Close This

तीन दशक अगाडिको दरबन्दीमा चल्दै अञ्चल अस्पताल

बिहीबार मङ्सिर २७, २०७५/ Thursday 12-13-18
Paschim Today

धनगढी, २७ मंसिर ।
विरामीको चाप अनुसार दरबन्दी नथपिँदा सेती अञ्चल अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय बन्न सकेको छैन । 
    सीमित कर्मचारीले तीन गुणाभन्दा बढी काम गर्नु पर्दा समस्या हुन गएको सेती अञ्चल अस्पताल प्रशासनले दावी गरेको छ । ७८ वर्ष पुरानो सेती अञ्चल अस्पताल तीन दशक अगाडिकै दरबन्दी अनुसार चलिरहेको अस्पताल प्रशासनले जनाएको छ ।  
    ‘विरामीको चाप बढ्दै जानु तर, पुरानै दरबन्दीले गुजारा चलाउनु पर्दा सेवा कस्तो होला ?’, सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले भने–‘कर्मचारीहरु तीन गुणाभन्दा बढी काम गर्न बाध्य छन् ।’ 
    विक्रम सम्वत १९९७ मा बनेको सेती अञ्चल अस्पताल २०४० सालकै दरबन्दी अनुसार चलिरहेको छ । कर्मचारी दरबन्दी नथपिए पनि अस्पतालको क्षमता भने बढ्दै गएको छ । हाल दुई सय ४२ सैया पु¥याएर अस्पतालले सेवा दिइरहेको छ । नेपाल सरकारबाट ५० र अस्पताल विकास समितिबाट ७५ गरी एक सय २५ स्वीकृत सैøया रहेको छ । एक सय २५ सैयाका लागि पर्याप्त दरबन्दी नरहेको बेला दुई सय ४२ सैøयाको सेवा दिइरहेको मेडिकल सुपरिटेन्डेन्ट पाण्डेयको भनाइ छ । 
    ‘सरकारले अस्पतालको स्तरोन्नति गरेको भए केहि राहत हुने थियो’, उनले भने–‘सीमित जनशक्तिले पेलिएर काम गर्नु पर्दा सेवा सोंचे अनुरुप स्तरीय हुन नसकेको हो ।’ ७४ सैøयाको गाइने वार्ड दुई÷तीन जना नर्सलेमात्रै धान्ने गरेको पाण्डेयको भनाइ छ । 
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार जनरल वार्डमा छ सैøया बराबर एक नर्स रहन आवश्यक हुन्छ । सेती अञ्चल अस्पतालमा जम्मा ६३ जना नर्स कार्यरत छन् । अस्पतालमा काम गर्दा जहिल्यै कामको ‘ओभर लोड’ हुने गरेको गाइने वार्ड इन्चार्ज सुनिता खत्रीले बताइन् । 
    अस्पतालमा अझै पनि मुटु, न्यूरो लगायतका विशेषज्ञ चिकित्सक छैनन् । मेडिकल अधिकृत सहित ३६ जना चिकित्सकको भरमा सेती अञ्चल अस्पताल चलिरहेको छ । भौतिक पूर्वाधारको अवस्था पनि आवश्यकतानुरुप छैन । निर्माणाधीन एउटा भवन निर्माणको काम चाँडै सम्पन्न भएमा केहि सहज हुने अपेक्षा गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेयले बताए ।  
    प्रदेशभरीकै विरामीको उपचार गर्ने सेती अञ्चल अस्पतालमा पर्याप्त सरसफाइको अभाव, औषधि अभाव लगायतको समस्या रहेको छ । यसका साथै, विरामी र कुरुवामाथि अस्पताल कर्मचारीले नम्र व्यवहार नगर्ने गरेको गुनासो पनि बेला–बेलामा सतहमा आउने गरेको छ । 
    भाइबुहारीको प्रसूति गराउनका लागि सेती अञ्चल अस्पताल पुगेकी धनगढीकी अनिता भट्टले नर्सहरुले रुखो व्यवहार देखाउने गरेको गुनासो गरिन् । ‘विरामीलाई हेरदिनुहोस भन्दा पनि हेर्न मान्दैनन्’, उनले भनिन्–‘धेरै चोटी आग्रह गरेमा उल्टै हप्काउने गर्दछन् ।’ 
    कर्मचारीले विरामी र विरामीको कुरुवामाथि गर्ने व्यवहारमात्रै हैन अस्पतालको सरसफाइको अवस्था पनि कहाली लाग्दो छ । चर्पी, लेबर रुममा पर्याप्त सरसफाइ भएको देखिदैन । सरसफाइको दयनीय अवस्थाबारे गुनासो बढेपछि कर्मचारीलाई सरसफाइमा प्रोत्साहन गर्नका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले केहि दिन अगाडि अस्पतालको चर्पी र कोठा सरसफाइ गरेका थिए । 
    चर्पी र कोठा दिनको तीन पटकसम्म सरसफाइ हुँदै आएको गाइने वार्ड इञ्चार्ज खत्रीले बताइन् । ‘हामीले हाम्रोतर्फबाट सक्दो सरसफाइको प्रयास गरेकै छौं’, उनले भनिन्–‘यस विषयमा भिजिटरहरुले पनि सोंच दिनु पर्दछ । उहाँहरुले जथाभावी फोहोर गरि दिनु भएन । किनभने अस्पताल हामी सबैको साझा सम्पत्ति हो ।’
    यसैबीच, अस्पतालको सेवाप्रति गुनासो बढेपछि बुधबार राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त टोलीले अस्पतालमा आकस्मिक अनुगमन गरेको छ । टोलीले विरामी, कुरुवा, अस्पतालका कर्मचारी, अस्पताल प्रशासनसंग छलफल पनि गरेको थियो । 
    अनुगमनको क्रममा अस्पतालमा जति सुधार हुनु पर्ने त्यति नभएको देखिएको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका प्रमुख झङ्कर रावलले बताए । ‘यस्तो हुनुमा जनशक्ति अभाव, भौतिक पूर्वाधार लगायतका थुप्रै कारण छन्’, उनले भने–‘यो अस्पताललाई रिफरल अस्पतालको रुपमा विकास गर्न अस्पताल व्यवस्थापन समिति, प्रदेश सरकार, स्थानीय सरकार तदारुकताका साथ लाग्नु पर्दछ ।’ 
    यसैगरी, इन्सेकका प्रदेश संयोजक खडकराज जोशीले जनशक्ति र सेवा प्रवाह अपर्याप्त रहेको बताए । उनले गुणस्तरीय सेवाका लागि जनशक्ति व्यवस्थापन लगायतमा प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए । ‘यसका साथै नागरिक समाज, सञ्चार जगत लगायतले पनि यसका लागि पहल गर्न आवश्यक छ’, उनले भने ।