Close This

चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन

बिहीबार मङ्सिर २७, २०७५/ Thursday 12-13-18
Paschim Today

कन्चनपुर, २७ मंसिर । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ ।
सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ सेन्टर सञ्चालन गरिएको हो । सबै बर्थिङ सेन्टरमा प्रयोगशाला समेत स्थापना गरिएका छन् । 
बर्थिङ सेन्टरमा मासिकरुपमा २५ बढी महिलाले प्रसूति गराउँदै आएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तीर्थराज भट्टले भने, “नियमित गर्भ जाँच गराउने र प्रसूति हुन आउने महिलालाई प्रोत्साहन भत्ताको रकम दिन थालिएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या नगन्य रहेको छ ।” नियमित गर्भजाँच गराउनेलाई रु ८०० र बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई रु एक हजार प्रोत्साहन रकम प्रदान गरिँदै आएको छ ।
उनका अनुसार गर्भजाँच गराउन आउने महिलाको सङ्ख्या मात्रै दैनिक १० देखि १५ सम्म रहेको छ । गर्भवती भएकामध्ये बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाको सङ्ख्या ९५ प्रतिशत रहने गरेको छ । जटिल प्रकारको प्रसूतिका लागि बर्थिङ सेन्टरबाटै एम्बुलेन्सको व्यवस्था गरी सुविधायुक्त अस्पतालमा पठाउने गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । रासस