Close This

कक्षाकोठा नहुँदा विद्यार्थी चौरमा बसेर पढ्दै

सोमबार पौष ९, २०७५/ Monday 12-24-18
Paschim Today

बाजुरा, ९ पुष । 

कक्षाकोठा अभावमा बाजुराको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् ।
    बूढीगङ्गा नगरपालिका–१० मा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवनसँगै बस्ने बेञ्च डेस्कको पनि अभाव रहेको छ । पुसको चिसोमा पनि खुला चौरमा बसेर पढ्नुपर्ने बाध्यताका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चारवटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताए । 
    तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भगवती माविको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा रहेका त्रिवेणी नगरपालिका–३ पूर्वूताका ठेकेदार खडक भण्डारी हाल भारतमा गएर बसेका छन् ।
    ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको त्यहाँका स्थानीयवासी पारस रावलले बताए । कामदार देखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म भवन नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको थियो ।