Close This

पाहुना स्वागत गर्न आतुर छन् पटेलावासी थारु

आइतबार मङ्सिर २३, २०७५/ Sunday 12-09-18
Paschim Today

धनगढी, २३ मंसिर ।
थारु समुदायको पहिचान र संस्कृति झल्किने । पुराना गरगहना, हस्तकला र पहिरन । यीसंगै खानपान, रहनसहन लगायतका बारेमा अब एउटै थलोमा जानकारी लिन पाइनेछ । 
    मुलुकको पश्चिमी क्षेत्रमा बसोबास गर्ने थारु समुदायको बारेमा एकै ठाउँबाट जानकारी पाउन सकिने व्यवस्था पटेला गाउँमा हुन लागेको हो । यहाँ निर्माणको क्रममा रहेको थारु सङ्ग्रहालयमा थारु समुदायको मौलिक संस्कृति, संस्कार, भेषभूषा लगायतको बारेमा जानकारी प्राप्त हुनेछ । यसका साथै थारु समुदायले हातले बनाउने तथा प्रयोग गर्ने हस्तकलाका सामग्रीहरुको अवलोकन पनि गर्न सकिने व्यवस्था सङ्ग्रहालयमा हुँदैछ । 
    थारु समुदायको सिङ्गो जीवनशैली दर्शाउने र पर्यटक भित्र्याउने उद्देश्यले थारु सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । धनगढी उपमहानगरपालिका–७ पटेलामा थारु सङ्ग्रहालय निर्माणको कार्य अन्तिम चरणमा पुग्दै गर्दा पटेलावासी थारु समुदाय पाहुना स्वागत गर्नका लागि आतुर भएका छन् । थारु सङ्ग्रहालयको निर्माण कार्य अन्तिमचरणमा पुगेसंगै उनीहरु पाहुनाको सेवा, सत्कारका लागि आन्तरिक तयारीमा पनि जुटेका छन् । 
    ‘थारु समुदायको सिङ्गो जीवनशैली, चालचलन कस्तो छ, भनेर बुझ्नका लागि पाहुनाले सबै कुरा सङ्ग्रहालयमै हेर्न पाउनेछन्’, स्थानीय कालुसिंह चौधरीले भने–‘थारु समुदायलाई विभिन्न क्षेत्रमा परिचित गराउनका लागि यहाँ सङ्ग्रहालय बन्न थालेपछि गर्व महसुस भइरहेको छ ।’
    सङ्ग्रहालयमा थारु समुदायको पहिचान र महत्व झल्काउने हस्तकलाका सामग्रीहरु भौका, टिक्ठी, ढकिया, डेलुवा, कन्डिया, डोक्नी, हेल्का, डिलिया, बेंर्री, पिर्का, डेहरी, छट्री, कुठ्ली, चुल्हा, चुल्ही लगायतको राखिनेछ । यस्तै, पहिरन र गरहनामा लेहेङ्गा, चोलिया, सोनक नथिया, चाँदीक् सुतिया, बिजाइँथ, बाँका, कन्सेहरी लगायतको सामग्री अवलोकनका लागि रहने जनाइएको छ । 
    सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेसंगै विभिन्न मौलिक नाचगानको तयारी थालेको पटेला सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष चेतराम चौधरी बताउँछन् । ‘हामी आन्तरिक तयारीमा जुट्नुका साथै पाहुना स्वागत गर्न र आफ्नो मौलिक संस्कृति देखाउनका लागि आतुर भएका छौं’, उनले भने–‘यहाँ सखिया, झुमरा, बैठक्की, मघौटा लगायतको नाच देखाइनेछ ।’
    थारु समुदायको पुरानोदेखि हालसम्मको मौलिक संस्कृतिलाई जीवन्त राख्नको लागि थारु सङ्ग्रहालयले टेवा पु¥याउने स्थानीयले विश्वास व्यक्त गरेका छन् । यसका साथै, विपन्न परिवारको जिविकोपार्जनमा सहयोग समेत पुग्ने उनीहरुको विश्वास छ । 
    सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटकहरुको बस्न र खानका लागि पटेलामा थारु होमस्टे सञ्चालनको गृहकार्य गरिरहेको स्थानीय अन्तराम चौधरीले बताए । ‘यदि, होमस्टे सञ्चालन गर्न सकिएन भने थारु खानाको सम्पूर्ण परिकार पाउने र बास बस्न सकिने गरी होमस्टे जस्तै रेस्टुरेन्ट सञ्चालन हुन्छ’, उनले भने–‘धनगढी आउने पर्यटकहरु थारु सङ्ग्रहालय अवलोकनको लागि आएमा यहाँ आयआर्जनमा सहयोग पुग्नेछ ।’
    धनगढी उपमहानगरपालिकाको कार्यालयले जाखोर ताल, प्रसिद्ध बेहडाबाबा मन्दिर, भादा थारु होमस्टे र पटेला थारु सङ्ग्रहालयलाई पर्यटन गन्तव्यको रुपमा अगाडि बढाउने नीति अबलम्बन गरेको छ । यी ठाउँहरुसम्म घुम्नको लागि पर्यटन रुट बनाउने धनगढी उपमहानगरपालिकाको तयारी छ । पटेला थारु सङ्ग्रहालयले धनगढीमा पर्यटन विकासमा टेवा पु¥याउने सो कार्यालयको अपेक्षा छ । 
    थारु समुदायको कला, संस्कृतिलाई एकै थलोमा सङ्ग्रहित गर्ने लक्ष्यका साथ शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले थारु सङ्ग्रहालय निर्माण गर्न लागेको हो । भ्याट सहित दुई करोड २७ लाख १८ हजार रुपियाँ लागतमा उक्त सङ्ग्रहालय निर्माण हुँदैछ । 
    सङ्ग्रहालयको निर्माण कार्य लगभग ८० प्रतिशत पूरा भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीका इञ्जिनीयर रबिन बस्नेतले जानकारी दिए । ‘दुई तले सङ्ग्रहालयको अब माथिल्लो तलाको छतमात्रै बनाउन बाँकी छ’, उनले भने । 
    सङ्ग्रहालय निर्माणका लागि २०७४ असार २३ मा ठेक्का सम्झौता भएको थियो । आउँदो पुस २२ गतेसम्म निर्माण अवधि रहेको छ । यद्यपि, तोकिएको समयावधिमा निर्माणको सम्पूर्ण काम पूरा हुन नसक्ने भएकाले केहि समय म्याद थप हुन सक्ने इञ्जिनीयर बोहराले जनाए ।  
    शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाईले उक्त सङ्ग्रहालयको निर्माण गरी धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । धनगढी उपमहानगरपालिकाभित्रको पटेला गाउँमा थारु समुदायको बाहुल्यता छ । एक सय छ घरधुरी रहेकोमा एक सय एक परिवार थारु छन् ।