Close This

यसरी हुँदैछ धनगढी प्रिमियर लिगको तयारी

शनिबार मङ्सिर २२, २०७५/ Saturday 12-08-18
Paschim Today

धनगढी, २२ मंसिर । धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि मैदान निर्माणको कार्य सुरु भएको छ । 
माघ १९ देखि फागुन चार गतेसम्म हुने प्रतियोगिताको लागि अढाई महिना अगाडिदेखि नै मैदान निर्माणको कार्य थालिएको हो । यसअघि, डीपीएलको दुई संस्करण धनगढीस्थित प्रहरी मैदानमा भए पनि यस वर्ष निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना हुँदैछ । फाप्ला मैदानमा अहिले पिच निर्माणको कार्य धमाधम भइरहेको छ । 
यसवर्ष पिच तथा मैदान निर्माणको लागि टीयु क्रिकेट मैदानका क्युरेटर विशन मण्डल सहित भारतको अनुभवी क्युरेटरहरु खटेका छन् । प्रतियोगिता सुरु हुनुभन्दा १०÷१५ दिन अगाडि नै मैदान तयार गर्ने गरी काम भइरहेको क्युरेटर मण्डलले बताए । ‘पिचबाहेक आउट फिल्डको सबै कम प्रतियोगिता भन्दा करिब आधा महिना अगावै सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने । 
पिच निर्माणमा जाली सामुदायिक वनमा रहेको माटो प्रयोग गरिदैंछ । उक्त माटो निकै राम्रो रहेको क्युरेटरले बताएका छन् । दुई प्रकारको माटो मिसाएर पिच निर्माण भइरहेको छ । यहाँको स्थानीयस्तरमा पाउने माटो पिचका लागि उत्तम रहेको भारतीय क्युरेटर शेखले बताए ।  
‘पिचको लागि माटो एकदमै राम्रो छ’, उनले भने–‘दुई प्रकारको माटो मिश्रित गरेर बनाइएको पिच सुकेपछि धेरै साह्रो हुनेछ ।’ 
इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) को अवधारणा अनुसार पिच र मैदान निर्माणको काम भइरहेको छ । १०÷१० फिटको दूरीमा पाँच विकेट हुनेछ । यसअघि, यहाँ भएको खेलमा दुई विकेटमात्रै बनाइएको थियो । मैदानको दूरी ६५ यार्डको रहने जनाइएको छ । ‘हामीले आइसीसीको मापदण्ड अनुसार नै पिच बनाइरहेका छौं’ भारतीय क्युरेटर शेखले भने । 
प्रतियोगिताको लागि पिच र मैदान बनाउने कार्यमा २५ लाखसम्म रुपिया खर्च हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ । यसैगरी, करिब पाँच हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माणमा १० लाखसम्म रुपिया खर्च हुने जनाइएको छ । प्रतियोगिताको जम्मा लागत करिब पाँच करोड रहने आयोजकको दावी छ । 
गतवर्ष डीपीएलको दोस्रो संस्करणको फाइनलमा साढे छ हजारभन्दा बढी दर्शक मैदानमा उत्रेका थिए । कतिपयले मैदानभित्र प्रवेश गर्न नपाएपछि नाराबाजी गरेका थिए । धनगढीमा क्रिकेटको क्रेज बढ्दो रहेको र गतवर्ष देखिएको दर्शकको चापलाई मध्यनजर गरेर व्यवस्थापनको कार्य गरिरहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ । 
‘गतवर्ष फाइनलमा छ हजारभन्दा बढी दर्शक भित्रिएका थिए’, एकेडेमीका अध्यक्ष सुवाश शाहीले भने–‘यसवर्ष दर्शकको चापलाई सहज रुपमा व्यवस्थापन गर्ने गरी तयारी गरिरहेका छौं ।’ 
यसवर्षको डीपीएलमा राम्रा–राम्रा विदेशी खेलाडीहरुलाई भित्र्याउने तयारी भइरहेको छ । यसका साथै, छिमेकी राष्ट्र भारतको छिमेकी जिल्ला खिरीबाट दर्शक पनि । भारतीय दर्शक भित्र्याउनका लागि त्यहाँ गएर प्रचार प्रसार गर्ने आयोजकले जानकारी दिएको छ । ‘गतवर्ष प्रचार प्रसार नगर्दा पनि थुप्रै भारतीय दर्शक आएर खेल हेरेका थिए’, अध्यक्ष शाहीले भने–‘यसवर्ष उता गएर प्रचार प्रसार गर्ने योजना बनाएका छौ । किनभने, भारतीय खेलाडीहरु पनि यहाँ खेल्न आउँदैछन् ।’ साथै, यहाँका विद्यार्थीहरुलाई बढीभन्दा बढी दर्शकको रुपमा भित्र्याउने लक्ष्य लिइएको छ । 
डीपीएल क्रिकेट प्रतियोगितामा यसवर्ष पनि छ टिमको सहभागिता हुनेछ । डिसेम्बर अन्तिममा खेलाडीको ‘अक्सन’ हुँदैछ । लिग चरणको खेल हेर्नका लागि दर्शकका लागि ५०, एक सय रुपियाँको गरी दुई प्रकारको टिकट रहने जनाइएको छ । धनगढीको विभिन्न ठाउँमा स्टल राखेर टिकट बिक्री गर्ने जनाइएको छ । यसैगरी, अनलाइनमार्फत पनि टिकट खरिद गर्न सक्ने व्यवस्था गरिदैंछ । प्रतियोगितामा मैदान, खेलाडीको गुणस्तर र दर्शकको मनोरञ्जनलाई मुख्य प्राथमिकता दिने जनाइएको छ । 
डीपीएल क्रिकेट प्रतियोगिता ‘ड्रिम फाप्ला’ को अभियान रहेको आयोजकले जनाएको छ । ‘चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय क्रिकेट मैदान यहाँ बनोस भनेर हामीले यो प्रतियोगिता आयोजना गर्दै आएका हौं’, एकेडेमी अध्यक्ष शाहीले भने–‘तीन वर्षभित्रै यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको खेल देख्न पाइयोस भन्ने हाम्रो ध्येय छ ।’ 
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच करोड र धनगढी उपमहानगरपालिकाले एक करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले रङ्गशालाको डीपीयार गर्ने तयारी गरिरहेको जनाइएको छ । फाप्लालाई पब्लिक प्राइभेट पार्टनरशीप (पीपीपी) मोडलबाट निर्माण गर्नेमा सरोकारवाला पक्ष सकारात्मक देखिएका छन् । यसका लागि प्रदेश सरकारले नीति पास गरेमा निजी लगानीकर्ताहरु पनि लगानी गर्नका लागि इच्छुक रहेको धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ । धनगढी उपमहानगरपाालिकाले दुई वर्ष अगाडि यो धनगढीलाई क्रिकेटको शहर घोषणा गरेको थियो ।