Close This

गेटा मेडिकल कलेज निर्माणको कामले गति लियो

शनिबार मङ्सिर १५, २०७५/ Saturday 12-01-18
Paschim Today

सिद्धराज भट्ट, धनगढी, १५ मंसिर । 

कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ ।   
      सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको यो कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै उक्त कलेजमा पठनपाठन सुचारु हुने आशा पलाएको स्थानीयवासी तीर्थराज ओझाले बताए । 
    ‘‘शुरुका वर्षमा विभिन्न बाधा अवरोध र झन्झटिलो प्रक्रियाका कारण यो योजना कार्यान्वयनमा आउनेमा शङ्का थियो, ओझाले भने, “अहिले भने काम धमाधम भइरहदा आशा जगाएको छ ।” 
     सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा झन्झटिलो प्रक्रियाका कारण निर्माणकार्य भने दुईवर्ष अघिदेखि मात्रै शुरु भएको थियो । मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको पहिलो चरणको काम अन्तिमचरणमा पुगेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिए । 
    अस्पताल भवनका बाँकी तीन तलासहित अन्य सातवटा संरचना निर्माणका लागि हालै बोलपत्र आह्वानसमेत भइसकेको छ । पहिलो चरणमा कलेजको तीन तले अस्पताल भवन निर्माणको काम आगामी एक वर्षभित्र पूरा हुनलागेको निर्माण कम्पनीका इञ्जिनीयर शिव कार्कीले बताए ।    
    कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुईवटा छुट्टा छुट्टै भवन निर्माणाधीन रहेकोमा ५५ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ । यस्तै पाँच तलाका दुईवटा छात्रवास भवनको काम पनि करीब ४० प्रतिशत पूरा भइसकेको छ । आउने पुस महीनाभित्रमा यो भवनको काम पूरा हुने जनाइएको छ ।
    चिकित्सकको आवास गृहका रुपमा आठवटा भवन निर्माण गरिन लागिएको छ । अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माण गर्न लागिएको छ । मेडिकल कलेज परिसरको मूल बाटोलाई यसवर्ष ग्राभेल गर्न लागिएको छ । 
    कलेज निर्माणस्थलको उत्तर तर्फ रहेको नदीको नियन्त्रणको कामका साथै नदी किनारमा नयाँ सडक निर्माणको काम पनि सँगसँगै गर्न लागिएको छ । चालु वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको कामका लागि बोलपत्र आह्वान गर्न लागिएको छ ।  
    गेटा मेडिकल कलेज छ सय श्ययाको निर्माण गर्ने लक्ष्य छ । कलेजको पहिलो चरणमा निर्माणाधीन अन्य कतिपय भौतिक पूर्वाधारको काम आर्थिक वर्ष २०७७÷७८ मा पूरा गर्ने लक्ष्य छ । ‘‘कलेजमा पठनपाठन शुरु गर्नका लागि भने संस्थाको ऐन कानून आवश्यक पर्ने हुन्छ, कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक पुजाराले भने, “यसका लागि सरकारले गृहकार्य गर्नु जरुरी छ ।” 
     भौतिक संरचना निर्माणका लागि हालसम्म रु तीन अर्ब पाँच करोडको ठेक्का भइसकेकोमा चालु आर्थिक वर्षमा थप रु एक अर्ब बराबरका संरचना निर्माणका लागि ठेक्का दिइएको छ ।
     कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्रकुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्रालि संलग्न रहेका छन् । 
कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलब ८ हेक्टर जग्गामा रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले पूर्वाधार निर्माणको काम पनि ढिलो गरी शुरु भएको हो ।  
     कलेजको भोग अधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिगाहा जग्गामा मुक्तकमैया परिवारको बसोवास छ । उनीहरुलाई समयमै अन्यत्र पुनःस्थापन गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा संरचनाको निर्माण कार्य भने अन्योलमा छ । 
     “मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तर्गतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना छ, कार्यकारी निर्देशक पुजाराले भने, “तर सम्बन्धित नगरपालिकाले उनीहरुलाई अन्यत्रै बसोवास गराउन अहिलेसम्म पहल नगर्दा संरचना निर्माणमा समस्या सिर्जना हुने देखिएको छ ।” 
     मेडिकल कलेज स्थापनाको घोषणासँगै खुशी भएका सुदूरपश्चिम प्रदेशवासी कलेजमा पठनपाठन सञ्चालन हुने योजनाको प्रतिक्षामा छन् ।