पूर्वमन्त्री भट्टलाई कालो झण्डा देखाइयो

सोमबार मङ्सिर २४, २०७५/ Monday 12-10-18
Paschim Today

डोटी, २४ मंसिर । 

नेकपाका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टलाई डोटीमा कालो झण्डा देखाइएको छ । 
पर्याप्त सम्भावना, पर्याप्त पुर्वाधार, प्रदेशको केन्द्र विन्दु लगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हो । सहिद स्मृति आवाशीय विद्यालय दिपायल, राजपुरको कार्यक्रमका लागि आइतबार डोटी पुगेका पूर्व मन्त्री भट्टलाई नेवि संघ, नेपाल तरुण दल, तथा लेखक संघको संयुक्त टोलीले कालो झण्डा देखाएको हो ।
जिम्मेवार नेतृत्वले डोटीको विरुद्धमा गैर जिम्मेवार र तथ्यहीन अभिव्यक्ति दिदैं गोदावरीको जंगलमा राजधानी सारेको र प्रदेशको नाम सुदूरपश्चिम राखेको प्रति आपत्ति जनाउँदै कालो झण्डा देखाएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्री सदस्य विजय ओझाले बताए । उनले भने–‘डोटीबाट राजधानी र जनताका अधिकार खोस्नेहरुलाई कालो झण्डा देखाएका  हौ, अरुलाईपनि देखाईने छ ।’ डोटीको विरुद्धमा प्रदेशमा मत हाल्ने नेता, मुख दर्शक बनेर बस्ने डोटीबाट निर्वाचित सांसद लगायत सबैलाई कालो झण्डा देखाइने, टिन बजाएर आन्दोलन गर्ने जस्ता योजनाहरु बनाइएको नेपाल तरुण दलका डोटी नगर सभापती लालबहादुर कठायतले बताए । 
यसैबीच, दिपायलबाट राजपुरसम्म प्रदर्शनकारी चढेर आएको शैलेश्वरी यातायात व्यवसायी समितिको से १ ज ५३१ नम्बरको जीप प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी बोकेर ल्याएको आरोपमा प्रहरीले उक्त जीप नियन्त्रणमा लिएको बताइएको छ ।