Close This

उपेक्षित हौसलपुर स्थानीय सरकारको प्राथमिकतामा

बिहीबार मङ्सिर २७, २०७५/ Thursday 12-13-18
Paschim Today

धनगढी, २७ मंसिर । 
सुगम जिल्ला कैलालीको दुर्गम ठाउँको रुपमा रहेको सीमावर्ती गाउँ हौसलपुर स्थानीय सरकारको प्राथमिकतामा परेको छ । 
    कैलारी गाउँपालिका–७ मा रहेको हौसलपुरलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा आफ्नो प्राथमिकतामा पारेको हो । सबैभन्दा तल्लो संवैधानिक निकायको रुपमा रहेको वडा नम्बर ७ को कार्यालयले चालु आर्थिक वर्षमा हौसलपुर गाउँमा ग्राभेलको लागि चार लाख रुपियाँ बजेट दिएको छ । उक्त गाउँमा पहिलो पटक ग्राभेल गर्ने उद्देश्यका साथ बजेट उपलब्ध गराएको वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले बताए । 
    गत आर्थिक वर्षमा उक्त गाउँलाई मोहना नदी तर्नका लागि एउटा डुङ्गा प्रदान गरिएको थियो । नेपाल–भारत सीमा नजिक रहेको हौसलपुर सदियोदेखि राज्यको आँखाबाट टाढा रहेको थियो । स्थानीय सरकार बनिसकेपछि उक्त गाउँको भौतिक, आर्थिक, सामाजिक विकासमा प्राथमिकता दिएको अध्यक्ष चौधरीले बताए । 
    ‘पछाडि परेका हौसलपुरवासीको सामाजिक विकासका लागि पनि विभिन्न कार्यक्रममा उनीहरुलाई प्राथमिकता दिएका छौं’, उनले भने । मोहना नदीपारि रहेको हौसलपुर गाउँवासी राज्यको सेवा, सुविधाबाट बञ्चित हुँदै आएका थिए । दुई वर्ष अगाडि कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सो गाउँमा पुगेपछि हौसलपुरवासीले पहिलो पटक जिल्ला प्रमुख देख्न पाएका थिए । 
    यसैगरी, कैलारी गाउँपालिका वडा नम्बर ७ को कार्यालयले चालु आर्थिक वर्षको योजनाहरु धमाधम कार्यान्वयनमा ल्याएको छ । केहि ठाउँमा ग्राभेल लगायतको योजना सम्पन्न भइसकेको अध्यक्ष चौधरीले जानकारी दिए । 
    चालु आर्थिक वर्षमा सो वडाले एक करोडभन्दा बढी रुपियाँको योजना सञ्चालन गर्दैछ । बसन्ता गणेश मन्दिर रोडमा दुई लाख रुपियाँ बराबरको ग्राभेल र तिघरी गाउँमा पनि ग्राभेलको काम सम्पन्न भएको जनाइएको छ । चालु आर्थिक वर्षमा सो वडाले ग्राभेल÷कल्भर्टका लागि ५० लाख रुपियाँ बजेट छुट्टयाएको थियो । 
    यसैगरी, रामपुरदेखि रतनपुरसम्म सडक कालोपत्रेका लागि ३० लाख, बसन्ता नर्सरीमा स्ल्याप कल्भर्ट निर्माणका लागि एक लाख, बड्का बसन्तामा कल्भर्ट निर्माणका लागि एक लाख ८५ हजार, एक वडा एक उत्पादन क्षेत्र अन्तर्गत बाख्रा र भैसी पालनका लागि तीन लाख, रतनपुरमा रहेको दूध संकलन केन्द्रका लागि एक लाख बजेट रहेको छ । यस्तै, स्वरोजगार कार्यक्रम अन्तर्गत ब्युटीपार्लर तालिमका लागि एक लाख, सिलाइ कटाइ तालिमका लागि दुई लाख, फर्निचर तालिमका लागि एक लाख, तिघरीमा च्याउ खेतीका लागि दुई लाख, जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि ५० हजार बजेट छुट्टयाइएको छ । 
    यस्तै, विपतपुर र मिलनपुर मुक्त कमैया बस्तीमा खानेपानीका लागि ५०÷५० हजार, लोटहुवा ताल मर्मतका लागि ५० हजार, भुईयाँफाँटा गाउँमा ग्राभेलका लागि १३ लाख बजेट रहेको ७ नम्बर वडाको कार्यालयले जानकारी दिएको छ ।