Close This

स्वास्थ्यकर्मी साउद द्धारा भ्रमण भत्ताको रकमले वृद्धवृद्धाको उपचार 

मंगलबार मङ्सिर २५, २०७५/ Tuesday 12-11-18
Paschim Today

त्रिप्ती शाही, बैतडी , २५ मंसिर ।
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ मा रहेको चौखाम स्वास्थ्य चौकीका ईन्चार्ज हेमन्त सिह साउदले तालिमबाट आएको दैनिक भ्रमण भत्ताबाट वडामा रहेका दलित वृद्धवृद्धाहरुलाई निशुल्क औषधी वितरण गर्न सुरु गर्नुभएको छ ।

 

आफु कार्यरत संस्थाको वडामा रहेका ७० वर्षभन्दा माथीका वृद्धवृद्धाहरुलाई साउदले घरमै पुगी निशुल्क औषधी वितरण गर्नुका साथै स्वास्थ्य जाचँ पनि गर्नुभएको छ ।

पहिलो दिनमा तिनजना वृद्धाहरु सिता देवी चुनारा , देवा लुहार र सुना देवी लुहारको स्वास्थ्य जाचँ गरी औषधी वितरण गर्नुभएका स्वास्थ्य चौकी ईन्चार्ज साउदले वडामा रहेका अन्य ६ जना ७० वर्ष माथीका दलित वृद्धवृद्धाहरुको पनि स्वास्थ्य जाचँ गरी औषधी वितरण गर्ने बताउनुभएको छ ।

वडा कार्यालयको तथ्याङक अनुसार उक्त्त वडामा ७० वर्ष भन्दा माथीका ९ जना वृद्धवृद्धा रहेको पाईएको बताउदै उहाँले सबैको स्वास्थ्य उपचार गरी निशुल्क औषधी वितरण गर्ने बताउनुभयो ।  

उहाँले शक्त्ती दिने भिटामीन , दम , झाडापखाला , कम्मर दुख्ने , आखा रसाउने लगाएतका औषधीका साथै नुहाउने सावुन पनि वितरण गर्नुभएको छ ।

स्वास्थ्य जाचँको क्रममा वृद्धाहरुमा उच्च रक्त्तचाप संगै दम भेटिएको उहाँले बताउनुभयो । केहि दिन अघी आफुले सहभागीता जनाएको इम्पलान्टको तालिमबाट आएको दैनिक भ्रमण भत्ताबाट वडामा रहेका दलित वृद्धवृद्धाहरुलाई स्वास्थ्य उपचारका साथै निशुल्क औषधी विरण गरिरहेको साउदले बताउनुभएको छ ।

घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाचँ गरी निशुल्क औषधी वितरण गर्दा स्थानीयहरु खुसी भएका छन् ।