Close This

कपर्दीको उर्वरभूमि हल्दुखाल–तिलाचौर 

शुक्रबार मङ्सिर १४, २०७५/ Friday 11-30-18
Paschim Today

शेरबहादुर सिंह, कन्चनपुर, १४ मंसिर ।

खेल जीवनका क्रममा कञ्चनपुर भीमदत्तनगरपालिका–७ हल्दुखालका विष्णुदत्त भट्टले ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे ।     
    नेपालले हालसम्मको कपर्दीखेलको इतिहासमा एशियाली, साफ र साफ च्याम्पियनसिप गरी १५ पटक अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाएको छ । विसं २०४२ सालमा कपर्दीखेलमा प्रवेश गरेका भट्ट २०६० को दशक यता जिल्ला खेलकूद विकास समिति कञ्चनपुरमा प्रशिक्षकका रुपमा कार्यरत छन् । 
    विसं २०५३ सालताका लगातार सात वर्ष नेपालको कपर्दी टिम क्याप्टेन रहेका भट्ट हरेक चार वर्षमा हुने एशियाली खेलकूद प्रतियोगिता लगातार खेल्ने कुनै बेलाका दुर्लभ खेलाडी पनि हुन । पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ रहेको हल्दुुखालका भट्टजस्तै सयौँ कपर्दी खेलाडी जन्माएको सो क्षेत्रबाट हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व टुटेको छैन । भीमदत्तनगरपालिकाको वडा नं ६, ७, ८ र १० सुदूरपश्चिम प्रदेशकै कपर्दीकोे ‘हव’का रुपमा खेल जगत्मा परिचित छ ।
    विसं २०४२ सालयताका नगरस्तरीयदेखि महकाली अञ्चल हुँदै सुदूरपश्चिम प्रदेशको टिम बन्दा उक्त वडाका खेलाडीको प्रतियोगितामा निरन्तर सहभागिता रहेको कपर्दी प्रशिक्षक भट्टको भनाइ छ । 
    “यहाँको हल्दुखाल, सुकासाल, बनगाउँ, तिलाचौर र ऐठपुर कपर्दी खेलाडीको केन्द्रभन्दा फरक फर्र्दैन ।” उनले भने “सो वडाबाट ३६ महिला तथा पुरुष खेलाडीले साफ, एशियन र ६० ले राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।” 
सन् २०१२ मा पनि तिलाचौरका महिला खेलाडी सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले पहिलो महिला विश्वकप कपर्दी प्रतियोगितामा भाग लिएका थिए । सरस्वती हाल निःशुल्क रुपमा स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै छिन भने लक्ष्मीले गृहणी जीवन सम्हालेकी छिन् ।     
    विगत १९ वर्ष खेल प्रतियोगितामा बिताउनुभएका भट्टदेखि हाल नेपालको कपर्दीको मुख्य प्रशिक्षक तारासिंह भाट हँुदै कञ्चनपुर कपर्दीसङ्घको नेतृत्वसमेत सो क्षेत्रका पूर्व खेलाडीकै छ । कपर्दीमा सुदूरपश्चिम प्रदेशमै अब्बल रहँदै आएको यहाँको टिम आगामी आठौँ राष्ट्रिय प्रतियोगितामासमेत महिला खेलाडी स्वर्णपदकको दाबेदार रहेका छन् ।
    “अहिले पनि गाउँमा क्लबदेखि स्कूलसम्म कपर्दीकै रौनक देख्न सकिन्छ ।” भट्टले भने, “कवर्डहलमा पनि महिला र पुरुष गरी ७० खेलाडी प्रशिक्षणरत छन् ।” उनले राम्रा र अनुभवी खेलाडी भविष्य खोज्न वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता आइलागेको बताए ।     
    “साफ खेलिसकेका यहाँका खेलाडीसमेत अहिले दुबईमा सुरक्षा गार्डमा नौकरी गर्दैछन् ।” उनले भने, “यहाँबाट उत्पादित धेरै खेलाडी सेना प्रहरीमा जागिरे भइसके ।” हल्दुखाल क्षेत्र घर भएका चार जना खेलाडी सशस्त्र प्रहरीको एपिएफ, चार महिला खेलाडी नेपाल प्रहरी र सात खेलाडी आर्मी क्लबमा अनुबन्धित छन् ।
पुराना खेलाडीको प्रेरणाले नयाँ पुस्ता निरन्तर कपर्दीमा आबद्ध छ । बुबादेखि छोरा हँुदै बुहारीसम्म यहाँको तिलाचौरका धर्मे सुनारको परिवारले दशकसम्म कपर्दीमा बिताएको छ ।     सुनार साफ प्रतियोगितासम्म सहभागी भए भने उनका छोरा सुरेन्द्र सुनारले राष्ट्रिय प्रतियोगिताको सहभागितापछि हाल नेपाल प्रहरीको जागिरको यात्रा अघि बढाइरहेका छन् ।     
    कञ्चनपुरमा २०३७ सालदेखि शुरु भएको कपर्दीखेल हालसम्म चलिरहेको छ । महाकाली अञ्चलको टिमले २०४२ सालको दशकमा लगातार तीन पटक राष्ट्रियस्तरमा स्वर्ण जितेको थियो । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली र दार्चुलामा कपर्दीकोे नियमित प्रशिक्षण भइरहेको छ ।     
    भीमदत्तनगरपालिका–६ का धनीराम पार्कीले पनि २०४२ को दशकमा कपर्दीमा आफ्नो नाम प्रायः उचाइमै राखे । हाल कञ्चनपुरमै कपर्दी प्रशिक्षकका रुपमा कार्यरत पार्कीले पनि थुप्रै खेलाडी तयार गरिसकेका छन् ।     
    राष्ट्रिय टिममा लामो समयदेखि भीमदत्तनगरका खेलाडीको प्रतिनिधित्व रहेको बताउँदै कपर्दीको पूर्वखेलाडी रमेशचन्द्र ओझाले हल्दुखाल क्षेत्र कपर्दीकोे उर्वरभूमि भएको बताउँछन् । कपर्दीखेलमा २०५८ सालदेखि आबद्ध ओझा हाल कपर्दीकोे राष्ट्रिय निर्णायक हुन ।     
    “हाम्रो क्षेत्रमा कपर्दीमा लगानी गर्ने हो भने अझै उदीयमान खेलाडी जन्मिनेमा आशंका नगरे हुन्छ ।” ओझाले भने “त्यसतर्फ राज्यको ध्यान गए मात्रै सम्भव हुन्छ ।” 
जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले कपर्दीमा सुदूरपश्चिम मुलुकमै अब्बल रहेको बताए । “यहाँ उत्पादन भएका सबै खेलाडी अहिले विभागीयमा आबद्ध हुनु बाध्यता छ ।” उनले भने, “राम्रा खेलाडी अवसर नपाउँदा खेल जगत्मै रहन नसक्नु दुःखद् विषय हो ।” उनले कपर्दी, हक्की, भलिबल, क्रिकेटलगायतका खेलमा सुदूरपश्चिमको स्थान राम्रै रहेको बताए ।