Close This

रेलको लागि सर्भे भएपछि स्थानीय अन्यौलमा

सोमबार मङ्सिर १७, २०७५/ Monday 12-03-18
Paschim Today

धनगढी, १७ मंसिर । 
नेपाल सरकारले पूर्व–पश्चिम रेल सञ्चालनका लागि सर्भे गरेपछि कैलालीको अत्तरियामा रहेका प्रभावित हुने स्थानीय अन्यौलमा परेका छन् । 
    रेल विभागले सर्वेक्षण गर्दै रेलमार्ग क्षेत्रमा पर्न जाने ठाउँमा संरचना निर्माण नगर्न र निर्माणाधीन संरचनाको निर्माण कार्य रोक्न भनेपछि प्रभावित हुने स्थानीय अन्यौलमा परेका हुन । उनीहरुले निर्माणाधीन संरचनाको काम अगाडि बढाउन सकेका छैनन् । रेल विभागका कर्मचारीले रेलमार्ग क्षेत्रमा पर्न जाने ठाउँमा संरचना बनाउन नभनेपछि निर्माणाधीन घरको काम रोकेको स्थानीय रामचन्द्र फुलाराले बताए । 
गन्यापधुरा गाउँपालिका–५, डडेल्धुराका उनले स्थानीय प्राथमिक विद्यालयमा १९ वर्ष शिक्षण गरी कमाएको पैसाले कैलालीको अत्तरियामा जमिन किने । दुई कठ्ठा जमिन किनेर सानो घर बनाउने र छोराछोरीलाई राम्रो शिक्षा दिने उनको सपना थियो । सरसापट र ऋण काढेर उनले घरको जग हाले । पिल्लर ठड्याए । घरको छत ढलानको तयारी गर्नै खोज्दा रेल विभागबाट आएको सर्भे टोलीले उनको घर बीचमै पारेर नाप्यो । ‘रेलको लिक आउने भन्दै घर बीचमा पारेर फित्ताले नाप्दै टोलीले निर्माण कार्य अब अगाडि नबढाउन भन्यो,’ उनले भने–‘घर ढलानको तयारी थाल्दै गर्दा अलमलमा परेँ ।’ 
एकएक पैसा जोडेर किनेको जमिनमै रेल आउने भएपछि अब कहाँ घर बनाउने भनेर अलमलमा परेको बताउँदै उनले थपे–‘भएभरको पैसाले जग्गा किनियो, जग हालियो, अब अर्को ठाउँमा जग्गा किन्न र जग हाल्नलाई पैसै छैन ।’ 
जीवनभर कमाएको पैसाले तराईमा बल्लतल्ल जग्गा किनेको उनले बताए । ‘जीवनभर कमाएर तराईमा बल्लतल्ल जग्गा किने,’ उनले भने–‘त्यही जग्गामा रेल आउने भएपछि घर न घाटको भएको छु ।’ रेल आउने भए पनि चाँडै ल्याउनु पर्ने, नभए घर बनाउन दिनुपर्ने उनी बताउँछन् । ‘रेल ल्याउने नै भए सरकारले एउटा निर्णय दिनुपथ्र्यो,’ उनले भने–‘नभए हामीलाई अलमलमा पारेर घर न घाटको बनाउनु राम्रो हैन ।’
सोही ठाउँका दिलीपकुमार भट्टले पनि युवाअवस्थामा भारतमा मजदुरी गरे । भारतमा कमाएको पैसाले घडेरी किने । ‘दुई वर्षअघि घडेरी किने र लगत्तै घर पनि बनाए,’ उनले भने,‘घरमा बस्न नपाउँदै अहिले घर भएकै ठाउँमा रेल आउने भयो ।’ आफ्नै कमाइमा घर बनाएर सुखी साथ बस्ने सपना रेलले उडाउन थालेको उनले बताए । ‘जीवनभर कमाएर बनाएको सानो घरमै रेल आउन थाल्यो,’ उनले भने,‘सपनाको घर नै रेलले उठीबास लगाउन थाल्यो ।’ सरकारले या त चाँडै रेल ल्याउनुपर्ने, नभए अर्को ठाउँमा नमूना बस्ती बसालिदिनुपर्ने उनी बताउँछन् ।
रेल विभागबाट आएको भन्दै केही व्यक्तिले आफ्नो घरजग्गा नाप्दै चिन्ह लगाउँदै गएको स्थानीय पुष्पराज चटौतले बताए । उनले भने–‘रेल विभागका कर्मचारी हौँ भन्दै आए, फित्ताले नाप्दै पश्चिमतर्फ लागे ।’ उनीहरुले अब भौतिक संरचनाहरु नबनाउन पनि निर्दैशन दिएको उनी बताउँछन् । ‘जेजति भौतिक संरचनाहरु छन् ती बाहेक अब अन्य नबनाउनुहोला भने,’ उनले भने–‘बाहिर चर्पी बनाउने सोच थियो, त्यो पनि रोकियो ।’ 
आफू मात्र नभई छिमेकका २२ घर रेल प्रभावित क्षेत्रमा परेको चटौत भनाइ छ । ‘केही मानिस आएर नापजोख गरेको देख्दा रेल पक्कै आउँछ भन्ने लाग्छ,’ उनले भने,‘अर्कोतर्फ भरोसा पनि लाग्दैन ।’ सरकारले रेल ल्याउने भए चाँडै व्यवस्थापन गर्नु पर्ने नभए नापजोख गरेर सरकारले आतंकित बनाउन नहुने उनी बताउँछन् । रेल विभागका कर्मचारीले उनको टोल भएर नापजोख गर्दा २२ घर विस्थापित हुने देखिएका छन् । 
रेल विभागका सर्वेक्षक अजयकुमार यादवले पूर्वतर्फ रेलको लिक निर्माण कार्य धमाधम भइरहेको बताए । ‘पश्चिमतर्फ अहिल्यै काम सुरु भएको छैन, प्रारम्भिक सर्भे थालिएको छ ।’ उनले भने । विभिन्न ठाउँमा मुआब्जा र अन्य विवादका कारण पश्चिमतर्फ रेलको लिक निर्माणको कार्य अहिल्यै नथालिएको यादवले बताए । 
‘प्रारम्भिक सर्भे सुरु भएको छ,’ उनले भने,‘रिपोर्ट आइसकेपछि त्यहाँको भौगोलिक अवस्था, जनसंख्या, जमिन, बस्तीको अध्ययन गरेपछि मात्रै कार्य अगाडि बढाइने छ ।’ पश्चिम क्षेत्रमा रेल लैजान अझै केही वर्ष लाग्ने बताउँदै उनले भने–‘पश्चिमतर्फको ‘डिटेल सर्भे’ नहुन्जेल कहिलेसम्म काम सुरु हुन्छ भन्ने अहिल्यै भन्न सकिँदैन ।’ 
नेपाल सरकारले निकट भविष्यमा पूर्व–पश्चिम रेल गुडाउने लक्ष्य लिएको छ । सोही योजना अनुरुप पश्चिममा समेत रेलमार्ग बनाउनका लागि सर्भे गरिएको हो ।