Close This

औषधि खान मान्दैनन् डोटीका एचआईभी संक्रमितहरु

बिहीबार मङ्सिर २०, २०७५/ Thursday 12-06-18
Paschim Today

डोटी, २० मंसिर । 
डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी संक्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन् । तर विगत केही महिना देखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी आफूलाई बिराम निको भइसकेकोले अब सधैं औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिकिर गर्छिन् । 
एआरटी सेवन गर्न छोडेपछि उनलाई अन्य रोगहरुको संक्रमण गर्न थालेको छ । धनसरा जस्तै अन्य संक्रमितहरुले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन् । ‘स्वास्थ्य संस्थाबाट औषधि लगेर जान्छन् तर घरमा लगेर थन्काईदिन्छन्’ संक्रमित कमला मल्ल भन्छिन् ‘एक महिलाले २४ महिनासम्मको औषधि घरमै थन्काएको पाइयो ।’ औषधि सेवन नगरेकै कारण ति महिलाको छिट्टै मृत्यु भएको कमलाको दावी छ । 
२०६२ सालमा पहिलो पटक आफू एचआईभी संक्रमित भएको भन्दै खुलेकी कमलाले भनिन् ‘कयौं संक्रमितहरुको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ । त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।’ 
पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डाक्टर गिरीश अवस्थी बताउँछन् । ‘लगातार औषधि खाएपछि कमजोर भईन्छ भन्ने मानसिकता रहेको पाइयो’ डा अवस्थीले भने–‘लगातार औषधिको सेवन गर्न झन्झट मान्ने रहेछन् ।’ जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर भुषण मिश्रले संक्रमितहरुलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बिचमै सेवन गर्न छोड्ने बताए ।
‘लगातार औषधि साईड ईफेक्ट हुन्छ भन्ने बुझाई रहेको छ’ डाक्टर मिश्र भन्छन्–‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।’ डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ जना सम्पर्कबिहिन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले  जानकारी दिए । 
एआरटी सेवन गरिरहेका कुल सात सय ६४ संक्रमितमध्ये एक सय ५१ को मृत्यु भइसकेको समेत रेग्मीले बतए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर रिफर गरिएको छ ।