Close This

लागुऔषध सेवन गर्ने विवादमा थापाको हत्या ः प्रहरी

मंगलबार मङ्सिर १८, २०७५/ Tuesday 12-04-18
Paschim Today

धनगढी, १८ मंसिर ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का विजय थापाको हत्या उनकै साथी आशिष सेठीले गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । 
    लागुऔषध प्रयोग गर्ने विवादमा आशिषले घरको सिढीमा विजयको टाउको ठोक्काएपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले पीडित परिवार समेतको उपस्थितिमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उनीहरु दुवै जना आपसमा मिल्ने साथी रहेको र भारतबाट लागुऔषध खैरो हिरोइन खरिद गरी प्रयोग गर्दै आएका थिए ।  गत कार्तिक ३० गते राति करिब नौ बजेतिर उत्तर बेहडीमा विजयको हत्या भएको थियो ।  
    रक्ताम्ये विजयलाई घिसार्दै लगेको अवस्थाबाट आशिषलाई घटना स्थलबाटै पक्राउ गरिएको थियो । घटना भएको दिन दुवै जनाले तीन÷तीन पटक लागुऔषध सेवन गरेको र चौथो पटक सेवन गर्ने विषयमा विवाद हुँदा आशिषले विजयको टाउको सिढीमा ठोक्काएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।   
    ‘त्यो दिन उनीहरु दुवैको सल्लाहमा ज्ञानेन्द्र चौधरीको घरको छतमा गएर तीन÷तीन पटक लागुऔषध लिइसकेका थिए’, उनले भने–‘आशिषले चौथो पटक खैरो हिरोइन सेवन गरौं भनि रहँदा विजय उठेर सिढीको बिच भागमा पुगेपछि दुवैवीच हातपात भइ आशिषले विजयको टाउको सिढीमा ठोक्काएको अनुसन्धानबाट खुलेको छ ।’ आशिषले आफ्नै साथीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए । 
    टाउको ठोक्काएपछि घाइते भएका विजयलाई अन्यत्र लुकाउन लैजाने मनसायले आशिषले घिसारेको प्रहरीले बताएको छ । ‘विजय घाइते भएपछि आशिष हतास भएको थियो, र, कतै लुकाउने मनसायले घिसारेको पुष्टि भएको छ’, प्रहरी नायब उपरीक्षक ओलीले भने–‘तर, स्थानीयले अभियुक्तलाई समात्ने बित्तिक्कै त्यहाँ पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लियो ।’
    विजय थापाको मष्तिस्कमा चोट लागेर ज्यान गएको पोष्टमार्टम रिपोर्टमा पनि उल्लेख छ । आफ्नै साथीको हत्या गर्ने आशिष लागुऔषध कारोबारको फरार दोषी रहेको र उनलाई प्रहरीले समेत निगरानी गर्दै आएको थियो, ओलीले भने । उनीमाथि कार चोरीको मुद्दा पनि थियो । तर, मुद्दा तामेली भएपछि गत असार १० गते कैलाली जिल्ला अदालतमा ५० हजार धरौटी राखेर रिहा भएको प्रहरीले जनाएको छ । आशिषमाथि कतव्र्य ज्यान मुद्दामा कारबाही हुने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।