मानसिक रोगीको उपचार नहुँदा झनै समस्या

शनिबार मङ्सिर २२, २०७५/ Saturday 12-08-18
Paschim Today

धनगढी, २२ मंसिर । मानसिक समस्या भएका व्यक्तिको समयमा उपचार नहुँदा समस्या झनै बढ्ने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । 
    मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले शुक्रबार धनगढीमा आयोजना गरेको स्थानीय तहका प्रमुखसंगको समन्वय एवम् मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धी अभिमूखिकरण कार्यक्रममा यस्तो बताइएको हो । ‘त्यसैले महिनामा एक चोटी भए पनि मानसिक रोग विशेषज्ञ बोलाएर चेकजाँच गराउन आवश्यक हुन्छ’, केन्द्रका बाल मनोविमर्शकर्ता मधु विलास खनालले भने–‘किनभने, विरामीको उपचार भएन भने रोग झनै बढ्ने गर्दछ ।’ उनले अभिभावक मनोशिक्षालाई पनि पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । 
    ‘यहाँको स्थानीय सरकारले मानसिक तथा मनोसामाजिक स्वास्थ्य शिक्षालाई प्राथमिकता दिनु पर्दछ’, खनालले भने । 
    सीएमसी नेपालले मानसिक तथा मनोसामाजिक समस्या न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले कैलालीको जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका, भजनी र गोदावरी नगरपालिकामा काम गरिरहेको छ । संस्थाले कैलालीको १३ वटै स्थानीय तहमा काम गर्न सके अझ राम्रो हुने गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवाले बताए । उनले गौरीगंगा नगरपालिकाले गर्भमा रहेका बच्चाको बौद्धिक विकासका लागि गर्भवती महिलाहरुलाई एक किलो घ्यू उपहार दिने गरेका्े जनाए । 
    ‘यसैगरी, १००० दिनका महिलालाई बोलाएर बेला–बेलामा जानकारी पनि लिने गरेका छौं ।’, उनले भने । 
    कैलालीको विभिन्न विद्यालयहरुमा छात्राहरुमा मानसिक समस्या बढी देखिने गरेको जनाइएको छ । तर, नियमित समस्या भन्दै त्यसलाई बेवास्ता गर्ने परिपाटी पनि रहेको सीएमसी नेपालका टंक तिमिल्सिनाले बताए । ‘यस्ता समस्या व्यवस्थापनका लागि शिक्षकहरुलाई सामान्य जानकारीमात्रै दिन सकियो भने पनि त्यसले धेरै सहज हुनेछ’, उनले भने–‘कमसेकम एक जनासम्म मनोविमर्शकर्ता राख्न आवश्यक देखिएको छ ।’
    कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका उपसंयोजक सुन्दरीदेवी चौधरी, चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगर, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी, सीएमसीका मनोविमर्शकर्ता अनत चौधरी लगायतको सहभागिता रहेको थियो ।