Close This

संस्थानको डिपोमा कम धान खरिद

बुधबार मङ्सिर १९, २०७५/ Wednesday 12-05-18
Paschim Today

धनगढी, १९ मंसिर । 
मङ्सिर दोस्रो साताबाट धान खरिद गर्न सुरु गरेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले अपेक्षाकृत धान खरिद गर्न सकेको छैन । 
    संस्थान र व्यापारीको धान खरिद मूल्यमा प्रतिस्पर्धा भएपछि कैलालीको विभिन्न ठाउँमा स्थापना गरिएको डिपोमा धान आउनेक्रम सुस्त रहेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालयले जानकारी दिएको छ । 
    ‘गतवर्ष जसरी धान आएको थियो, त्यसरी यो वर्ष आएको छैन’, संस्थानका अञ्चल प्रमुख प्रेमनारायण भण्डारीले भने–‘सुस्त रुपमा आउनेक्रम भने जारी रहेको छ ।’ खाद्य संस्थानले यस वर्ष मोटा धान प्रतिक्वीन्टल दुई हजार तीन सय ३१ रुपियाँ र मध्यम धान प्रतिक्वीन्टल दुई हजार चार सय ६० रुपियाँमा खरिद गरिरहेको छ । 
संस्थानले यो मूल्यमा धान खरिद गर्ने कार्य सुरु गरेपछि व्यापारीले बढाएर प्रतिक्वीन्टल दुई हजार साढे तीन सय रुपियाँमा मोटा धान खरिद गरिरहेका छन् । संस्थानले सरकारी मूल्यमा धान खरिद गर्न थालेपछि उत्पादनकर्ता किसानले राम्रो मूल्य पाएको प्रमुख भण्डारीले दावी गरे । 
‘हाम्रो उद्देश्य पनि त्यही हो, कि उत्पादनकर्ताले राम्रो मूल्य पाओस’, उनले अगाडि थपे–‘हामी कहाँ बढी धान नआए पनि किसानले राम्रो मूल्यमा व्यापारीलाई धान बिक्री गर्न पाएका छन् ।’
संस्थानले यस वर्ष पाँच हजार मेट्रिक टन धान खरिद गर्ने कोटा रहेको छ । तर, सुस्त गतिमा धान खरिद भएमा निर्धारित कोटा अनुसार खरिद गर्न गाह्रो हुने जनाइएको छ । यस वर्ष गेंटाको मोहनपुर, टीकापुर, जोशीपुर, भजनी र सत्तीमा काँटा राखेर संस्थानले धान खरिद गरिरहेको छ । केहि दिनभित्रै मुनुवामा पनि एउटा काँटा राख्ने जनाइएको छ । 
किसानले दसैं लगत्तै धान बिक्री गर्न सुरु गरे पनि खाद्य संस्थानले मोहनपुरमा मङ्सिर ९ गतेबाट र टीकापुर क्षेत्रमा १० गतेबाट काँटा लगाएर धान खरिदको कार्य थालेको थियो । धान खरिदको निर्णय भने मङ्सिर ७ गते गरिएको थियो । 
एक हप्ता ढिलो गरी धान खरिद गर्नु र व्यापारीले मूल्य वृद्धि गरेका कारण यसवर्ष अलि कम धान आइरहेको प्रमुख भण्डारीले दावी गरे । ‘हामीले अपेक्षा गरे अनुरुप धान नआउनुमा खरिद गर्न अलिकति ढिलो हुनु पनि हो’, उनले भने–‘र, व्यापारीले हाम्रो भन्दा बढी मूल्यमा धान खरिद गरिरहेका छन् । किसानले जहाँ राम्रो मूल्य पाउँछ, बेच्ने त्यँही हो ।’
मङ्सिर १७ गतेसम्म करिब छ हजार क्वीन्टल जति धान खरिद गरेको संस्थानले जनाएको छ । तर, यसवर्ष झन्डै ९० हजार क्वीन्टल धान खरिद गर्ने संस्थानको लक्ष्य छ । पुस महिनामा पनि किसानले धान बिक्री गर्ने गरेकाले सकेसम्म लक्ष्य अनुसार धान खरिदको प्रयास गरिने प्रमुख भण्डारीले बताए । ‘हाम्रो प्रयास लक्ष्य अनुसार नै धान खरिद गर्ने रहन्छ’, उनले भने ।  
नेपाल खाद्य संस्थाले यो सिजनमा धान खरिद गरेर बर्खा याम लगायत आवश्यक परेको बेला सुदूरपश्चिमको पहाडी सात वटा जिल्लामा खाद्यान्न आपूर्ति गर्ने गरेको छ ।