Close This

राजनीतिसंगै व्यावसायिक केरा खेतीमा आचार्य

सोमबार मङ्सिर २४, २०७५/ Monday 12-10-18
Paschim Today

धनगढी, २४ मंसिर । 

पढे लेखेका शिक्षित युवा । दिनहुँ विदेश पलायन भइरहेका छन् । कारण हो, योग्यतानुसार रोजगारी नपाउनु । तर, युवा जनशक्तिले आँटेमा स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेर देखाएका छन्, कैलालीका एक युवाले । 
    गौरीगङ्गा नगरपालिका–३ कुचैनीका ३५ वर्षीय लक्षिराम आचार्य । पेशाले उनी सक्रिय राजनीतिकर्मी हुन । राष्ट्रिय जनमोर्चा कैलालीको नेतृत्व सम्हाली रहेका आचार्यले राजनीतिसंगै व्यावसायिक केरा खेती गरेर युवा पुस्ताका लागि गतिलो उदाहरण बनेका हुन । उनले विगत छ वर्षदेखि केरा खेती गर्दै आएका छन् । 
    ‘युवा पुस्ता विदेशीनुमा खास गरी पैसा र आत्मबल गरी यी दुई फ्याक्टरले काम गरेको मैले पाएको छु’, आचार्यले भने–‘यदि, पैसा छैन, आत्मबल र इच्छाशक्ति मात्रै छ भने पनि युवाले आफ्नै भूमिमा धेरै चिज गर्न सक्छन् ।’ 
    गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित बडेहामा छ आचार्यको केरा खेती । उनले १२ बिघा जमिनमा व्यावसायिक केरा खेती गरिरहेका छन् । त्यो केरा बारीको आचार्य मालिक भए पनि एउटा श्रमिक जस्तै त्यसमा पसिना बगाउने गरेका छन् । बोट गोडमेल गर्नेदेखि केरा निकाल्ने काममा आफै खट्ने गरेका छन् । ‘केरा खेतीमा काम गर्नका लागि ७÷८ जना मजदुर पनि राखेको छु’, आचार्यले भने–‘तर, उनीहरुसंगै म पनि काममा खट्ने गरेको छु । हामीहरु काम गर्न थालेमा कसैले पनि यो मजदुर, त्यो मालिक भनेर छुट्टयाउन सक्दैन ।’
    सक्रिय राजनीतिकर्मी भए पनि जीवनस्तर उकास्नका लागि केरा खेतीमा अग्रसर भएको आचार्यको भनाइ छ । राजनीति समाज सेवा भएकाले पारिवारिक जिम्मेवारी थपिएपछि यो व्यवसायमा लागेको उनले बताए । ‘राजनीति निःस्वार्थ समाज सेवा हो, यसमा आर्थिक लाभ हुँदैन । बरु, कतिपय अवस्थामा आफै लगानी गर्नु पर्दछ’, आचार्यले अगाडि थपे–‘राजनीतिसंगै म जस्ता व्यक्तिले केहि गर्नु पर्दछ भन्ने मान्यताका साथ व्यावसायिक केरा खेतीमा हात हालेको हुँ ।’
    चार वर्षसम्म उनले २२ बिघा जमिनमा केरा खेती गर्नु भएको थियो । तर, माटोको कारण साथ मिलेन । १० बिघा घटाएर हाल १२ बिघामा झारेका छन् । १२ बिघामै गरिएको केरा खेती पनि आम्दानीको लागि पर्याप्त रहेको आचार्यले उल्लेख गरे ।  
    ‘२२ बिघामा केरा खेती गर्दा म आर्थिक नोक्सानमा थिएँ’, उनले भने–‘गेंटाको १० बिघा जग्गा छोडेपछि हाल फाइदा भएको छ । किनभने, मलाई गेंटामा प्रतिफल प्राप्त भएन ।’ आचार्यले एक वर्षमा ७०÷८० लाख रुपियाँ बराबरको केराको कारोबार गर्दै आएका छन् । मजदुरलाई पारिश्रमिक र लगानी कटाएर आफूलाई ८÷१० लाख रुपियाँ आम्दानी हुने गरेको उनले सुनाए । 
    ‘अहिले म धेरै फाइदामा पनि छैन र घाटामा पनि छैन’, आचार्यले भने–‘ठिकठिकै भइरहेको छ, सन्तुष्ट छु ।’ उनले केरा खेतीमा वार्षिक ५० लाख रुपियाँ लगानी हुने गरेको जनाए । आचार्यले उत्पादन गरेको केरा कैलालीकै अत्तरिया बजारको एक व्यवसायीले खरिद गर्दै आएका छन् । ति व्यापारीले सुर्खेत, दाङ सहित सुदूरपश्चिमको सम्पूर्ण जिल्लामा केरा पु¥याउने गरेका छन् । 
राजनीतिसंगै केरा खेतीमा सक्रियता बढाएका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । यसैगरी, कैलाली बहुमुखी क्याम्पसबाट नेपाली साहित्यमा स्नातक र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाबाट शिक्षामा स्नातक गरेका छन् । हाल एलएलबी अध्ययन गरिरहेका आचार्यले शिक्षित युवाले अध्ययनपछि विदेश ताक्नुभन्दा पनि आफ्नै मातृभूमिमा पसिना बगाउन आवश्यक रहेको जोड दिए ।  
‘मलाई पनि कुनै क्याम्पसको प्रमुख बन्नको लागि अफर नआएको हैन’, उनले भने–‘तर, पढे लेखेका व्यक्तिले पढाउनै पर्छ भन्ने हैन । कृषि क्षेत्रमा पनि धेरै चिज गर्न सकिन्छ ।’ उनले कृषि पेशा आफ्नो लागि खुला विश्वविद्यालय रहेको उल्लेख गर्दै भने–‘युवा पुस्ताले आँट गरेर कुनै न कुनै व्यवसाय गर्न जरुरी छ ।’
वामपन्थी राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्मेकाले आचार्यमा त्यसकै प्रभाव परेको थियो । उनको बुबा आराश्वर अहिले पनि नेकपामा आबद्ध छन् । तर, २०५४ सालमा आफूले एउटा पार्टी खोज्दै विद्यार्थी जीवनबाटै राष्ट्रिय जनमोर्चामा लागेको उनी बताउँछन् । हाल उक्त पार्टीको कैलाली जिल्ला अध्यक्ष र सुदूरपश्चिम प्रदेश कमिटीको सचिवको जिम्मेवारीमा छन् । 
राजनीति र कृषि पेशालाई संगसंगै अगाडि बढाए पनि एकले गर्दा अर्कोमा बाधा व्यवधान नभएको आचार्यको भनाइ छ । ‘मैले दुवैका लागि आफ्नो समय छुट्टयाएको छु’, उनले भने–‘कुनै समस्या छैन ।’ मुलुकमा भएको नियम, कानून कार्यान्वयन भएमा कृषि क्षेत्रबाट मान्छेको पलायन रोकिने उहाँको बुझाइ छ ।