Close This

कामका लागि भारततिर जानेको लर्को

बिहीबार मङ्सिर २७, २०७५/ Thursday 12-13-18
Paschim Today

डोटी, २७ मंसिर ।
गाउँघरमा काम नपाउने भएपछि डोटीका ग्रामिण क्षेत्रका अधिकांश युवाहरु अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् । 
गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु कामका लागि भारततिर लाग्न थालेको स्थानीयवासीहरु बताउँछन् । पारिवारिक भेटघाट तथा दसैं तिहार मनाउन भारतबाट रोजगारी गरेर आफनो गाउँ फर्केका जिल्लाका अधिकांश युवाहरु यतिबेला हरेक दिन दजर्नौको संख्यामा छिमेकी मुलुक भारत लगायत नेपालका विभिन्न ठाउँहरुमा रोजगारीका लागि जान थालेका हुन । 
युवाहरु रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले यहाँका गाउँ घरमा वृद्धवृद्धा र स साना केटाकेटी तथा महिलामात्रै रहेको केआइसिंह गाउँपालिका १ जमलकटियाका स्थानीय चेतराज भट्टले बताए । ‘गाउँमा रोजगारी नपाएपछि युवाहरु भारततिर गएका छन् गाउँमा केटाकेटी, महिला र बृद्धहरु मात्रै छन्’ उनले भने–‘गाउँ घर त प्राय युवाबिहीन र सुनसान हुदै छन्् ।’ 
कामका लागि छिमेकी मुलुक भारत जानेमा अधिकांस पढेलेखेका युवाहरु पनि रहेको स्थानीयवासीहरु बताउँछन् । सिंहदरबारको अधिकार स्थानीय सरकार अन्तर्गत् गाउँमा आएको नारा नारामै मात्र सीमित भएको आभास भएपछि घरपरिवार त्यागेर भारततिर जानुपर्ने बाध्यता भएको बोगटान गाउपालिका १ का स्थानीय मनीराम विकले बताए । उनले भने–‘गाउँ गाउँमा सिंहदरबार आएर के गर्नु हामीले काम पाएनौ । काम खोज्न भारत पस्दैछौ ।’ 
गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता भएको कामका लागि भारत जानेहरुको भनाइ छ । पछिल्लो समय डोटी बाट दिनहुँ दजर्नौको संख्यामा युवाहरु भारत पलायन हुन थालेपनि त्यसको रोकथाम तथा रोजगारीका लागि कसैले पनि पहल नगरेको स्थानीयको गुनासो छ । 
युवाहरु भारत पलायन भएपछि गाउँमा रहेका वृद्धवृद्धा र केटाकेटीहरुलाई स्याहार सुहार गर्ने मान्छेपनि नभएको बडिकेदार गाउँपालिका १ का स्थानीय बमबहादुर कलेलले बताए । ‘युवाहरु भारत पलाएन भए,गाउमा बुढापाकालाई केही भईहालेपनि अस्पताल सम्म पु¥याउने मान्छे छैनन् ।’ यहाँका स्थानीयहरु कामका लागि भारतको पञ्जाब, बरेली, सिम्ला, लुधियाना, हिमाञ्चल प्रदेश, मुम्बइ, कलकत्ता लगायतका ठाउँहरुमा जानेगरेको स्थानीयवासीहरु बताउँछन् ।