Close This

भजनीलाई मगर गोही संरक्षित क्षेत्र घोषणा

बुधबार मङ्सिर २६, २०७५/ Wednesday 12-12-18
Paschim Today

भजनी, २६ मंसिर । भजनी नगरपालिकाका स्थानीयले भजनीलाई मगर गोही संरक्षित क्षेत्र घोषणा गरेका छन् । वडा नम्बर २ र ६ का स्थानीयले काढा नदीको करिब ६÷७ किलोमिटर क्षेत्रलाई मगर गोही संरक्षित क्षेत्र घोषणा गरेका हुन । वडा नम्बर २ मा रहेको श्री वनदेवी वन उपभोक्ता समूहको नयाँ पदाधिकारीलाई स्वागत र पुरानो पदाधिकारीलाई विदाइ गर्नका लागि बुधबार आयोजित कार्यक्रममा भजनीलाई मगर गोही संरक्षित क्षेत्र घोषणा गरिएको हो । 
काढा नदीमा बाह्रै महिना मगर गोही देखा पर्दै आएकाले गोहीको संरक्षण गर्ने उद्देश्यले संरक्षित क्षेत्र घोषणा गरेको बताएका छन् । वन, वातावरण, चराचुरुङ्गी, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण तथा मगरको गोहीको महत्व बुझेर संरक्षण क्षेत्र घोषणा गरेको स्थानीयको भनाइ छ । 
    कार्यक्रममा प्रमुख अतिथि रहेका भजनी सामुदायिक वन समन्वय समितिका अध्यक्ष विजयराज श्रेष्ठले वन तथा वन्यजन्तु संरक्षण गर्नका लागि स्थानीयमा बढेको चेतनाप्रति खुशी व्यक्त गरे । स्थानीयमा संरक्षणप्रति आएको चेतनाकै कारण गोही संरक्षित क्षेत्र घोषणा भएको उनको भनाइ थियो । 
    श्रेष्ठले भविष्यमा मगर गोहीको संरक्षण गरेर गाउँघरमा पर्यटन प्रर्वद्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए । कार्यक्रममा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका पूर्व लेखा संयोजक एवम् संरक्षणकर्मी हिरुलाल डंगौराले जनस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले मगर गोही संरक्षित क्षेत्र घोषणा गरिएको बताए । 
    उनले चेतना अभिवृद्धि भएमात्रै वन तथा वन्यजन्तु लगायत गोही संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
    सामुदायिक वन समितिका अध्यक्ष अविजित चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वनदेवी वन उपभोक्ता समूहका पूर्व सल्लाहकार गंगाराम डंगौरा लगायतकाले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा सञ्चार माध्यममार्फत वन तथा वन्यजन्तु संरक्षणमा योगदान पु¥याएको कदर गर्दै पहुरा थारु दैनिकका समाचारदाता रामदहित र गोरखापत्र दैनिकका धनगढी समाचारदाता एवम् पश्चिम टुडेका समाचार संयोजक अविनाश चौधरीलाई प्रशंसापत्रले सम्मान गरिएको छ ।  वनदेवी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष लेखराम चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्थानीयवासी, बुद्धिजिवी, संरक्षणकर्मी लगायतको उपस्थिति रहेको थियो ।