बनाउने घोषणा गरे लगत्तै अर्को पार्टीका उम्मेदवारले पाँच सय शैयाको बनाउने घोषणा गरेका थिए । तर चुनाव भएको वर्षदिन भयो, अस्पतालको अवस्था झनै अस्तव्यस्त भएको छ । शैया थपिनु त टाढाको कुरा हो ।

बस दुर्घटनाका घाईतेहरुको उपचारमा पनि त्यस्तै भयो । घोषणा सबैले गरे । तर आफैले बोलेको कुरा पुरा गर्नुपर्ने उनीहरुको दायित्व हो कि होईन ? त्यो दायित्वबाट उनीहरु पञ्छिन मिल्छ कि मिल्दैन ? हनुमानहरुले आफ्ना नेताको जयजयकार गरे । सामाजिक सञ्जालमा आफ्ना नेतालाई भगवानकै प्रस्तुत गरे । आफ्नो एक दिनको तलव भत्ता दिन नसक्नेहरुले सम्पूर्ण घाईतेहरुको उपचारको जिम्मेवारी लिए । 

घोषणा गर्न पैसा पर्दैनन । गरि दिए । थाह थियो, काम गर्नेले घोषणा गर्दैनन । काम गर्छन । काम । काम नगर्नेले घोषणा गर्छन । हल्ला गर्छन । प्रचार गर्छन । यही नै उनीहरुको काम हो । सस्तो लोकप्रियताका लागि घोषणा गर्ने अन्धभक्त हनुमानहरुकै कारण नेताहरु नसुध्रिएका हुन् । अझ काम नलाग्ने गरी बिग्रिएका हुन् । 

आफ्ना नेताहरुले जे भनेपनि ताली ठोक्ने, उनीहरुले जे भनेपनि समर्थन गर्ने कार्यकर्ताहरुको अन्धसमर्थनका नेताहरु गतिहिन, छाडा र प्रचारवाजी भएका हुन् । जस जसले आफ्ना नेताहरुलाई भगवान बनाए । भाषणमात्र गर्ने, काम नगर्ने नेताहरु जत्तिकै उनीहरु पनि दोषी छन् ।हो, यही कारण हाम्रो प्रदेशको विकास हुन नसकेको हो । नगरेको कामको जस लिने नेता । तिनैलाई भगवान मान्ने कार्यकर्ता । 

कामै नगरी भगवान बनाउने कार्यकर्ता भए नेताले किन काम गर्छन ? तिनै काम नगर्ने नेतालाई जिताउन आफ्नै घरकै सदस्य र छिमेकीसंग पाखुरा सुर्किने कार्यकर्ता भएपछि नेता त दंग पर्ने नै भए ? त्यही कारण हो, उनीहरु चुनाव जितेपछि जवाफदेही नहुने । चुनाव जितेपछि जनताको काम भन्दा आफ्नो निजी सुख सयल र अर्थहीन कार्यक्रमहरुमा समय व्यतित गर्ने नेताहरुको प्रबृतिमा सुधार नहुने कारण पनि त्यही हो । 

दोसल्ला, सम्मान, अविर, फुल माला, अनि उद्घाटनमा व्यस्त छन्, मुख्यमन्त्री, मन्त्री र सांसदहरु । ६ महिनामा दुई पटक उनीहरुले आफ्नो तलव र सेवा सुबिधा बढाए । कर्मचारीले भने दशैंमा तलव खान पाएनन । भ्रमण, अवलोकन, तलव, भत्ता, फर्निचरमा करोडौ रुपैमा उनीहरुले खर्च गरे । विकास बजेट भने एक सुको खर्च गरेनन । सायद यसैको नाम संघियता हो । जनता र भेगको विकास गर्नु नपर्ने । आफ्नो र आसेपासेको विकास गरे पुग्ने ।

संघीय र प्रदेश सरकारका मन्त्री, सांसदहरु कतिसम्म संवेदना शुन्य छन् भने शैयामा रहेका घाईतेहरुसंग फोटो खिचेर गोहीका आँशु बगाउने तर उपचारमा सुको खर्च नगर्ने । 
घाईतेहरुसंग सेल्फी खिचाएर उनीहरुको पीडासंग खेलाची गर्ने संवेदनाशुन्य नेताहरुबाट के अपेक्षा गर्ने ? सक्छौ भने उनीहरुको घाउमा मल्हम लगाउ । सक्दैनौ भने उनीहरुको पीडामाथि राजनीति नगर । 

घाईतेहरुको सम्पूर्ण उपचार गर्छौ भन्ने आफ्ना नेताहरुलाई कार्यकर्ताहरुले प्रश्न गर्न जरुरी छ । कहाँ कस्को उपचार गर्नुभयो ? कति खर्च गर्नुभयो ? 
कार्यकर्ताहरुले प्रश्न नगर्ने हो वा प्रश्न गर्ने हिम्मत नगर्ने हो भने उनीहरु अझ बढि स्वेच्छाचारी हुनेछन् । अझ बढि गैर जिम्मेवार हुनेछन् । जव कार्यकर्ताहरु प्रश्न गर्न थाल्नेछन् । तव नेताहरु जिम्मेवार हुनेछन् । जवाफदेही हुनेछन् । र बोल्नु भन्दा पहिले सोच्ने छन् । र त्यसपछि पुरा गर्न सकिने कुरा मात्र बोल्नेछन् । र बोलेका कुरा पुरा गर्न थाल्नेछन् । अहिलेसम्म कार्यकर्ताले जस्तो सुकै अवस्थामा आफ्नो नेताको बचाउ गरे । अव गलत गर्ने नेताको बचाउ गर्न छोड्नुपर्छ । तवमात्र नेताहरु सुध्रिने छन् । उनीहरुको बोली सुध्रिने छ । र बोलीमा लगाम लाग्नेछ । 

आज जसरी अरु घाईते हुदा नेताहरुले गरेका घोषणा पुरा गरेनन । भोलि तपाई दुर्घटनामा पुर्नभयो भने नेताहरुले यसैगरी हावादारी भाषण गर्नेछन् । त्यो भाषणलाई लिएर केही थान कार्यकर्ताले ताली ठोक्ने छन् । सामाजिक सञ्जालमा प्रंशसा गर्नेछन् । र बनाउनेछन्,भगवान । तर तपाईको हालत पनि अहिले पैसाको अभावमा अस्पतालको शैयामा छटपटाईरहेको घाईते भन्दा फरक हुने छैन । आगे तपाईको मर्जी ।

प्रतिकृया दिनुहोस

नेतृत्व एकजुट भएमात्रै थारु समुदायलाई न्याय 

विनय वैद्य । नेपालको तराई भु–भागमा लगायत विभिन्न पहाडि क्षेत्रमा समेत लामो समय वसोवास र मिहिनेत गर्दै आएका थारु समुदायको इतिहास र गौरव छुट्टै छ ।

SITENAME

खुशी

प्रकृती भुवन | मानिस जिवन भर जिउन नजानेरै जिउँछ । जिवनभर सुखी र खुशी कसरी हुने भन्ने ध्याउन्न मै कस्तुरी मृग झैं भौतारी रहन्छ । कोही समय रहदैं कस्तुरी

SITENAME

राजधानीको स्थान चयनको अन्तर्य

दीर्घराज उपाध्याय । मैले त झुक्न पो भनेकी थिए । यी त लम्पसार नै परे । भारतकी तत्कालिन प्रधानमन्त्री स्व.ईन्दिरा गान्धीले संकटकाल लगाएको केही