Close This

सुदूरपश्चिमको भुवाँ खेल डोटीबाट सुरु

बुधबार मङ्सिर २६, २०७५/ Wednesday 12-12-18
Paschim Today

डोटी, २६ मंसिर ।
सुदूरपश्चिम प्रदेशको डेउडा पछिको दोश्रो ठूलो खेल (नाच) भुवाँ नाच डोटीबाट सुरु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडान. १ तिखा गाउँबाट उक्त नाँच सुरु भएको हो । 
करिब ५ देखी ७ दिनसम्म भुवाँ खेल खेलिने सो वडाका वडाअध्यक्ष बहादुर सिंह खड्काले बताए । उनका अनुसार परापूर्व कालदेखी अर्थात डोटी राजाका पालादेखी उक्त भुवाँ खेल (नाच) खेल्न सुरु गरिएको हो ।  कम्तिमा पनि ५ किसिमका बाजाका तालमा ७ देखी ८ वटासम्म उक्त भुवा खेल (नाँच) खेल्ने गरिन्छ । परापूर्व कालका राजाका पालामा राजाका सैनिकले तालिम स्वरुप खेल्ने तथा युद्ध मैदानमा दुश्मनसंग कसरी लड्ने र विजयी हासिल गर्ने भन्ने कला उक्त नाँचमा देखाइने गरेको तिखा गाउँका स्थानीयबासी तथा काँग्रेस नेता विजय खड्काले बताए । 
‘पुरानो युद्ध कला र त्यसको जर्गेना गर्ने उद्देश्यले यो नाच खेलिन्छ’ उनले भने । ‘युद्धमा आफू कसरी बच्ने र दुश्मनलाई कसरी पराजित गर्ने भन्ने बारे सिकाईने भएकाले खेलको रौनक्ता नै अर्कै हुन्छ ।’
हात हातमा नाङ्गो तरवार बोकी खेलाडीहरुले पुरानो राजाको पालाको पोशाक लगाएर पक्तिबद्ध तरिकाले भुवाँ खेल (नाँच) खेल्ने गर्दछन् । विजया दशमीकोदिन सिलगढीको कालढुगां भन्ने ठाउँमा उराउ बाजा बजाएपछि यो खेलको सुरु हुने भएपनि यहाँका स्थानीयले मंसिरको तेश्रो सातामा मात्र आएर खेलको सुरुवात गर्ने गरेको अर्का स्थानीय बाजी खड्काले बताए । उनले भने–‘उराउ बाजा बजाएपछि खेल हुने बारे निश्चित हुन्छ तर स्थानीयबासीको फुर्सद अर्थात खेतीपातीको काम सकिएपछि मात्रै यो खेल सुरु हुन्छ ।’ 
पाँच दिनसम्म लगातार खेल्ने भुवाँ खेल डोटी लगायत यहाँका पहाडी जिल्ला बाजुरा, अछाममा समेत खेल्ने गरिन्छ । दिनमा नाङ्गो तरवारले भुवा खेल्ने तथा रातिको समयमा सुदूरपश्चिमेली डेउडा तथा परापूर्व कालका राजा रजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयबासीहरु बताउँछन् । पाँच दिनको अवधिमा डोटीको प्रशिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्णराणाकालिन दरबार डोटी गौडमा समेत यो खेल (नाच) देखाई छैटौ दिनमा कालढुगाँमा नै गएर खेलको बिर्सजन हुने गरेको दिपायलका स्थानीय गणेश भण्डारीले बताए । 
यो खेलमा सबै भन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो । जुन खेलमा दुई जना खेलाडीले हातमा नाङ्गो तरवार समाती नाच्दा नाच्दै एक अर्कालाई हिर्काउने र आफूलाई तरवारबाट बचाउन छेक्ने गर्दछन् । भुवाँ डेउडामा सबै खेलाडी सामेल हुने भएपनि ‘घाँ’ खेलमा भने सबैलाई समाबेश गरिदैन् । यो खेलमा चोट पटक लाग्न सक्ने भएकाले ‘घाँ’ खेल खेल्नमा पोख्त भएकाहरु लाई मात्रै खेलमा खेल्न दिने नियम रहेको छ ।